राजस्व प्रशासन र आर्थिक नीतिका विशेष जानकारको रूपमा छवि बनाएका पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
करछलीको विषयमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग असहमति भएपछि अर्थसचिव पदबाट राजीनामा दिएर उनी २०६७ सालमा अर्थ मन्त्रालयबाट बाहिरिएका थिए।
खनाललाई १५ वर्षपछि अहिले युवा पुस्ताको आन्दोलनले यो जिम्मेवारी सुम्पेको छ। विशेष गरी भ्रष्टाचारविरूद्धको ‘जेनजी’ समूहको अभियानपछि उनीहरूले बोकेको मूल मुद्दा लिएर यो जिम्मेवारीमा आएका हुन्।
अर्थमन्त्रीको जिम्मेवारी लिएपछि आयोजित कार्यक्रममा उनले मुख्य पाँच सन्देश दिएका छन्।
१. जेनजी सन्देशः भ्रष्टाचार नसहने, सेवाग्राहीलाई दुःख दिन नपाइने
उनले ‘जेनजी’ समूहको आन्दोलन नै भ्रष्टाचार जरैबाट उखेल्ने भएको जानकारी पुनः कर्मचारीहरूलाई गराएका छन्।
उनले आफूलाई यो जिम्मेवारी ‘जेनजी’ समूहले सुम्पेको बताउँदै उनीहरूको मुद्दामा अडिग भएर काम गर्ने बताए।
‘अब आइन्दा मुलुकलाई करप्सनबाट पूर्ण मुक्त गर्न ज्यानै आहुति दिनु भएको छ,’ खनालले भने, ‘नजानेर पनि गल्ती गर्न पाइँदैन।’
उनले कर्मचारीलाई स्पष्ट भनेका छन्, कुनै पनि व्यक्तिको नाम लिएर गलत काम गर्ने छुट छैन। खनालले कर्मचारीतन्त्रभित्र सच्चिन आवश्यक रहेको बताएका छन्।
‘यो आन्दोलनपछि हामी सच्चिनुपर्छ,’ उनले भने।
अब कर्मचारीको व्यवहारबाट सेवाग्राहीले परिवर्तन महसुस गर्न पाउनु पर्ने उनले बताए।
‘अब सेवाग्राहीले स्पष्ट रूपमा परिवर्तनको महसुस गर्न पाउनु पर्छ। यति छिटो काम हुन्छ, यति राम्रो पनि व्यवहार गरिन्छ भन्ने ढंगले काम गर्नुपर्छ,’ खनालले भने।
२. मितव्ययीतामा जोड र सार्वजनिक खर्चमा कडाइ:
अर्थमन्त्री खनालले सरकारी खर्चमा कडाइ गर्ने संकेत दिएका छन्। उनले विशेषगरी निर्वाचन सरकार भएकाले कम जरूरी खर्चमा कटौती गर्नुपर्नेमा जोड दिए।
‘यो सरकार निर्वाचन सरकार हो। कम्तीमा अर्थ मन्त्रालयभित्र गाडी नकिनौं,’ उनले भने।
उनले पुनर्निर्माण भने तत्काल सुरू गर्नुपर्ने संकेत गरेका छन्।
‘कम्तीमा अर्थ मन्त्रालय आगोले धुवारिएर कालो भएको पनि रंगरोगन गरौं। बिग्रे, भत्केका पनि मर्मतसम्भार गरौं,’ उनले भने।
उनको ‘पूर्वतयारी नभएका, प्राथमिकतामा नपरेका र टुक्रे आयोजनाहरू’ तत्काल कार्यान्वयन नगर्ने पहिलो निर्णय नै रहेको छ।
यस्ता आयोजना छुट्याउनको लागि अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सुमन दाहालको संयोजकत्वमा सहसचिव धनिराम शर्मा र उत्तरकुमार खत्री रहेको कार्यदलसमेत बनाइएको छ।
यो कार्यदलले दिएको प्रतिवेदनको आधारमा कार्यान्वयन नगरिने आयोजना टुंगो लगाइने उनले बताएका छन्।
यस्तै, उनले अर्थ मन्त्रालय भित्रको कामको हकमा नयाँ गाडी पनि नथप्ने संकेत गरेका छन्। अन्य फजुल खर्चहरू पनि कटौती गर्ने उनको सन्देश छ।
