भदौ महिनामा आयातमा उल्लेख्य सुधार देखिएको छ। साउन महिनामा एक खर्ब ४३ अर्ब रूपैयाँको वस्तु आयात भएकोमा भदौमा एक खर्ब ६३ अर्ब रूपैयाँ बराबरको पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
चीनसँगको स्थलगत नाकामा अवरोध, भदौ २४ गते भएको आन्दोलन तथा तोडफोडका कारण केही दिन भारतसँगको नाकासमेत प्रभावित भए पनि भदौमा आयात बढेको हो।
यो पटक दसैं पहिले भएको कारण पनि आयात बढी भएको व्यापारीहरूको भनाइ रहेको छ।
साउन र भदौ महिनामा गरी ३ खर्ब ५ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। जबकी गत वर्ष यसै समयमा २ खर्ब ६५ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा आयातमा १६ प्रतिशतको वृद्धिदर हो।
निर्यातमा पनि उल्लेख्य सुधार देखिएको छ।
भदौसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ प्रतिशतले निर्यात बढेको छ। विभागको तथ्यांक अनुसार साउन र भदौमा ४७ अर्ब रूपैयाँको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष यसै समयमा २५ अर्ब रूपैयाँको निर्यात भएको थियो।