सरकारले आयातित वस्तुमा लाग्ने अन्तशुल्क सूची परिमार्जन गरेको छ।
विज्ञहरूले क्रमशः अन्तशुल्क लाग्ने वस्तुको सूची घटाउन सुझाव दिए पनि यो वर्ष केही वस्तुमा अन्तशुल्क बढाइएको छ।
विशेषगरी विभिन्न ड्राइफ्रुट्समा विगतमा अन्तशुल्क लगाउने गरिएकोमा अन्तशुल्क हटाइएको छ।
आर्थिक विधेयक २०८२ मार्फत विगतमा अन्तशुल्क नलाग्ने वा शून्य दर लाग्ने २५ वस्तुमा अन्तशुल्क लगाउन थालिएको छ, जसले यी वस्तुको आयात लागत र बजार मूल्य बढ्ने देखिन्छ।
त्यस्तै, पहिले अन्तशुल्क लाग्दै आएका २३ प्रकारका वस्तुमा भने यो वर्षदेखि अन्तशुल्क शून्यमा झारिएको छ, जसले ती वस्तुको आयात मूल्य घट्ने अनुमान छ।
साथै, अन्तशुल्क लाग्दै आएका ५० वस्तुको दरमा पनि परिमार्जन गरिएको छ।
'सामान्यतः स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने आयतित तथा उत्पादित वस्तुहरूमा अन्तशुल्क लगाइने हो। तर, विगतमा पौष्टिक आहारमा पनि अन्तशुल्क लाग्ने गरेको र स्वास्थ्यलाई हानि पुर्याउने क्षेत्रमा पनि छुट भएको सन्दर्भमा केही सच्याउन खोजिएको हो,' अर्थ मन्त्रालयका एक अधिकारीले भने।
जहाँ हट्यो अन्तशुल्क
सरकारले २३ थरीका ड्राइफ्रुट्सको अन्तशुल्क शून्य दरमा झारेको छ। यसको अर्थ अन्तशुल्क लाग्नेको सूचीमा यी ड्राइफ्रुट्स भए पनि अहिले भने शून्य दरमा झारिएको हो।
सुकेको नरिवल, भित्री खवटासहितको नरिवल र अन्य नरिवलमा पहिले १५ प्रतिशत अन्तशुल्क लाग्ने गरेकोमा अब यो शुल्क हटाइएको छ। यो निर्णयले आयातित नरिवलको मूल्य घट्ने अपेक्षा छ।
खवटासहित र खवटा फुटाएको दुवै प्रकारका नट्समा पहिले १५ प्रतिशत अन्तशुल्क थियो, तर अब यो शून्यमा झारिएको छ।
काजुमा पनि खवटासहितकोमा १५ प्रतिशत र फुटाएकोमा १० प्रतिशत अन्तशुल्क हटाइएको छ।
बदाममा खवटासहितकोमा १० प्रतिशत र फुटाएकोमा १५ प्रतिशत रहेको अन्तशुल्क अब शून्य भएको छ। कटुस, पिस्ता, ओखर, म्याकाडामिया र खजुर (ताजा र सुकेको) मा पनि खवटासहित र फुटाएको दुवैमा अन्तशुल्क हटाइएको छ।
अंगुर सुकेको (किसमिस) मा पनि अन्तशुल्क शून्यमा झारिएको छ। यी वस्तुमा अन्तशुल्क हट्दा आयात लागत र बजार मूल्य घट्ने हुँदा उपभोक्तालाई राहत मिल्ने देखिन्छ।
जहाँ लगाउन थालियो अन्तशुल्क
सरकारले फ्रिजमा राखिएको वा फ्रोजन गरिएको आयातित मासु र कलेजो, मुटुजस्ता खान योग्य भित्री अंगहरू (अफल मासु) मा अन्तशुल्क लगाउन सुरू गरेको छ। विगतमा यी वस्तु अन्तःशुल्कको सूचीमा भए पनि शून्य दर थियो, अर्थात् कुनै शुल्क लाग्दैनथ्यो।
