आन्तरिक राजस्व विभागले एकैपटक ९५ हजार बढी करदाताको मूल्य अभवृद्धि कर (भ्याट दर्ता) खारेजी गरेको छ।
विभागले गत शुक्रबार गरेको निर्णय अनुसार कर विवरण नबुझाएका त्यस्ता करदाताको भ्याट दर्ता निलम्बन गरेको हो।
विभागले वैशाख ११ मा सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको थियो।
खारेजी गर्नपूर्व विवरण बुझाउन १५ दिने समय दिइएको थियो।
उक्त अवधिभित्र अधिकांश करदाताले यस्तो विवरण नबुझाएपछि भ्याट दर्ता निलम्बन गरिएको विभागले जनाएको छ।
विभागले यस्ता करदाताको नाम वेबसाइट मार्फत सार्वजनिक समेत गरेको छ। जहाँ ९५ हजार ३४९ वटा प्यान नम्बर राखिएको छ। यी प्यान नम्बर भएर भ्याट दर्ता गरेका करदाताको भ्याट खारेजी भएको हो।
विभागले यसरी निलम्बनमा परेका करदातासँग खरिद–बिक्री नगर्न सरोकारवाला सबैमा सूचित गरेको छ।
यसरी दर्ता निलम्बन भएका करदाताले कर विवरण पेस गरेर कारोबार नियमित गरी दर्ता गर्न चाहे सबै अवधिको कर विवरण पेस गरेपछि 'सस्पेन्डेड लिस्ट' बाट स्वतः हट्ने व्यवस्था गरिएको छ।
निलम्बन रहेको अवधिसम्म निकासी र पैठारी सम्बन्धी सबै कारोबार रोक्न समेत विभागले सम्बन्धित कार्यालयलाई भनेको छ।