विराटनगर महानगरले ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
यसपटक महानगरले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताएको छ।
आगामी आर्थिक वर्ष २०८२–८३ का लागि महानगरपालिकाको मंगलबार आयोजित १६ औं नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले नीति तथा कार्यक्रम र बजेट अनुमान प्रस्तुत गरेकी हुन्।
उनले नीति तथा कार्यक्रम र बजेटमार्फत महानगरको पूर्वाधार विकास र वडास्तरीय योजना कार्यान्वयनमा जोड दिइएको बताइन्।
बजेट कार्यान्वयन गर्न आयतर्फ वित्तीय समानीकरण अनुदानबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँटबाट १ अर्ब १९ करोड २० लाख ३ हजार, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, संघीय सरकारबाट सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख, अन्य संघ संस्थाबाट १६ लाख र चालु आर्थिक वर्षको मौज्दात १४ करोड प्राप्त हुने अनुमान महानगरले गरेको छ।
खर्चतर्फ संचित कोषबाट विनियोजन हुने गरी १९ वटा वडा कार्यालयमा चालु तथा पुँजीगततर्फ कुल ४३ करोड ५६ लाख ३२ हजार रुपैयाँ छुट्याइएको छ।
महानगरपालिकाको कार्यालयका लागि चालु तथा पुँजीगततर्फ २ अर्ब ६९ करोड २६ लाख १ हजार रुपैयाँ खर्चको अनुमान छुट्याइएको छ।
त्यस्तै, संघ र प्रदेशबाट हस्तान्तरित सशर्त र समपूरकतर्फका योजना कार्यान्वयनका लागि ८७ करोड ५७ लाख ६७ हजार रुपैयाँ छुट्याइएको हो।
महानगरपालिका कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६४ करोड ७५ लाख, ऋणको साँवाब्याज तिर्न ५ करोड, चालु वर्षको भुक्तानी बाँकीका लागि ८ करोड खर्च हुने अनुमान बजेटमा गरिएको छ।
महानगरपालिकाले सडक बोर्डबाट सञ्चालन हुने योजनामा १ करोड ५० लाख र नगरस्तरीय अन्य योजनामा ६४ करोड ६१ लाख १ हजार गरी भौतिक पूर्वाधार विकासतर्फ सबभन्दा बढी १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरेको छ।
त्यस्तै, शैक्षिक विकासका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य क्षेत्रमा १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, संघसंस्थाका लागि ५ करोड ५ लाख छुट्याएको छ।
आर्थिक विकासतर्फ २ करोड ९६ लाख २५ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड १० लाख, सुशासन तथा संस्थागत विकासका लागि ३ करोड ३० लाख छुट्याइएको उल्लेख छ।
महानगरपालिकाले नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीकरणमा २ करोड, सडक पूर्वाधार तथा बस्ती विकासमा १० करोड २७ लाख १२ हजार विनियोजन गरेको छ।