भाटभटेनी सुपर स्टोरले भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा १० अर्ब ८५ करोड रूपैयाँ बढीको क्षति भएको विवरण सार्वजनिक गरेको छ।
भाटभटेनीका अनुसार २० वटा स्टोरबाट यो क्षति भएको हो। भाटभटेनीस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्ण रूपमा आगजनी गरिएको छ। १२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको छ।
स्केलेटर, लिफ्ट, फ्रिज लगायत महँगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका थिए। भवनभित्र रहेका सबै सामग्री पूर्ण रूपमा आगजनी गरिएको थियो।
त्यसबाहेक नौ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको थियो। नौवटा स्टोरमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरूङले १२ वटा स्टोर पूर्ण रूपमा जलाइएको, बाँकी नौ वटामा आंशिक क्षति पुर्याइएको जानकारी गराएका थिए।
उनले भाटभटेनीमा कार्यरत दस हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दसैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए।
'सबै स्टोरमा गरी भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्षति भएको छ,' गुरूङले भने।
प्रधानमन्त्रीसँगको भेटमा गुरूङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक पटक प्रतिबद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै 'टार्गेट' गरिएको बताएका थिए।
भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका नौवटा गरी १९ वटा स्टोरमा चार अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रूपैयाँ बराबरको क्षति भएको छ भने पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५९६ रूपैयाँ बराबरका सामग्री पूर्ण रूपमा जलाइएको छ।
४९ करोड ५७ लाख ७६ हजार ६५५ रूपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको छ।