नेपालले यस वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ।
क्रेडिट रेटिङको तयारीका लागि साेमबार अर्थ मन्त्रालयमा बसेको बैठकले नेपालले प्राप्त गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा गरेको उल्लेखनीय प्रगतिको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए।
बैठकमा विशेषगरी अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र, सुशासन, राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा भएका सुधार र उपलब्धिहरूलाई प्राथमिकता दिनेबारे छलफल गरिएको प्रतिनिधिले बताए।
अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ। सोभरेन क्रेडिट रेटिङका लागि नेपालको अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ। गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले ‘बिबी माइनस’ रेटिङ पाएको थियो।