गत साताको तोडफोडका घटनाबाट एनसेलका काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ।
यस घटनाले भौतिक संरचनासँगै कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा गम्भीर चुनौती उत्पन्न भएको एनसेलले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
तर यी चुनौतीबीच पनि कम्पनीले दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराएको थियो।
एनसेलले विगत २० वर्षदेखि नेपाली जनताका लागि सेवा पुर्याउँदै आएको र ग्राहकप्रतिको समर्पण कहिल्यै कमजोर नहुने स्पष्ट पारेको छ।
नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय सुरु भएको सन्दर्भमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई कम्पनीले बधाई दिएको छ।
देशका युवाहरुको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै एनसेलले यस परिवर्तनले शान्ति, एकता र समृद्धि ल्याउने विश्वास व्यक्त गरेको छ।
एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति र डिजिटल नेपाल निर्माणमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ दृढ संकल्पसहित सेवा गर्ने प्रतिज्ञा गरेको छ।
कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेको छ।