त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगार सहायता कक्ष संचालनमा आएको छ। यसअघि श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले विमानस्थलमा वैदेशिक रोजगार सहायता कक्ष संचालन गर्ने घोषणा गरेका थिए।
सोही घोषणाअनुरुप यो कक्ष आजदेखि संचालनमा ल्याइएको हो। वैदेशिक रोजगारमा गएर फर्केकाहरुको समस्यालाई प्रत्येक्ष रुपमा सम्वोधन गर्ने उद्देश्यले यो सहायता कक्ष संचालन गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार वैदेशिक रोजगारमा गई शारीरिक रुपमा अशक्त भई वा मानसिक सन्तुलन गुमाएर फर्केकाहरुलाई एम्बुलेन्समार्फत अस्पतालमा पुर्याएर उपचार गराउने तथा परिवारसँग सम्पर्कमा ल्याउने काम सहायता कक्षले गर्नेछ। यसबाट बिरामी भई फर्केकाको आफन्तलाई विमानस्थलमा एम्बुलेन्स खोज्नुपर्ने बाध्यता हुनेछैन।
निश्चित दुरी तोकेर एम्बुलेन्स तथा शव वहानको व्यवस्था निशुल्क गरिएको छ।
वैदेशिक रोजगारमा गई मृत्यु भएकाको शव ल्याएर सम्बद्ध परिवारको जिम्मा लगाउने काममा कक्षबाट मद्दत पुग्नेछ। शव कुर्ने आफन्तहरुका लागि बस्ने ठाउँको व्यवस्था समेत गरिएको काफ्लेले जानकारी दिए।
कतिबेरमा शव आउँछ वा शव कहाँ राखिएको छ लगायतका जानकारी कक्षले उपलव्ध गराउनेछ। त्यस्तै शव ल्याइसकेपछि शव वहानको व्यवस्था हुने छ।
‘यसअघि ल्याएको शव कहाँ राख्ने, कोमार्फत कसलाई जिम्मा लगाउने जस्ता समस्या रहँदै आएका थिए’ काफ्लेले भने ‘अब आफन्त सहायता कक्षमा गई सम्पूर्ण कुराहरु बुझ्न सक्नेछन्।’
यदी आफन्तहरु नभएको खण्डमा कक्षले सम्बद्ध परिवारसँग सम्पर्क गरी शव पुर्याइदिने व्यवस्था समेत गर्ने उनले बताए। त्यस्तै विदेशमा गएर सम्पर्कबिहीन भएकाहरुको पनि सहायता कक्षबाट आफन्तहरुले जानकारी लिन सक्नेछन्।
यसअघि विदेशबाट शव ल्याउँदा बाहिर ‘करिडोर’मै आफन्तहरुको रुवाबासी हुने गरेको थियो। सहायता कक्ष स्थापना भएपछि कक्षमै रुवाबासी सीमित हुने हुँदा अरुलाई असर पर्नेछैन।
अब कक्षमै आफन्तले समवेदनता प्रकट गर्न पाउने छन्। यसअघिसम्म यो व्यवस्था थिएन। जसले गर्दा राजधानीमै भएका आफन्त समवेदनाका लागि शवको अन्त्येष्टि गर्ने ठाउँमै जानुपर्ने बाध्यता रहँदै आएको थियो।