पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमीहरूले अहिले पनि १ करोडसम्म ऋण लिँदा दुःख पाएको बताएका छन्।
सोमबार अर्थ समितिमा भएको बाफियासम्बन्धी छलफलमा उनले त्यस्ता ऋणीहरूलाई बैंकहरूले दुःख दिने गरेको बताउँदै राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्ने बताएका हुन्।
उनकाअनुसार साना, मझौला उद्योगहरू चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान सक्दैन। त्यसैले सहज रूपमा ऋण लिने वातावरण हुनुपर्छ।
कार्कीले बाफिया महत्व विधेयक रहे पनि यसमा सुधारका आवश्यकता रहेको बताए।
जनता लाभान्वित हुनेगरी विधेयक छिटो पास गर्ने दिशामा अघि बढ्नुपर्ने उनको भनाइ छ।
पूर्वअर्थमन्त्री कार्कीले भने, ‘१ करोडसम्म ऋण लिने उद्यमीले अहिले पनि सहजै ऋण लिन पाइरहेका छैनन्। राष्ट्र बैंक गम्भीर होस्। उत्साहका साथ ऋण लिन सक्ने, सस्तो ब्याजमा, र समयमै ऋण फिर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्छ।’
कांग्रेस सांसद समेत रहेका कार्कीले बैंकर र व्यापारीबीच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्नेमा जोड दिए। —न्युज एजेन्सी नेपाल