पछिल्लो आर्थिक वर्षमा १८ खर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा साटेर नेपालले विभिन्न वस्तुहरूको आयात गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब रूपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २ खर्ब ७७ अर्ब रूपैयाँ बराबरको निर्यात गरेको छ।
आयातको क्रममा विदेशी मुद्राको खर्च हुने गर्छ भने निर्यातको क्रममा विदेशी मुद्राको प्राप्ति हुने गर्छ।
यसले नेपालको व्यापार घाटा ११ खर्ब २७ अर्ब बढी भएको देखाएको छ।
गत वर्ष गरिएको आयातमध्ये जम्मा आठ वटा वस्तुले ५० प्रतिशत हिस्सा ओगटेको देखिएको छ।
गत वर्ष सबैभन्दा धेरै पेट्रोलियम उत्पादन (डिजेल, पेट्रोल, ग्यास, हवाई इन्धन लगायत)को आयात भएको छ।
गत वर्षको समग्र आयातमा पेट्रोलियम उत्पादनको हिस्सा करिब १६ प्रतिशतको छ। गत वर्ष दुई खर्ब ८७ अर्ब ६५ करोड रूपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ।
त्यस्तै धेरै आयात हुनेमा क्रमशः फलाम, स्टिल र तिनका उत्पादनहरू एक खर्ब ६२ अर्ब रूपैयाँ बराबरको, मेसिनरी र तिनका पाट पूर्जाहरूको एक खर्ब २४ अर्ब रूपैयाँ बराबरको, यातायातका साधन र तीनका पाट पूर्जाको एक खर्ब ९ अर्ब रूपैयाँ बराबरको आयात भएको छ।
अन्न, औषधिजन्य उत्पादन र दूरसञ्चारका उपकरण तथा पाट पुर्जाको आयात क्रमशः ६०, ४२ र ४३ अर्ब रूपैयाँ बराबरको भएको छ।
उल्लेखित आठ प्रकारका वस्तुको आयातमा नौ खर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा खर्च भएको छ।
उल्लेखित आठ वस्तुमध्ये मूल्यको आधारमा गत वर्ष पेट्रोलियम पदार्थको आयात ४ प्रतिशतले घटेको छ। अन्य सबै वस्तुको आयात उल्लेख्य बढेको छ।