बर्खा लाग्न लाग्यो, यसपालि मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउँछ कि आउँदैन भन्ने चासो उपत्यकावासीहरूलाई छ।
मेलम्चीमा बाढी आउन थालेपछि विगतका वर्षहरूमा पानी ल्याउन बन्द गरिन्थ्यो।
मेलम्चीबाट दैनिक रूपमा ल्याइने १७ करोड लिटर पानी नआउँदा उपत्यकाको माग धान्न मुस्किल हुने गर्छ।
यसपालि पनि बर्खामा मेलम्ची नदीको पानी काठमाडौं उपत्यकामा आउँदैन तर विकल्प खोजिएको छ।
मेलम्ची खानेपानी आयोजनाले आगामी मनसुन याममा रिबर्मा खोलाको पानी ल्याउन लागेको हो।
बर्खाभर काठमाडौंमा पानीको अभाव नहोस् भनेर सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची आयोजनाकै बाँध क्षेत्रनजिकै पश्चिमतर्फबाट बग्ने रिबर्मा खोलाको पानी ल्याउन लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले सेतोपाटीलाई जानकारी दिए।
२०७८ असार १, साउन १६ र १७ गते आएको गेग्रानसहितको बाढीले मेलम्चीको बाँध क्षेत्र बगरमा परिणत भएको थियो। त्यसपछि काठमाडौंमा अस्थायी रूपमा २६ किलोमिटर सुरूङमार्फत् पानी ल्याइने गरिएको छ। आउँदो बर्खामा पनि सुरूङको ढोका बन्द गर्नुपर्ने भएकाले विकल्पका रूपमा रिबर्मा खोलाको पानी ल्याउन लागिएको पन्तको भनाइ छ।
‘खोला इनटेक (बाँध क्षेत्र) नजिकै छ। त्यहाँको पानी सीधै सुरूङमा हाल्न मिल्छ। मेलम्ची खोलातर्फको ढोका बन्द गरेपछि पनि त्यहाँबाट पानी हाल्न मिल्छ। त्यसका लागि पानी थिग्र्याउने संरचना बनाइरहेका छौं,’ पन्तले भने।
हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले पनि बर्खामा रिबर्मा खोलाको पानी लैजानु उपयुक्त हुने भनेर आफूले विगतदेखि सुझाव दिँदै आएको भए पनि यसपटकबाट कार्यान्वयन हुन लागेको जानकारी दिए।
‘रिबर्मा बाँधक्षेत्रको नजिकै छ, पाइपबाट पानी सुरूङमा हाल्न मिल्छ। पाँच सय मिटरको दूरीमा अर्को खोला पनि छ, त्यसको पनि पानी लैजान सकिन्छ। यसपटक मेलम्चीले रिबर्माको पानी लैजाने तयारी गरेको छ,’ उनले भने।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा मेलम्ची खानेपानी आयोजना २०५५/०५६ देखि चलिरहेको छ। खानेपानी परियोजनाअन्तर्गत दुई चरणमा काम भइरहेको छ।
पहिलो चरणमा पहुँच मार्ग, सुरूङ, बाँध क्षेत्र लगायत काम भइरहेको छ। झन्डै एक अर्ब रूपैयाँ लागतमा निर्माण भएको बाँध क्षेत्र चार वर्षअघिको बाढीले तहसनहस बनाएको थियो।
पुरिएको बाँध क्षेत्रमाथि पहिरो खसेकाले एसियाली विकास बैंकले सर्कथलीमा सार्न सुझाव दिएको छ।
मेलम्ची खानेपानी आयोजनाले बाँध सार्न झन्डै चार अर्ब रूपैयाँ लाग्ने आयोजनाले बताएको छ।
एक किलोमिटर सुरूङ, पहुँच मार्ग र बाँध क्षेत्र निर्माणका लागि उक्त रकम प्रस्ताव गरिएको हो।
मेलम्ची खानेपानीको सुरूङ, पहुँचमार्ग निर्माण र मुआब्जा वितरणमा अहिलेसम्म ३१ अर्ब ३४ करोड ९ लाख रूपैयाँ खर्च भएको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ।
मेलम्चीको पानी काठमाडौं पथान्तरण गर्ने यो परियोजनाको लागत ३५ अर्ब ५४ करोड रूपैयाँ अनुमान गरिएकामा पहिलो चरणअन्तर्गत सञ्चालित क्रियाकलापहरूमा यो वर्षसम्मको भौतिक प्रगति ९९ प्रतिशत रहेको महालेखाले जनाएको छ।
आर्थिक वर्ष २०६५-६६ देखि मेलम्ची खानेपानी उपआयोजना–२ सञ्चालित छ। यसले काठमाडौं उपत्यकामा खानेपानीको सञ्जाल विस्तार गर्ने काम गरिरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले यो काम गरिरहेको हो।
यस उपआयोजनामा अहिलेसम्म ३७ अर्ब २८ करोड ५४ लाख रूपैयाँ खर्च भएको छ।
यस उपआयोजनामार्फत् थोक वितरण प्रणाली निर्माणतर्फ १०२.५६ किलोमिटर काम सक्नुपर्नेमा अहिलेसम्म ७९.२२ किलोमिटर अर्थात् ७७.२४ प्रतिशत काम सकिएको छ।
त्यस्तै वितरण सञ्जाल सुधारतर्फ १ हजार ७८१ किलोमिटरमध्ये १ हजार ६०५ किलोमिटर अर्थात् ९०.१२ किलोमिटर काम भएको महालेखाले जनाएको छ।
यो पनि:
मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म ६८ अर्ब ६२ करोड खर्च, बाँध क्षेत्र सारिने
मेलम्ची बाढी प्रभावित र सरकारबीच भयो सहमति