अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू बजेटमा आएका टिप्पणीमा सन्तुष्ट रहेको बताएका छन्।
बजेट सार्वजनिक भएपछि शुक्रबार पत्रकारहरूसँग गरिएको छलफलमा अर्थमन्त्री पौडेलले आजदेखि नै बजेट कार्यान्वयनतर्फ ध्यान केन्द्रीत गरेको समेत बताएका छन्।
बजेट कार्यान्वयन गर्न जेठ १६ गते नै खरिद प्रक्रियामा अघि बढाउन खोजिएको जानकारी दिए।
बजेट कार्यान्वनका लागि व्यवहारिक कार्ययोजनामा बनाइने उनले उल्लेख गरेका छन्।
बजेटमा लिइएको आम्दानी र खर्चको यथार्थपरक रहेको उनले स्पष्ट पार्ने प्रयास गरेका छन्।
बजेटमा चालु आर्थिक वर्षको राजस्व संशोधित लक्ष्यको १७ प्रतिशतले वृद्धि गरिएको उनले जानकारी दिए।
विभाज्य कोषमा जाने बाहेक १३ खर्ब १० अर्ब राजस्व संकलन हुने आंकलन गरिएकोले यो लक्ष्य हासिल गर्न सकिने उनले दाबी गरे।
त्यस्तै, आन्तरिक ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी) को ५.५ प्रतिशतको सीमा रहेकोमा ५.३ प्रतिशत मात्रै उठाइने भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा १३ अर्ब रूपैयाँ कम आन्तरिक ऋण उठाइने भएको हो।
पूर्वाधारमा आयोजनामा ३ करोडको सीमा राखिएको, वैकल्पिक वित्तबाट पुँजीगत काममा सहयोग पुर्याउने गरी नीति लिइएको अर्थमन्त्रालयले जानकारी दिएको छ।
अधिकतम लागतको ५० प्रतिशतभन्दा कम मात्रै अनुदान दिने नीति लिइएको पनि उनले बताए।
बजेटको कार्यान्वयन कसरी हुन्छ र प्रभाव पार्छ भन्नेमा धेरैले चासो व्यक्त गरिरहेको भन्दै योजना आयोगको उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले यसको लागि अन्तर्मन्त्रालय समन्वयन गरिने बताएका छन्।
उनले कार्ययोजना बनाउने कुरामा सहयोग हुने समेत स्पष्ट पारे।
राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बजेटमा पूर्ण समर्थन रहने र कार्यान्वयन गर्न समन्वयन गरिने जानकारी दिए।