ग्लोबल नेपाली
गुल्मीका कमल पन्थी नेपालको स्वास्थ्य सेवामा कार्यरत थिए। सरकारी जागिर गरेको चार वर्ष भएको थियो। निजी कम्प्युटर इन्स्टिच्युट पनि चलाएका थिए।
सन् २००४ मा उनी बेल्जियम गए।
खासमा उनी केही समय घुम्ने उद्देश्यले मात्र गएका थिए। सँगै पढेका एक जना साथी उतै थिए। उनीसँग भेट र गफ भएपछि कमललाई नेपाल फर्किन मन लागेन।
उनी सरकारी जागिर र आफ्नो व्यवसाय चटक्क छाडेर बेल्जियममै बसे।
'नेपालको जागिर र व्यवसायले खासै केही राम्रो होला जस्तो लागेन। बेल्जियममा ठिकै होला जस्तो लागेर उतै बसेँ,' उनले भने, 'काम गर्दागर्दै २० वर्ष बितेको पत्तै भएन।'
उनले सुरूमा पाकिस्तानी र भारतीय व्यवसायीका पसलमा काम गरे। अलिकपछि रेस्टुरेन्टमा काम गरे।
रेस्टुरेन्टमा काम गर्दागर्दै सेफ भए। बचत रकम लगानी गरेर सन् २०११ देखि खाद्य स्टोर सुरू गरे। त्यसको चार वर्षपछि, सन् २०१५ मा एउटा रेस्टुरेन्ट किने।
यसरी उनी युरोपको विकसित मुलुकमा व्यवसायी भए।
सुरूमा उनले फ्रेन्च रेस्टुरेन्ट चलाएका थिए। तीन वर्षपछि, सन् २०१८ मा इटालियन रेस्टुरेन्ट सुरू गरे।
नेपालमा छँदा कमलले दालभात पनि पकाएका थिएनन् तर बेल्जियममा सेफ भए। आखिरमा आफैले रेस्टुरेन्ट खोले, त्यसमै जमे।
कहिलेकाहीँ उनलाई आफ्नो जीवन र रेस्टुरेन्ट व्यवसाय अनौठो संयोगजस्तो लाग्छ।
'मलाई घरमा छँदा बाहिरको मात्र काम गर्न मन लाग्थ्यो। घरमा आमा, दिदी र भाउजू हुनुहुन्थ्यो। मैले कहिल्यै खाना बनाउनु परेन। बेल्जियम गएर रेस्टुरेन्टकै काम गर्नुपर्यो,' उनले भने, 'नेपाली खाना बनाउन जानेको भए उता पनि नेपाली रेस्टुरेन्ट सुरू गर्थेँ होला। तर मलाई इटालियन र फ्रेन्च खानाको आइडिया भयो।'
हाल बेल्जियममा उनले इटालियन र फ्रेन्च गरी दुइटा रेस्टुरेन्ट चलाएका छन्। उनका अनुसार दुवै रेस्टुरेन्ट राम्रो चल्तीमा छन्। त्यहाँको कमाइ नेपालमा लगानी गरेका छन्।
बेल्जियम गएको प्रारम्भिक समयमा उनलाई परिवारजन र आफन्तहरूबाट नेपाल फर्किन दबाब परेको थियो। खासगरी आमाको जोडबल धेरै थियो।
'आमाले नेपाल आएर व्यवसाय गर्, जागिर पनि नछोड्, थप केही गर्न चाहन्छस् भने म छु भन्नुभएको थियो,' उनले भने, 'म केही वर्ष कमाएर मात्र फर्किन्छु भनेर उतै बसेँ। अलिअलि पैसा कमाउन सकेकैले नेपालमा लगानी गर्न पाएको छु।'
उनले नेपालमा सेयर बजार, जलविद्युत र औषधि उत्पादक (फर्मास्युटिकल्स) कम्पनीमा लगानी गरेका छन्। सेयर बजार र हाइड्रो पावरमा अप्रत्यक्ष र फर्मास्युटिकल्समा प्रत्यक्ष सक्रिय छन्।
उनले 'मेगाश्री फर्मास्युटिकल्स' कम्पनीमा साझेदारीमा लगानी गरेका छन्। उनी तीन जना साझेदारमध्ये एक र कम्पनीका संस्थापक निर्देशक हुन्।
कमलले नेपालमा व्यवसायको निकै राम्रो सम्भावना देखेका छन्। नेपालमा बाहिरबाट हेर्दा केही झन्झट जस्तो लागे पनि बिस्तारै सहज हुँदै जाने उनको अनुभव छ।
'बेल्जियममा सबै काम एउटै टेबलबाट हुन्छ। नियम अनुसार काम हुने भए हुन्छ र नहुने भए हुँदैन भनेर तुरून्तै जबाफ पाइन्छ,' उनले भने, 'नेपालमा भने फाइल यताबाट उता र उताबाट अर्को ठाउँमा पठाउँदा पठाउँदै धेरै दिन बित्छ, झन्झट हुन्छ।'
विदेशमा जति नै सुखसयल भए पनि स्वदेशमा काम गर्दा आनन्द अनुभव गर्ने उनी बताउँछन्। युरोप, अमेरिका, अस्ट्रेलिया र क्यानडाजस्ता अति विकसित ठाउँबाट नेपाल आउँदा धुवाँधूलो धेरै भएजस्तो लागे पनि नेपालमा विकासले गति लिएको उनको बुझाइ छ।
उनले अझै करिब १० वर्ष नेपाल र बेल्जियम बराबर आउजाउ गर्ने सोचेका छन्।
'मलाई अझै केही समय दुवैतिर मेहनत गर्नुपर्ने छ। मेरा बुबाआमाले मलाई मेहनत, इमानदारी र लगनशीलता सिकाउनुभएको छ,' उनले भने, 'म उहाँहरूकै मार्गदर्शनले यहाँसम्म आइपुगेको छु।'
उनी जुनसुकै पेसा–व्यवसाय गरे पनि आफ्नो पहिचान बनाउनुपर्छ भन्ने विश्वास गर्छन्। यही विश्वासले अघि बढेका छन्।
उनलाई अपसोच एउटै कुरामा छ – अहिले आमा हुनुहुन्न।
'आमाको मार्गदर्शन अनुसार स्वदेशमा लगानी गर्न सकेकोमा भने थोरै भए पनि सन्तोष लागेको छ,' कमलले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]