सुनसरीको इटहरी उपमहानगरले २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट मंगलबार सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि इटहरीले सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको दाँजोमा १ अर्बभन्दा बढीले कम हो। चालु आर्थिक वर्षको बजेट तीन अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको थियो।
इटहरी उपमहानगरपालिका उपमेयर संगीता कुमारी चौधरीले मंगलबार नगरको १६ औं नगर सभामा बजेट पेस गरेकी छन्।
आगामी वर्षका लागि चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात् कुल बजेटको ४०.७९ प्रतिशत विनियोजन भएको छ। वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात् कुल बजेटको ०.३५ प्रतिशत र पुँजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात् कुल बजेटको ५८.८६ प्रतिशत छुट्ट्याएको छ।
आगामी आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले जानकारी दिइन्। जसमा संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
यस्तै, इटहरीको सर्वाङ्गीण विकासका लागि गुरूयोजना तयार गरिने कुरा मुख्य योजनामै समेटिएको छ।
बजेटमा इटहरीलाई सुन्दर सहर बनाउन सौन्दर्यकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकारभित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदलयात्रीको सहजताका लागि कोशी राजमार्ग दुई वटा आकासे पुल निर्माण गर्न बजेट छुट्ट्याइएको छ।
इटहरीमा मुख्य समस्याको रूपमा रहेको बाढी तथा डुबान समस्या दीर्घकालीन रूपमा समाधानका लागि नमूना कार्यक्रमका रूपमा आएका प्रकृतिमा आधारित मोडलबाट बाढी नियन्त्रण गर्ने कार्यको सम्भाव्यता अध्ययन चालु आर्थिक वर्षमा भइसकेको र आगामी वर्ष कार्यान्वयनमा ल्याइने तथा त्यसका लागि विश्व बैंकको सहयोग लिइने बजेटमा उल्लेख छ।