नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता रहेको बताएका छन्।
उनले वर्तमान सरकारले छोटो समयमै निजी क्षेत्रको धारणाअनुसार राहतका प्याकेज घोषणा गरेर मनोबल बढाउने काम प्रशंसनीय रहेको बताए। यद्यपि, पछिल्ला आन्दोलनहरूमा निजी क्षेत्रमाथि भएको क्षतिले गर्दा व्यवसायीमा असुरक्षाको भावना बढेकोले सरकारबाट सुरक्षाको प्रत्याभूति खोजिएको पनि उनले बताए।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई महासंघमा स्वागत गर्ने कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्र सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनको निशानामा पर्नु गम्भीर विषय भएको उल्लेख गरे।
हालै जेनजीको नाममा भएको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले निजी क्षेत्रमा करिब ८० अर्ब रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको उनको भनाइ छ।
'हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तिहरूको सामना गर्दै यो अवस्थामा आइपुगेका छौं। भदौ २३ र २४ गतेपछिको जेनजी आन्दोलनले सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। हामी सामु यो अवस्थाबाट माथि उठ्नुपर्ने चुनौती छ,' उनले भने।

अध्यक्ष ढकालले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरूदण्ड रहेको र यसले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको बताए।
आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले यसको महत्त्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उनको भनाइ छ।
त्यसैले त्यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चार क्षेत्रलाई आग्रह गरे।
उनले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पछिल्ला घटनाहरूले उद्योगी र व्यवसायीहरूमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी, व्यवसायी तथा आम सर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारलाई अनावश्यक प्रचारमुखी काममा नलाग्न पनि सुझाव दिएका छन्।
'यो सरकारको बाध्यता हामीले बुझ्नुपर्छ। यसको प्रमुख दायित्व निर्वाचन गराउनु हो। तर हालको आन्दोलनले दिएको म्यान्डेट अनुसार केही काम गर्नै पर्छ,' श्रेष्ठले भने, 'हालै सरकारले ट्रंक र डेडिकेटलाइनको बक्यौताको कुरा उठएको छ। तिर्न कसैले बाँकी भए तिर्नुपर्छ हाम्रो फरक धारणा छैन सँगै सम्बन्धित उद्योगीले मागेको कागजपत्र भने उपलब्ध गराउनु पर्छ।'
महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्रको पुनरूत्थान र सुशासनका लागि निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्नुपर्ने र व्यवसायीलाई आत्मविश्वासका साथ काम गर्न सक्ने वातावरणको सुनिश्चितता अहिलेको आवश्यकता भएको बताए।
कोषाध्यक्ष भरतराज आचार्यले नेपालको अर्थतन्त्रको पुनर्निर्माण र पुनरुत्थानका लागि सरकारले निजी क्षेत्रसँग आवश्यक सुरक्षा समन्वय र सहकार्य गर्नुपर्ने धारणा राखे।