जेठ १५ गतेअघि अत्यधिक मात्रामा विद्युतीय कारहरू आयात भएकोमा त्यसपछिका दिनहरूमा करिब ठप्प भएको छ।
पहिले नै धेरै आयात भएको कारण त्यसपछिको केही समय आयात नहुनु स्वाभाविक मानिए पनि बिक्री समेत नभएपछि गाडी बिक्री गर्ने व्यापारिक कम्पनीहरू समस्यामा देखिएका छन्।
संघीय सरकारले आगामी आर्थिक वर्षको लागि जेठ १५ गते बजेट ल्याउने गर्छ। यसै दिनबाट नै भन्सार महसुल, अन्तशुल्क, भ्याट (अप्रत्यक्ष कर) लागू हुनेगरी नयाँ करका दरहरू लागू गरिने गर्छ।
गाडी लगायतका अधिकांश विलासिताका वस्तुहरूको करका दर हरेक वर्ष बढ्ने भएको कारण बजेट अगावै धेरै सामान आयात हुने गर्छ। यो वर्ष भने धेरै कर बढ्ने अनुमानमा व्यवसायीहरूले बजेटअघि धेरै गाडी आयात गरेका थिए।
भन्सार विभागको तथ्यांक अनुसार जेठ महिनामा ३ हजार ६४५ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ। जबकि जेठ १ गतेदेखि जेठ १५ गतेको अवधिमा ३ हजार ६३९ वटा गाडी आयात भएका छन्।
जेठ १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा भने मात्रै ६ वटा यस्ता विद्युतीय गाडी आयात भएका छन्। यसमध्ये १०१ देखि २०० किलोवाटसम्म ब्याट्री क्षमता भएका ४ वटा, ५० किलोवाटसम्मको एउटा र १०० किलोवाटको एउटा गाडी आयात भएको भन्सार तथ्यांकमा देखिएको छ।
२०८१ को जेठ महिनामा ३ हजार २०० वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएका थिए। तर त्यसमध्ये जेठ १६ अघि दुई हजार र १५ पछि एक हजार दुई सय वटा गाडी आयात भएका थिए।
यो वर्ष विद्युतीय जीप, कार र भ्यानबाहेकका अन्य गाडी जेठ १५ गतेअघि र पछिका दिनमा करिब उस्तै छ। जस्तो कि जेठ १५ गतेदेखि ३१ गतेको अवधिमा अनएसेम्बल अटो रिक्सा ३१० वटा, अनएसेम्बल तीन पाङ्ग्रे विद्युतीय गाडी ३१५ वटा र २१० वटा तयारी विद्युतीय तीन पाङ्ग्रे गाडी आयात भएका छन्।
त्यस्तै यही १५ दिनको अवधिमा बस १७ वटा, मिनिबस ७७ वटा, एक हजारदेखि १५ सय सिलिन्डर क्षमताका पेट्रोलियम इन्जिन गाडी ९० वटा यो समयमा आयात भएका छन्।
व्यवसायी र भन्सार अधिकारीहरूका अनुसार असार महिनामा पनि अन्य गाडीको आयात औसत देखिए पनि विद्युतीय कारहरूको आयात ठप्पप्रायः नै छ।
'जेठ १५ गतेअघि नै धेरै गाडी आयात गरेको कारण होला। त्यसपछिका दिनमा भन्सार जाँचपासमा विद्युतीय गाडीको रेकर्ड अति न्यून देखिन्छ,' एक भन्सार अधिकृतले भने।
व्यवसायीहरू भने आयात कम भएको कारणले नभई आयात गरिएका गाडीको बिक्रीमा देखिएको सुस्तताले निरास देखिएका छन्।
'पहिले नै धेरै आयात भएको कारण त्यसपछि स्वाभाविक हो। तर, अहिले बिक्री भने अनपेक्षित सुस्त देखियो,' एक बिक्रेता कम्पनीका प्रतिनिधिले भने, 'इन्क्वारी गर्ने (चासो राख्ने) मानिसहरू पनि निकै कम आउने गरेका छन्।'
उनले पहिले बुकिङ गरेका प्रतिनिधिहरूले पनि बुकिङ स्थगित गर्ने तथा पर सार्ने काम गरेको प्रतिक्रिया दिए।
नेपालमा एमजी कम्पनीका गाडी बिक्री गर्ने पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनीलबहादुर क्षेत्री पनि समग्रमा गाडी कम्पनीहरूको बिक्री सुस्त भएको बताउँछन्।
'एमजीको नै हकमा बिक्री ठिकै छ। अपेक्षित देखिएको छैन। तर समग्र बजारमा भने बिक्री निकै सुस्त र इन्क्वारी पनि निकै कम छ,' क्षेत्रीले भने।
विशेषत: विद्युतीय कारहरू बिक्री गर्ने धेरै कम्पनीहरूले वैशाख महिनाबाट नै आयात अत्यधिक बढाएका थिए। गाडीको धेरै भन्सार महशुल लाग्ने भएको कारण विगतमा धेरै कम्पनीहरूले भन्सार परिसरमा गाडी ल्याएर राख्ने र माग भएपछि भन्सारबाट छुटाउने गरेका थिए। तर, अहिले भन्सार पास गराएर धेरै कम्पनीहरूले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा कतिपयले जग्गा भाडामा लिएर पनि गाडी स्टक गरेका छन्।
यसले व्यवसायको लागत बढाएको छ। खरिदकर्ताहरूले भने विशेष अफरहरू खोजिरहेको प्रतिक्रिया बिक्रेता कम्पनीको छ। केही कम्पनीहरूले यस्ता अफर पनि सार्वजनिक गरिरहेका छन्। 'अहिले धेरैलाई गाडी किन्ने हतारो देखिँदैन। इन्क्वारी गर्न आउने सीमित व्यक्तिहरू पनि अफर के छ भनेर खोजिरहेका छन्,' एक बिक्रेता प्रतिनिधिले भने, 'गाडी धेरै स्टक छन् भन्ने उहाँहरूलाई थाहा छ। तत्काल नाइमा अटो शो पनि आएको कारण उहाँहरू अफर पर्खेको देखिन्छ।'
नेपालमा विभिन्न गाडी बिक्रेता कम्पनीहरूले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न र बिक्री बढाउनका लागि असार महिनामा अफरहरू ल्याएका छन्। अहिले टाटा, नामी, ओमोडा, दिपल लगायतका गाडी बिक्रेता कम्पनीहरूले अफर लिएका छन्।
कुन कम्पनीका कस्ता अफर?
