संसारको दोस्रो धनाड्य व्यक्ति इलन मस्क नयाँ च्याटबट सार्वजनिक गर्ने तयारीमा छन्।
मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याट जिपिटीको प्रतिद्वन्दीको रूपमा ट्रुथ जिपिटी' सार्वजनिक गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय समाचार वेबसाइटहरूमा उल्लेख छ।
मस्कले नयाँ च्याटबट ट्रुथ जिपिटीले च्याट जिपिटीको तुलनामा झनै बढी तथ्यपरक उत्तर दिने दाबी गरेका छन्।
सन् २०२२ को नोभेम्बरमा सार्वजनिक भएको च्याट जिपिटीको लोकप्रियता र प्रयोग बढ्दो छ। यसको प्रतिद्वन्दीको रूपमा गुगलसहित विभिन्न कम्पनीले आफ्नै च्याटबट सार्वजनिक गरिरहेका छन्।
यस्तैमा मस्कले मानवता जोगाउनकै लागि भएपनि फरक खालको एआई आवश्यक रहेको बताउँदै त्यसैको लागि ट्रुथ जिपिटी सार्वजनिक गर्ने बताएका हुन्।
उनका अनुसार ट्रुथ जिपिटी सुरक्षित हुनेछ। यसले ब्रह्माण्ड बुझ्नेछ। ब्रह्माण्डलाई बुझ्ने एआईले मानवको अस्तित्वलाई धरापमा पार्ने छैन।
केही समय अघिमात्रै मस्कले ओपन एआईलाई टक्कर दिन आफ्नै एआई कम्पनी 'एक्स डट एआई' दर्ता गराएका छन्। यसका लागि मस्कले विशेष अनुसन्धानकर्ता र इन्जिनियरहरूको टोली तयार पारिरहेको बताइएको छ। यसबाहेक थुप्रै लगानीकर्ताहरूसँग छलफल गरिरहेका छन्।