कोरिया रोजगारीबाट फर्किएका 'रिटर्नी' युवाहरूको समूह र इपिएस कोरिया शाखाबीच पाँच बुँदे सहमति भएको छ।
उनीहरू इपिएस भाषा परीक्षा उत्तीर्ण भएर पनि कोरिया जान नपाएको भन्दै आन्दोलन गरिरहेका थिए।
रिटर्नीहरूले फेरि भाषा परीक्षा नदिई कोरिया जान पाउनुपर्ने माग राख्दै आएका छन्। यसअघि उनीहरूलाई परीक्षामा पुनः सहभागी नगराउने सहमति भएको थियो। त्यसपछि उनीहरूले आन्दोलन रोकेका थिए।
तर, इपिएस शाखाले परीक्षाको आवेदन खुलाएपछि उनीहरूले शाखा घेराउ गरेर आन्दोलन गर्दै आएका थिए।
कोरियाका रोजगारदाताले आफूहरूलाई लामो समयसम्म पनि वेटिङमा राखेर नयाँलाई मात्रै लैजाने गरेको गुनासो उनीहरूको छ।
आफूहरूलाई रोस्टर सूचीमा लामो समय राखेर झुलाइएको गुनासो गर्दै आफूहरूलाई कोरियाले छनोट नगरे भाषा परीक्षा रोक्ने चेतावनी पनि उनीहरूले दिएका थिए। यस्तो किचलो भइरहे नेपालीहरूको रोजगारीको अवसर गुम्ने चेतावनी कोरिया पक्षले पनि दिएको थियो।
शुक्रबार रिटर्नीहरू तथा शाखाबीच सिबिटी परीक्षामा रिटर्नीहरूको सहभागिता हुने गरी सम्झौता भएको छ।
सिबिटी परीक्षा रिटर्नीहरूकै लागि भएकाले यसमा स्वस्फूर्त सहभागी हुनुपर्ने गरी सहमति भएको शाखाका निर्देशक गुरूदत्त सुवेदीले जानकारी दिए।
सिबिटी लगायत परीक्षा सञ्चालनमा कुनै बाधा अवरोध सिर्जना नगर्ने÷गराउने सहमति पनि भएको छ।
रोस्टरमा ठूलो संख्यामा योग्य व्यक्तिको सूची रहेकाले उनीहरूलाई छिटोभन्दा छिटो कोरिया पठाउन पहल गर्ने उल्लेख छ।
रोस्टरमा धेरै संख्या भएको अवस्थामा अन्य परीक्षा सञ्चालन नगर्ने व्यवस्था मिलाउन पहल गर्ने सहमति भएको हो।