नेपाली बजारमा विभिन्न ब्रान्डका स्मार्टफोन छन्। यसमध्ये विश्व स्मार्टफोन बजारमा अग्रपंक्तिमा रहेको सामसङ नेपालमा पनि सबभन्दा रूचाइएको ब्रान्ड हो।
सामसङ नेपालले बारफोनदेखि फ्ल्यागसिप फोनका साथै एयरबड्स, स्मार्टवाच पनि ल्याएको छ। कम्पनीले वर्षमा दुई पटक फ्ल्यागसिप फोन सार्वजनिक गर्दै आएको छ–एस र फोल्ड सिरिज।
गत वर्ष चैत अन्तिममा सामसङले एस सिरिज अन्तर्गत एस–२१ का फोनहरू बजारमा ल्याएको थियो। त्यसलाई अपग्रेड गर्दै कम्पनीले हालै मात्र एस–२२ का फोनहरू (ग्यालेक्सी एस–२२ अल्ट्रा, ग्यालेक्सी एस–२२ प्लस र ग्यालेक्सी एस–२२) बजारमा ल्याएको छ।
यो फोनबाट गरिएको अपेक्षा, यसका विशेषता, सामसङको नेपाली बजार हिस्सा, चुनौती, आगामी योजना लगायत सन्दर्भमा सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितसँग गरिएको कुराकानीको सम्पादित अंशः
कम्पनीले भर्खरै एस–२२ सिरिजका फोन बजारमा ल्याएको छ। यसका विशेषता के–के हुन्?
एस सिरिज कम्पनीका प्रिमियम फोन हुन्। हामी नयाँ इनोभेसन एस सिरिजबाट सुरू गर्छौं। हाम्रा ग्राहक नयाँ एस सिरिज कहिले आउँछ? कस्तो फिचर आउँछ भनेर उत्सुक हुन्छन्।
यो फोनमा पहिलो पटक एसपेन इम्बेडेड छ। प्रोफेसनल क्यामरा छ। यसमा नाइटोग्राफी फिचर अर्थात् रातको समयमा स्पष्ट फोटो तथा भिडिओ खिच्न सकिन्छ। यसमा भएको अप्टिकल इमेज फिचरले फोटो तथा भिडिओ खिच्दा केही हल्लियो भने पनि तस्वीर स्पष्ट निकाल्छ।
यो पावरफुल डिभाइस हो। यसमा चार नानो मिटरको प्रोसेसर छ। यसको गोरिल्ला ग्लास भिक्टर प्लसले फोन सामान्य टुटफुट हुनबाट जोगाउँछ। यो फोन डेढ मिटर गहिराइ पानीमा आधा घण्टासम्म डुब्दा पनि पानी छिर्दैन।
हामीले अहिले यो फोनमा प्रयोग भएको एन्ड्रोइड सफ्टवेयर चार वर्षसम्म अपग्रेड गर्छौं। पहिला थोरै समय मात्र अपग्रेड हुन्थ्यो।
ग्राहकले ग्यालेक्सी एस २२ अल्ट्रा फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र बर्गन्डी रङमा पाउँछन्। त्यस्तै, ग्यालेक्सी एस २२ र एस २२ फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र पिंक गोल्डमा उपलब्ध छ।
एस–२१ भन्दा यसमा के फरक छ?
अघिल्लो सिरिजभन्दा यसमा धेरै फिचर अपग्रेड गरिएको छ। एस–२१ मा इम्बेडेड एसपेन थिएन। अलग्गै कभरमा राखिएको थियो। फोनमा एसपेनले कोर्दा आकृति देखिन पहिले ९ मिलिसेकेन्ड लाग्थ्यो भने, अहिले २.८ मिलिसेकेन्ड लाग्छ।
क्यामरा फिचरलाई पनि हामीले अपग्रेड गरेका छौं। एस–२१ सिरिजमा फोनको अगाडि र पछाडि गोरिल्ला ग्लास भिक्टर थियो एस–२२ सिरिजमा गोरिल्ला ग्लास भिक्टर प्लस छ। जसले फोन सामान्य टुटफुट हुनबाट अझै जोगाँउछ।
यो फोन कस्ता ग्राहकलाई लक्षित गरिएको हो?
