परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधिको क्षेत्रमा रोजगारीका लागि गएका नेपालीहरू ठगिएको भन्दै सचेत हुन आग्रह गरेको छ।
शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको र तलब/सुविधा पनि नदिइएको जानकारी प्राप्त भएको बताएको छ।
'यस्तो प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानुनी रूपमा थाइल्यान्डबाट स्थल मार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२-१३ घन्टासम्म अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाउने गरेको बुझिन आएको छ,' विज्ञप्तिमा भनिएको छ, 'यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावासहरू बैंकक तथा यांगुनमा सम्पर्क गर्ने गर्नुभएको छ।'
बैंकक र यांगुनका नेपाली दूतावासहरूले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरूको उद्धार गरिसकेको र थप नेपालीको उद्धारको प्रयास भइरहेको परराष्ट्रले उल्लेख गरेको छ।
'म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएsfले उद्धार गर्नसमेत चुनौतीपूर्ण रहँदै आएको छ,' विज्ञप्तिमा भनिएको छ।
नक्कली रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकोले यस्ता झुटा आश्वासनमा नपर्न परराष्ट्रले आग्रह गरेको छ।
'विदेशमा रोजगारी गर्न जाँदा पर्यटक/भिजिट भिसामा नगई प्रचलित नेपाल कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान अनुरोध गरिन्छ। यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्नुहुन र आफैंले समेत सम्बन्धित कम्पनी/रोजगारदाताको बारेमा वेबसाइट/टेलिफोन/इमेल मार्फत सम्पर्क गरी जाँचबुझ गर्नहुन अनुरोध गरिन्छ,' विज्ञप्तिमा भनिएको छ।