राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद डा. तोसिमा कार्कीले पार्टी पार्टी पुनर्गठनको चार बुँदे प्रस्ताव गरेकी छन्। जेन–जी आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै उनले युवाहरूको भावनालाई पार्टीले आत्मसात गर्नुपर्ने बताएकी हुन्।
‘लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनको जगमा उभिएको नैतिक र जनदत्तरदायी सरकार निर्माण गर्ने लक्षका साथ स्थापित हाम्रो पार्टी राष्ट्रीय स्वतन्त्र पार्टीलाई आम जनताले निकै ठूलो आशा र भरोसापूर्वक हेरिरहेका छन्। तर पछिल्लो समय विभिन्न कारणले हाम्रो पार्टीप्रति केही प्रश्नहरू उठ्न थालेको स्थितिलाई हामीले आत्मसात गर्नैपर्छ। अझै यो वर्तमान संवेदनशील परिस्थितिमा हामीले खेल्ने भूमिकाले नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्याण्डेटसहित अघि बढ्न मुख्य शक्तिको रुपमा पार्टीलाई विकास गर्नुपर्नेछ। यसका लागि हामीले यथाशीघ्र केही महत्त्वपूर्ण निर्णय र कार्यहरू गर्नुपर्नेछ। यसैमा आफ्ना केही धारणा निम्नानुसार पेस गरेकी छु,’ उनले प्रस्ताव अघि सार्दै भनेकी छन्।
पहिलो बुँदामा उनले जेन–जी विद्रोहपछिको अवस्था, यसले सिर्जना गरेको पीडा र भविष्यलाई सम्बोधन गर्नुपर्ने बताएकी हुन्।
‘सुशासनको पक्षमा र भ्रष्टाचारको विरूद्धमा उभिएको जेन जी क्रान्तीमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७२ जनाको निधन, १ हजार भन्दा बढी घाइते र देशभरि विभिन्न तत्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण देशलाई भएको अकल्पनीय क्षतिका कारण नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको छ। यस्तो अवस्थामा हामीले जेनजी मात्रै होइन जेन अल्फा समेतका भावनालाई समावेश गर्ने गरी राष्ट्रका सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ,’ उनको प्रस्ताव छ।
दोस्रो बुँदामा उनले जेन जीको आह्वानमा भएको सो तेस्रो जनआन्दोलनपछिको अवस्थामा नेपाल राष्ट्र समग्रमा पहिलेकै अवस्थामा रहन नसक्ने र रहनु पनि नहुने उनले धारणा राखेकी छन्।
‘किनभने सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन उक्त आन्दोलनले माग गरेको छ। यसै क्रममा राजनीतिक पार्टीहरूले समेत पुरानो अवस्थालाई चिरेर महत्त्वपूर्ण सुधारात्मक परिवर्तन गर्ने सोचलाई आत्मसात् गर्नै पर्छ,’ उनले भनेकी छन्।
तेस्रो प्रस्तावमा उनले देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता रहेको उल्लेख गरेकी छन्। यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रूपान्तरण आवश्यक हुने उनको बुझाइ देखिन्छ।
‘पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरवलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो,’ उनले भनेकी छन्।
चौथोमा उनले पार्टीको अर्थपूर्ण रुपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गर्न माग गरेकी छन्।
‘साथै, यसै क्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरुसँग समेत वार्ता गरी जेन जी आन्दोलनको आकांक्षा बमोजिमको परिवर्तन संस्थागत गर्न सक्ने मध्यममार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुन पनि हार्दिक अनुरोध गर्दछु,’ उनको आग्रह छ।