टाटा मोर्टर्सका आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले ‘७.७ डिल्स लाइक नेभर बिफोर’ नामक अफर ल्याएको छ।
यो अफर असार १९ देखि २३ गतेसम्म सञ्चालन गरिएको हो। यो अफर अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी दिएर टाटाका नयाँ ईभी मोडलहरू (टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी, र कर्भ ईभी) खरिद गर्न सकिने व्यवस्था गरिएको सिप्रदीले जनाएको छ।
प्रत्येक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्यान्ड भ्रमणको टिकट, एक वर्षको निःशुल्क अटो प्लस बीमा (गाडी दुर्घटना, चोरी, वा अन्य क्षति भएमा लाग्ने खर्च कम्पनीले नै तिर्ने) सुविधा दिइएको छ। दुई आर्थिक वर्षसम्मको सवारी कर निःशुल्क, टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा आकर्षक उपहारहरू योजना अघि सारिएको छ।
दिपलको लागि नेपालमा आधिकारिक बिक्रेता कम्पनी एमएडब्लु वृद्धिले हालै ‘ड्राइभ नाउ, पे लेटर’ योजना ल्याएको छ। यो योजना अन्तर्गत गाडी किनेको पहिलो ६ महिनासम्म गाडीको मासिक किस्ता तिर्नु नपर्ने व्यवस्था गरिएको छ। यसको अर्थ पहिलो ६ महिनापछिबाट मात्र किस्ता तिर्न सुरू गरिन्छ। यसले अलि पछि गाडी किन्ने योजना भएको व्यक्तिलाई छिट्टै किन्न प्रोत्साहन गर्ने बिक्रेता कम्पनीको भनाइ छ।
यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा लागू हुने बताइएको छ। यो कम्पनीले पनि निःशुल्क अटो प्लस इन्स्योरेन्सको सुविधा दिएको छ। त्यस्तै निःशुल्क ७ किलोवाट वाल चार्जर (घरमै छिटो चार्ज गर्ने उपकरण) र ३ किलोवाट ट्राभल चार्जर (यात्रामा बोक्न मिल्ने चार्जर) दिएको छ। आर्थिक वर्ष ८२/८३ को निःशुल्क सडक कर (वार्षिक गाडी कर कम्पनीले नै तिर्ने) को व्यवस्था गरिएको छ।
नामीको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले ‘नामी फाइभ स्टार अफर’ ल्याएको छ। यो अफर अन्तर्गत गाडी किन्दा नगद छुट दिइने बताइएको छ। यद्यपि रकम वा प्रतिशत तोकिएको छैन। ७ किलोवाट र ३.५ किलोवाट क्षमताको चार्जर, अटो प्लस इन्स्योरेन्स र चालु आर्थिक वर्षका सडक कर निःशुल्क दिएको छ। अर्थात् क्रेताले तिर्नु पर्दैन, बिक्रेताले नै तिरिदिन्छ।
अन्य केही कम्पनीहरूले पनि विभिन्न प्रकारका योजना ल्याएका छन्। विशेषतः नाइमा र नाडा अटो शो नजिकिएको कारण यो समयमा बिक्रेता कम्पनीले मूल्य छुट दिनेगरी विशेष योजना ल्याउन बुझाइमा क्रेता रहेको कारण पनि अहिले बिक्रीमा केही कमी आएको व्यवसायीहरूको प्रतिक्रिया छ। नाइमा आगामी साउन २१ देखि २५ गतेसम्म एक्स्पो आयोजना गरेको छ। त्यस्तै नाडाले भदौ ३ देखि ८ गतेसम्म एक्स्पो आयोजना गरेको छ। दसैंको पूर्वसन्ध्यामा गरिने यी एक्स्पोमा बढी मात्रामा गाडीको खरिद बिक्री हुने गर्छ।