आर्थिक वर्ष २०८२/८३ को बजेटले सुरक्षा निकायहरूलाई स्रोत साधनले सम्पन्न बनाउने घोषणा भएको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत सुरक्षा निकायहरूलाई स्रोत साधनले सम्पन्न बनाउने घोषणा गरेका हुन्।
उनले सुरक्षा निकायलाई आवश्यक पर्ने सैन्य सामग्री, हातहतियार तथा सुरक्षा उपकरणको व्यवस्था गर्ने घोषणा गरेका हुन्।
‘सुरक्षा निकायहरूलाई सबल, सक्षम र व्यावसायिक बनाउन स्रोत साधन सम्पन्न बनाइनेछ। सुरक्षा निकायका लागि आवश्यक पर्ने सैन्य सामग्री, हातहतियार तथा सुरक्षा उपकरणको व्यवस्था गरिनेछ,’ उनले भने, ‘नेपाली सेनाको क्षमता अभिवृद्धि गरी राष्ट्रिय सुरक्षा, विकास निर्माओ र विपद व्यवसथापनमा परिचालन गरिनेछ।’
उनले नेपाली सेनाको बंकरदेखि व्यारेक कार्यक्रमलाई निरन्तरता दिएको पनि उल्लेख गरेका छन्।
नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न सक्षम बनाउने पनि उल्लेख छ।
सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरऊमा परिचालन गर्ने र राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान क्षमता विकास गर्ने पनि बजेटले व्यवस्था गरेको छ।
अध्यागमन प्रणालीको स्तरोन्नति गर्ने पनि उल्लेख छ।
‘अध्यागमन प्रणालीको स्तरोन्नति गरी अनलाइन पेमेन्ट सिस्टम र अनलाइन भिसाको सुविधा उपलब्ध गराइनेछ,’ उनले भने, ‘स्टार्ट अप व्यवसायमा काम गर्ने विशेषज्ञ तथा लगानीकर्तालाई नि:शुल्क आवासीय भिसा र नेपालमा बसेर विदेशी कम्पनीको लागि रिमोट वर्क गर्ने व्यक्तिलाई डिजिटल नोम्याड भिसा उपलब्ध गराइनेछ।’