जो व्यक्ति आफ्नो प्रोडक्टिभिटी बढाउन चाहन्छन्, जसलाई राम्रो क्यामरा चाहिएको छ, जो ग्राहक सामाजिक सञ्जालमा बढी सक्रिय छन्, जो नयाँ प्रविधिलाई आत्मसात गरेर अघि बढ्न चाहन्छन् त्यस्ता ग्राहकलाई यो फोन विशेष लक्षित छ।
सुरूआती ग्राहकलाई सुविधा के छन्?
ग्राहकले फोन खरिद गर्न प्रिअर्डर गर्न सक्छन्। जसमा ग्यालेक्सी एस २२ अल्ट्राको हरेक प्रिअर्डरमा ग्यालेक्सी बडस्–२ सित्तैमा पाइन्छ। ग्यालेक्सी वाच–४ क्लासिक ४६ एमएम २७ हजार रूपैयाँमा पाइन्छ। त्यस्तै ४४० एमएम ग्यालेक्सी वाच १३ हजार रूपैयाँमा पाइन्छ।
ग्यालेक्सी एस–२२ र ग्यालेक्सी एस–२२ प्लस को प्रि अर्डरमा ग्राहकले ग्यालेक्सी बडस् २३ हजार रूपैयाँमा पाउने छन्। त्यस्तै, ग्यालेक्सी वाच–४ क्लासिक ४६ एमएम, तीस हजार रूपैयाँमा पाइन्छ। ग्यालेक्सी वाच ४४० एमएम १६ हजार रूपैयाँमा पाइने छ।
साथै ग्राहकलाई १५ हजार रूपैयाँसम्मको ग्यालेक्सी गिफ्टको पनि व्यवस्था गरेका छौं। त्यसका लागि विभिन्न रेस्टुरेन्टहरूसँग सहकार्य गरिएको छ।
यो फोन किस्ताबन्दीमा कसरी किन्न पाइन्छ? कति महँगो छ?
महँगो फोन सबैले एकैपटक नगदमा किन्न सक्दैनन्। त्यसैलाई मध्यनजर गरेर हामीले बैंकसँग सम्झौता गरेका छौं। पहिले हामीसँग ५/६ वटा बैंक मात्र थिए, अहिले १३ वटासँग सम्झौता गरेका छौं। बैंकको आ–आफ्नै स्किम छ। ग्राहकले किस्ताबन्दी सुविधा डेढ वर्षसम्म पाउँछन्, त्यसको कुनै ब्याज तिर्नु पर्दैन।
किस्तामा फोन किन्न ग्राहक आकर्षक देखिँदैनन्, आकर्षित गराउने केही योजना छन्?
हाम्रोमा फोन किस्तामा लिने चलन बसिसकेको छैन। किस्तामा आकर्षित गर्न अहिले हामीले शून्य ब्याजदर दिएका छौं। कोही ग्राहक यो फोन किन्न चाहन्छन् तर इएमआइका कारण लिन सकिरहेका छैनन् भने अब ब्याज तिर्नु पर्दैन।
ग्राहकले बजारमा जुन मूल्यमा फोन पाउँछन्, त्यही मूल्यमा किस्तामा पाइन्छ। बैंकिङ प्रक्रिया लामो हुने भएर ग्राहकले किस्तामा नलिएका हुन् कि भनेर हामीले फाइनान्ससँग पनि सम्झौता गरेका छौं। छिटो छरितो रूपमा त्यहाँबाट पनि फोन लिन सकिन्छ। त्यसमा पनि कुनै ब्याज तिर्नु पर्दैन।
यी फोनबाट कम्पनीको बजार अपेक्षा के छ?
पक्कै पनि कम्पनीले आफ्नो उत्पादनबाट राम्रो अपेक्षा राखेको हुन्छ। यसबाट त हामीले सोचेभन्दा पनि राम्रो पाएका छौं। प्रिबुकिङ गर्ने ग्राहक नै अत्यधिक छन्। हामीले यति धेरै सोचेका थिएनौं। हामीले प्रिअर्डरको जति योजना बनाएका थियौं, त्योभन्दा बढी आएको छ। यी फोनमा धेरै ग्राहकको चासो पाएको देखेका छौं।
सामसङका ग्राहकले कम्पनीबाट पाउने सुविधा के हुन्?