तर, जेठ १५, २०८२ पछि यस्ता ८ शीर्षकका मासु र यसको प्रकारमा १५ प्रतिशत अन्तशुल्क लगाइएको छ।
यसले आयातित मासुको मूल्य बढ्ने भएको छ। स्वदेशी मासु उत्पादक र उद्योगीलाई बजारमा प्रतिस्पर्धा गर्न सहज हुने देखिन्छ, किनभने आयातित वस्तु महँगो हुँदा स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्न सक्छ।
क्याप्सिकम वा पिमेन्टा प्रजातिको पिसेको र नपिसेको दुवै प्रकारको खुर्सानीमा ५ प्रतिशत अन्तःशुल्क लगाइएको छ।
विगतमा यस्ता खुर्सानीमा कुनै अन्तशुल्क थिएन। यो नयाँ शुल्कले आयातित खुर्सानीको मूल्यमा केही वृद्धि हुने देखिन्छ।
त्यस्तै, वालपेपर र भित्ता ढाक्ने अन्य सामग्रीमा पनि १० प्रतिशत अन्तशुल्क थपिएको छ, जुन पहिले लाग्दैनथ्यो। यसले यी सजावटी सामग्रीको आयात लागत र बजार मूल्यमा असर पार्नेछ।
प्याकिङमा प्रयोग हुने काचका बिर्को, ढकनी र त्यस्तै अन्य सामग्रीमा क्रमशः १० प्रतिशत र ५ प्रतिशत अन्तशुल्क लगाइएको छ। जेठ १५ अघि यस्ता वस्तुमा अन्तशुल्क शून्य थियो।
चिसो बनाउने वा तापमान परिवर्तन गर्ने उपकरणसँग सम्बन्धित सामग्री, जस्तै कुलिङ टावरमा पनि ५ प्रतिशत अन्तशुल्क लाग्न थालेको छ, जबकि पहिले यस्ता वस्तुमा शुल्क थिएन।
लिथियम आयन (रिचार्जेबल ब्याट्री) मा पनि विगतको शून्य दरबाट बढाएर ५ प्रतिशत अन्तशुल्क तोकिएको छ। यो परिवर्तनले ब्याट्री प्रयोग हुने इलेक्ट्रोनिक्स सामग्रीको मूल्यमा असर पर्न सक्छ।
म्याट्रेस, बेडिङ र त्यससँग सम्बन्धित सामग्रीमा पहिले अन्तशुल्क नलाग्ने गरेकोमा अब १० प्रतिशत शुल्क लाग्नेछ।
धूमपान पाइप, चुरोट र सिगरेट होल्डरमा १५ प्रतिशत अन्तशुल्क लगाइएको छ।
त्यस्तै, डमी (प्रदर्शनका लागि प्रयोग हुने पुतली) मा पनि १५ प्रतिशत अन्तशुल्क लगाइएको छ, जुन पहिले लाग्दैनथ्यो। यी परिवर्तनले आयात गरिने यस्ता वस्तुको बिक्री मूल्यमा उल्लेखनीय वृद्धि हुने देखिन्छ।
यो परिमार्जनले आयातित वस्तुको मूल्यमा मिश्रित प्रभाव पार्ने देखिन्छ। केही वस्तुमा अन्तशुल्क बढ्दा मूल्यवृद्धि हुने र केहीमा हट्दा मूल्य घट्ने अवस्था छ।
यी बाहेक अन्य ५० शीर्षकमा वस्तुको पनि अन्तशुल्क परिमार्जन गरिएको छ। तर उल्लेखित ४८ वस्तुमध्ये २५ शीर्षकमा विभिन्न वस्तुमा विगतमा अन्तशुल्क दर शून्य लगाइएकोमा अब क्रमशः ५, १० र १५ प्रतिशत लगाउन थालिएको हो।
त्यस्तै २३ प्रकारमा ड्राइफ्रुट्समा विगतमा ५, १० र १५ प्रतिशतले अन्तशुल्क लाग्ने गरेकोमा अहिले शून्यमा झारिएको हो।