भदौ २४ गतेको प्रदर्शन क्रममा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको लैनचौरस्थित मुख्यालयमा पनि तोडफोड, आगजनी र लुटपाट भएको छ।
कम्पनीमा भएको क्षतिको हिसाब त भइसकेको छैन।
तर कम्पनीमा तोडफोड, आगजनी तथा डकैती कसरी भयो भन्नेबारे हामीले केही स्थानीय र एनसेलका प्रतिनिधिहरूसँग कुरा गरेका छौं।
जेन–जी समूहको आन्दोलन सोमबारदेखि नै सुरू भएको थियो। त्यस दिन देशका केही भागमा कर्फ्यु लाग्ने भनिएपछि एनसेलले आफ्ना कर्मचारीहरूलाई चाँडै घर फर्किन खबर गर्यो।
त्यसैले भदौ २४ गते मंगलबार कार्यालयमा सुरक्षा गार्ड र केही प्रशासनका कर्मचारी गरी १०–१५ जना मात्र थिए।
दिउँसो २ बजेपछि प्रदर्शनकारीको आवरणमा केही व्यक्ति आए र एनसेल कार्यालयमा आक्रमण गरे।
'आक्रमणकारीहरूले पहिले कम्पनीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूलाई डर देखाए। धम्क्याए। अनि उनीहरूलाई एउटा कोठामा थुनेर भवनमा तोडफोड र आगजनी सुरू गरे,' एनसेलका एक उच्च अधिकारीले भने।
उनीहरूले सुरूमा भवनको अगाडिपट्टिको सिसा फुटाए र भित्र प्रवेश गरे। भुइँ तलामा रहेको ग्राहक सेवा केन्द्र र रिसेप्सन क्षेत्रमा तोडफोड गरी आगो लगाए। त्यसपछि उनीहरू हरेक तलामा पसेर कार्यालयका सम्पूर्ण सामानहरू तोडफोड गर्न थाले।
कम्पनीका महत्त्वपूर्ण कागजातहरू, जस्तै प्रमाणपत्र, अनुमतिपत्र र जग्गाधनी प्रमाणपुर्जा जलाएर नष्ट गरियो। साथै, कार्यालयमा रहेका कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन र कफी मेसिनजस्ता विद्युतीय सामग्रीहरू लुटियो। कर्मचारीहरूका सामान पनि लगे।
'आक्रमणकारीहरूले कर्मचारीका लकर फोडेर ल्यापटप, गहना र अन्य व्यक्तिगत सामान डकैती गरेर लगे। कर्मचारीहरू आफ्ना सामान गुमेकोमा निकै दुःखी छन्,' ती अधिकारीले भने।
दिउँसो तोडफोड र आगजनी गरेर गएका आक्रमणकारीहरू साँझ फेरि आए। यसपटक उनीहरू झन् धेरै र आक्रामक रूपमा आएको स्थानीयहरूले बताएका छन्।
एनसेलका अनुसार उनीहरूले भूमिगत पार्किङबाट कम्पनीका र भाडामा लिएका गाडीहरूको साँचो नियन्त्रणमा लिए। गाडीहरू बाहिर ल्याएर जलाए। कम्पनीका कर्मचारीका गाडीहरू समेत तोडफोड गरी आगो लगाए।
एक स्थानीयका अनुसार साँझ ५ बजेपछि आएका आक्रमणकारीहरूले राति १० बजेसम्म धेरै विध्वंस मच्चाए। यस क्रममा उनीहरू चोरी र डकैतीमा पनि संलग्न भए।
यो घटनापछि एनसेलले सोमबार प्रहरीमा सिसिटिभी भिडिओसहित उजुरी दिएको छ।
कम्पनीले दोषीहरूको पहिचान गरी कारबाही गर्न र लुटिएका सामान फिर्ता गराउनुका साथै सम्पत्तिको क्षतिपूर्ति भराइदिन प्रहरीसँग अनुरोध गरेको छ।
हाल कम्पनीले आफ्ना कर्मचारीहरूलाई घरबाटै काम गर्न निर्देशन दिएको छ।
'लगानीकर्ताहरूको तर्फबाट उच्च व्यवस्थापनले सबै कर्मचारीको नाममा एक इमेल पठाएको छ। त्यसमा कम्पनी फेरि उठ्ने र नेपालको डिजिटल विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न प्रोत्साहित गरिएको छ,' एनसेलका ती अधिकारीले भनेक।
एनसेलले दिने सबै किसिमका सेवा अहिले निरन्तर छन्। सेवामा कुनै कमी हुन नदिने प्रतिज्ञा गरिएको उनले बताए।
एनसेलले विगत २० वर्षदेखि नेपालमा निजी दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ। यो कम्पनी सबैभन्दा बढी कर तिर्ने दूरसञ्चार सेवा प्रदायकमा पर्दै आएको छ।
यो घटनाले निजी क्षेत्रको दूरसञ्चार संस्थामाथि ठूलो भौतिक र आर्थिक क्षति पुर्याएको छ। यसको यकिन मूल्यांकनको काम भइरहेको एनसेलले जनाएको छ।