लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा गत भदौ २४ गते भएको तोडफोड, आगजनी र डकैती प्रकरणबारे कम्पनीले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गरेको छ।
एनसेलले दिएको जानकारीअनुसार जेनजी आन्दोलनको नाममा अपराधी समूहले कार्यालयमा हमला गरी ठूलो भौतिक र आर्थिक क्षति पुर्याएको छ।
उजुरीमा संलग्न अपराधीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, डकैतीमा हराएका सामान फिर्ता दिलाउन र आगजनीबाट भएको क्षतिपूर्ति दिलाउन माग गरिएको छ।
घटनाको क्रममा सुरक्षाकर्मीलाई धम्की दिई कोठामा थुनी भवनमा तोडफोड र आगजनी गरिएको, ग्राहक सेवा केन्द्रदेखि लिएर कार्यालयका विभिन्न तलामा रहेका कागजात, कम्प्युटर, इलेक्ट्रोनिक उपकरण, फिटनेस सामग्री, गाडीहरू लगायतका बहुमूल्य सम्पत्ति नष्ट वा डकैती गरिएको उजुरीमा उल्लेख छ।
साथै कम्पनीका कर्मचारीका व्यक्तिगत सामान र गहना समेत लुटिएको दाबी गरिएको छ।
कम्पनीका आफ्नै तथा भाडामा प्रयोग भइरहेका महँगा सवारी साधनसमेत आगजनी गरी ध्वस्त बनाइएको र कर्मचारीका निजी गाडीहरूमा समेत तोडफोड र क्षति पुर्याएको एनसेलले जनाएको छ।
प्रहरीलाई कम्पनीले सम्पत्तिको क्षति विवरण र लुटिएका सामग्रीको सूची उपलब्ध गराएको छ।
साथै, घटनाको सम्पूर्ण दृश्य कैद भएका सिसिटिभी फुटेज अनुसन्धानलाई सहयोग पुर्याउन प्रहरीलाई हस्तान्तरण गरिएको छ।
एनसेलका अनुसार तोडफोड र डकैतीबाट भएको क्षतिको वास्तविक मूल्याङ्कन प्रक्रिया जारी छ र थप विवरण अनुसन्धानक्रममै उपलब्ध गराइनेछ।