३. निजी क्षेत्रसँग सहकार्य:
उनले निजी क्षेत्रसँग सहकार्य गरिने सन्देश दिएका छन्। निजी क्षेत्रको आत्मबल कमजोर हुन दिन नहुने उनले तर्क गरे।
अहिले निजी क्षेत्रका उद्योग, कलकारखाना र निजी घरमाथि भएको तोडफोड तथा आगजनीले उनीहरूलाई निरूत्साहित गरेको बताए।
यद्यपि, अतिरिक्त दायित्व नबोकी सरकारी सेवा लिनुका साथै समयमा काम हुन सक्दा निजी क्षेत्रलाई ठूलो सहयोग हुने तर्क गरे।
सरकारको शून्य भ्रष्टाचार नीतिमा सहयोग गर्न उनले निजी क्षेत्रलाई आग्रह गरेका छन्।
४. राजस्व प्रणालीमा सुधार र कडाइ:
उनले राजस्व असुलीमा कडाइका साथ गरिनुपर्ने सन्देश दिए। राजस्व असुली गर्ने सवालमा नम्र हुनु पर्ने ठाउँमा नम्र र कडा हुनु पर्ने ठाउँमा कडा पनि हुनुपर्ने बताए।
‘राजस्वमा कमी आउन दिनु भएन, राजस्वको चुहावटलाई पनि रोक्नु पर्छ,’ उनले भने।
५.सादगी शैली:
रामेश्वर खनालले आफ्नो व्यक्तिगत जीवनशैली र कामप्रतिको समर्पणबारे केही कुराहरू सार्वजनिक गरे।
उनले सोमबार शपथ लिन जाने क्रममा आफैले गाडी चलाएर गएको बताए। अब भने गाडी चलाउन एक जना सहयोगीआवश्यक परे पनि अन्य कुनै सहयोगी तथा सल्लाहकार नराख्ने बताए।
आफूले मन्त्रीको रूपमा गाडी, तलब भत्ता तथा अन्य सुविधा नलिने पनि जानकारी गराएका छन्।
उनले कर्मचारी तथा शुभेच्छुकहरूलाई खादा, माला नलगाउन आग्रह गरेका छन्।
यसै कारण पनि उनलाई स्वागत गर्ने क्रममा १/२ वटा पुष्पगुच्छा मात्रै दिइएको थियो। खादा भने लगाइएन।
उनले आफू पहिले १४–१५ घण्टा काम गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्रालयको सबै काम मन्त्रालयभित्र नै गर्ने उनले बताएका छन्।
‘व्यक्तिगत काम लिएर मेरो घरमा आउनु नै पर्दैन। तपाईंहरूले मेरो घर नदेखे पनि म खुसी हुन्छु,’ उनले भने।
उनका सन्देशहरूले प्रशासनिक सुधार, वित्तीय अनुशासन र निजी क्षेत्रसँगको सहकार्यमा जोड दिएको देखिन्छ।
भ्रष्टाचारविरूद्धको ‘जेनजी’ समूहको आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्ने चुनौती उनका सामु छ, र उनले यो चुनौतीलाई स्वीकार गरेको देखिन्छ।
अर्थ मन्त्रालयका पदाधिकारीहरूले अनुभवी अर्थमन्त्री आएको कारण अर्थतन्त्रको थिति बसाल्न सहयोग पुग्ने तर्क गरेका छन्। अर्थसचिव घनश्याम उपाध्यायले खनालजस्ता सबैले पत्याएका व्यक्ति अर्थमन्त्री भएर आउनु सुखद भएको बताए।
उनले युवा पुस्ताको चाहना पूरा गर्ने र निजी क्षेत्रको मनोबल बढाउने दिशामा आफूहरू एकढिक्का भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पनि अनुभवी व्यक्ति भएको कारण काम गर्न सहयोग पुग्ने बताए।
हालैको प्रदर्शनको क्रममा राष्ट्र बैंकको प्रणालीमा कुनै क्षति नपुगेको बताउँदै उनले अर्थमन्त्रीसँग सहकार्य गरेर अगाडि बढ्ने र अप्ठ्यारोमा परेका सबैलाई आत्तिनु नपर्ने गरी काम गर्ने प्रतिबद्धता गरे।