आजदेखि औपचारिकरुपमै नेपाल– चीन इन्टरनेट संजालमा जोडिएका छन्। संचारमन्त्री मोहनबहादुर बस्नेतले कनेक्सनको प्राविधिक उद्घाटन गरेका हुन्।
टेलिकमले चिनियाँ कम्पनी चाइना टेलिकम ग्लोबलबाट आजदेखि ब्यान्डवीथ कनेक्सन ल्याएको छ।
चाइना टेलिकमका प्रतिनिधिहरु, नेपालका लागि चिनियाँ राजदुत र उच्चपदस्थ अधिकारीहरुको उपस्थितिमा प्राविधिक उद्घाटन गरिएको थियो।
यो सँगै २५ वर्षदेखिको ब्यान्डवीथ कनेक्सनमा भारतीय एकाधिकार समाप्त भएको छ।
टेलिकमले तत्कालको लागि १ दशमलब ५ जिबिपिएस ब्यान्डवीथ ल्याएको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन्।
चिनियाँ स्थलमार्ग हुँदै हङकङमा रहेको सर्भरबाट वितरण भएको व्यान्डवीथ नेपाल टेलिकमको रसुवागढी केरुङ फाइबर मार्गबाट आउने छ।
हाल भारतका कम्पनीमार्फत भैरहवा, विरगंज र विराटनगरबाटमात्र ब्यान्डवीथ ल्याइरहेको थियो। टेलिकमले अहिले भारतबाट करिब २५ जिबिपिएस ब्यान्डवीथ ल्याएको छ।
तत्कालको लागि सुरुवात भएको र यो दुई देशवीचको कनेक्सनमा कोशेढुंगा सावित भएको सरोकारावालाहरुले बताएका छन्।
लामो समयदेखिको प्रयास सफल भएको र यसले दीर्घकालिन सम्बन्ध, व्यापार, प्रविधिको आदानप्रदानमा उल्लेख्य भुमिका खेल्ने संचारमन्त्री बस्नेतको भनाइ छ।
नेपाल टेलिकमले लामो समयदेखि एउटामात्र बजारमा रहेको निर्भरता तोडेको र कनेक्सनका क्षेत्रमा धेरै सहकार्यका ढोका खुल्ला भएको प्रबन्ध निर्देशक राजभण्डारीले बताइन्।
‘हामीले एउटा दीर्घकालीन साझेदारी सुरुवात गरेका छौं’ राजभण्डारीले भनिन्,‘विभिन्न कठिनाइका बाबजुद पनि यो कोशेढुंगा सिर्जना गर्न हामी सफल भएका छौं।’
चीनले प्राय सबै छिमेकी मुलुकमात्र नभएर विश्वभर क्रसबोर्डर कनेक्सन विस्तार गरेको र नेपालसँग पनि जोडिनु आफैंमा ऐतिहासिक क्षण भएको चाइना टेलिकमका प्रमुख प्रतिनिधि वाङयोङलिनको भनाइ छ।
‘यसबाट नेपाल विश्व संजालमा जोडिनसक्छ’ उनले भने,‘हामी विश्वका विभिन्न महादेश, देशसँग जोडिएका छौं, योसँगै नेपाल पनि प्रत्यक्षरुपमा जोडिएका छ।’
भारतीयको तुलनामा ५० प्रतिशत तीव्रचीनबाट इन्टरनेट ल्याएपनि ब्यान्डवीथको मूल्य भने भारतबाट ल्याए सरह नै भएको अधिकारीहरुले बताएका छन्। भारतबाट उसले हाल एक महिनाको प्रतिएमबिपिएस ३५ अमेरिकी डलर शूल्क तिरिरहेको छ।
तर चिनियाँ इन्टरनेट भारतीय कनेक्सनभन्दा तीव्र हुने प्राविधिकहरुले बताएका छन्।
भारतीय कनेक्सनको तुलनामा चिनियाँ कनेक्सन झन्डै ५० प्रतिशत छिटो हुने बताउँछन् नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर दिनेशचन्द्र पन्थी।
हाल भारतबाट आउने कनेक्सनको दुरी र चिनियाँ बाटो भएर नेपालसम्म आउने दुरीमा ४५ किलोमिटर फरक छ। कनेक्सनमा जति दुरी कम हुन्छ त्यति नै छिटो फाइल पठाउँदा, अपलोड गर्दा छिटो हुने पन्थीको भनाइ छ।
तर तत्काल उपभोक्ताले भने कुनै फरक महसुस भने गर्न पाउनेछैनन्। किनकी हाल भारतबाटै उसले ब्यानडवीथ धेरै ल्याइरहेको छ जसकारण उपभोक्तासम्म चिनियाँ इन्टरनेट महशुस पुग्न केही समय लाग्न सक्छ।
तर चीनसँग जोडिनुमात्र होइन, भारतको एकाधिकार पनि तोडिनुले एकातिर बजार विस्तार भएको छ भने अर्कोतिर यसले कनेक्सन एक्स्पोजर बढाएको छ।
चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिनसक्छ जसले गर्दा भविष्यमा टेलिकमले व्यान्डवीथ खरिद टेन्डर गर्दा धेरै कम्पनी सहभागी हुनसक्छन्।
यस्तै टेलिकमसँग बिकल्प थपिएको छ भने नेपालका अन्य सेवाप्रदायकले पनि यही पूर्वाधारबाट चीनबाट कनेक्सन ल्याउन सक्छन्।
फाइबर क्षमता असिमित हुने भएकोले टेलिकमको फाइबर भाडामा लिएर अन्य सेवाप्रदायकले पनि चीनबाट सिधै ल्याउन सक्छन्।
सम्झौताको १५ वर्षपछि आयो चिनियाँ इन्टरनेटनेपालको उत्तरको छिमेकी चीनबाट इन्टरनेट कनेक्सन ल्याउन पहल भने आजभन्दा १५ वर्ष अगाडि नै भएको थियो।
सन् २००३ मा तत्कालीन सरकारले अरनिको राजमार्ग हुँदै कनेक्सन ल्याउन सम्झौता गरेको थियो। सोहीअनुसार १५५ किलोमिटर फाइबर पनि सन् २००८ मै सम्पन्न भएको थियो। तर त्यहाँबाट कहिलै कनेक्सन भने आएन।
त्यसपछि सन् २०११ मा फेरि नेपाल टेलिकम र तत्कालिन चाइना टेलिकम्युनिकेशन कर्पोरेशनबीच कनेक्सन ल्याउने सैद्धान्तिक सहमति पनि भएको थियो । सन् २०१३ मा सम्झौता भएर काम भएपनि भूकम्पले क्षति पुर्याएपछि बैकल्पिक मार्गको रुपमा केरुङ रसुवागढी अगाडिमा पूर्वाधार निर्माण थालनी गरिएको थियो।
तस्वीरहरु:नारायण महर्जन/सेताेपाटी