सिंहदरबारभित्र बन्दै गरेको संघीय संसद भवनको निर्माण आउँदो पुसभित्रै सम्पन्न गरिने भएको छ।
अहिलेसम्म ८६ प्रतिशत सकिएको नयाँ संसद भवनका बाँकी काम पुसभित्रै सक्ने गरी तीव्रता दिन सरकारले निर्देशन दिएको छ।
आगामी फागुन २१ हुने घोषणा गरिएको आमनिर्वाचनपछि बन्ने प्रतिनिधिसभा बैठकको सुरूआत नयाँ भवनबाट गराउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार यस्तो निर्देशन दिएका हुन्।
उनले सहरी विकास सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग शुक्रबार छलफल गरेका थिए।
संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संघीय संसदका रूपमा प्रयोग गर्दै आएको थियो। पछिल्लो आन्दोलनमा त्यो भवन तोडफोड र आगजनीको सिकार भएपछि अहिले संसद भवन छैन।
'जेन-जी आन्दोलन क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुगेपछि अहिले संसद भवन छैन। त्यसैले संसद भवन निर्माण संवेदनशील आयोजना हो। यो या त्यो बाहनामा ढिला गर्नुहुँदैन। यसमा सबै पक्ष गम्भीर भएर पूर्ण रूपमा परिचालित भई समय अगावै सक्नुपर्छ,' मन्त्री घिसिङले भने।
सिंहदरबारको पुतली बगैंचा रहेको ठाउँमा १७३ रोपनी क्षेत्रमा संघीय संसद भवन निर्माण भइरहेको छ। यसको लागत ६ अर्ब रूपैयाँभन्दा बढी छ।
संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण भइरहेको छ।
भवन निर्माणको ठेक्का तुँदी सेक ज्वाइन्ट भेन्चरले पाएको थियो। तीन वर्षभित्र निर्माण सक्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो।
पाँचौंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ। यसको भौतिक प्रगति ८६ प्रतिशत रहेको आयोजनाले जनाएको छ।