हामीले एक वर्षभित्र टुटफुट भए बीमा व्यवस्था गरेका छौं। त्योबाहेक सामानमा एक वर्षको वारेन्टी छ। बिक्रीपछिको सेवा हेर्ने हो भने वारेन्टीबाहेक सुलभ मूल्यमा सर्भिसिङ दिइरहेका छौं। हाम्रो काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर १९ वटा सर्भिस सेन्टर छन्। ग्राहक आफूलाई पायक पर्ने ठाउँमा जान सक्छन्।
सामसङको बजार हिस्सा कति छ?
नेपालमा कुन फोन बिक्री भयो भनेर अध्ययन गर्ने कुनै निकाय छैन। तर हाम्रो आफ्नै अध्ययनले अन्य ब्रान्डको तुलनामा हामी निकै अगाडि छौं भन्ने देखाएको छ।
यो हिस्सा बढाउने आगामी लक्ष्य के हुन्?
सबभन्दा ठूलो कुरा इनोभेसन नै हो। अनुसन्धानमा खर्च गर्ने कम्पनीमध्ये सामसङ पनि एक हो। हामी नयाँ नयाँ प्रविधियुक्त सामान ल्याइरहेका छौं। सामसङले जति पनि उपकरण सार्वजनिक गर्ने योजना बनाएको छ, ती सबै नेपाली बजारमा पनि ल्याउने योजना छ।
हामी बाहिर पाइने मूल्य र यहाँ पाइने मूल्यमा धेरै अन्तर नहोस् भन्नेमा केन्द्रित छौं। त्यसैले ग्राहकले विदेशबाट फोन मगाइरहनु पर्ने आवश्यक छैन। सामसङका फोन बाहिर पाइने मूल्यमा यहीँ पाइन्छ। बिक्री पछिको सेवामा पनि हामी केन्द्रित छौं।
ग्यालेक्सी एस–२२ अल्ट्राका फिचरः
– ६.८ इञ्च एमोलेड डिस्प्ले।
– कर्निङ गोरिल्ला ग्लास भिक्टर प्लस।
– १०८ मेगापिक्सल वाइड, १० मेगापिक्सल पेरिस्कोप टेलिफोटो, १० मेगापिक्सल टेलिफोटो र १२ मेगापिक्सल अल्ट्रा वाइड क्यामरा, ४० मेगापिक्सल सेल्फी क्यामरा।
– पाँच हजार एमएएच ब्याट्री, ४५ वाट फास्ट चार्जिङ सुविधा।
– १२ जिबी र्याम र ५१२ जिबी स्टोरेजको मूल्य एक लाख ६९ हजार ९ सय ९९ रूपैयाँ।
– १२ जिबी र्याम र २५६ जिबी स्टोरेजको मूल्य एक लाख ५९ हजार ९ सय ९९ रूपैयाँ।
ग्यालेक्सी एस–२२ प्लसका फिचरः
– ६.६ इञ्च एमोलेड डिस्प्ले।
– कर्निङ गोरिल्ला ग्लास भिक्टर प्लस।
– ५० मेगापिक्सल वाइड, १० मेगापिक्सल टेलिफोटो, १२ मेगापिक्सल अल्ट्रा वाइड क्यामरा, १० मेगापिक्सल सेल्फी क्यामरा।
– ४५ एमएएच ब्याट्री, ४५ वाट फास्ट चार्जिङ सुविधा।
– ८ जिबी र्याम र २५६ जिबी स्टोरेजको मूल्य एक लाख २९ हजार ९ सय ९९ रूपैयाँ।
ग्यालेक्सी एस–२२ का फिचरः
– ६.१ इञ्च एमोलेड डिस्प्ले।
– कर्निङ गोरिल्ला ग्लास भिक्टर प्लस।
– ५० मेगापिक्सल वाइड, १० मेगापिक्सल टेलिफोटो, १२ मेगापिक्सल अल्ट्रा वाइड र १० मेगापिक्सल सेल्फी क्यामरा।
– ३७ एमएएच ब्याट्री, २५ वाट फास्ट चार्जिङ सुविधा।
– ८ जिबी र्याम र २५६ जिबी स्टोरेजको मूल्य एक लाख १२ हजार ९ सय ९९ रूपैयाँ।