प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जालमार्फत् एउटा ग्राफिक्स सहितको पोस्ट सार्वजनिक गरेका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा निर्यात वृद्धिको तथ्यांक प्रस्तुत गर्दै उनले यो पोस्ट गरेका हुन्।
यो ग्राफिक्सले नेपालले निर्यातमा ठूलो सफलता हासिल गरेको र यो उपलब्धिलाई विश्वसामु गर्वका साथ प्रस्तुत गर्न सकिने भाव व्यक्त गरिएको छ।
‘नेपालमा बनेको, विश्वका लागि बनेको’ भन्ने नाराले नेपालमा उत्पादन भएका वस्तुहरू विश्व बजारमा पुर्याएर देशको पहिचान र गौरव बढाउने अवसर प्राप्त भएको सन्देश प्रधानमन्त्रीले दिएका छन्।
प्रधानमन्त्री ओलीले यो ग्राफिक्स सहितको पोस्ट गर्ने क्रममा लेखेका छन्, ‘बितेको १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा दुई खर्ब १८ अर्बको निर्यात भएको छ। अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौं।’
यो भनाइले उनले निर्यात वृद्धिलाई आफ्नो सरकारको सफलताको रूपमा प्रस्तुत गर्न खोजेको प्रष्ट हुन्छ। यो तथ्यांक सत्य हो र नेपालको व्यापार इतिहासमा पहिलोपटक यति ठूलो निर्यात वृद्धिदर कायम भएको छ।
विगतमा कुनै पनि आर्थिक वर्षमा नदेखिएको निर्यात वृद्धिदर अहिले देखिएको छ।
उपलब्ध भन्सार तथ्यांकअनुसार आर्थिक वर्ष २०३१/३२ यता आर्थिक वर्ष २०४०/४१ मा ५० प्रतिशत र त्यसपछिको आर्थिक वर्षमा ६० प्रतिशतको निर्यात वृद्धिदर पुगेको थियो। यसअघिको उच्चतम वृद्धिदर यही नै हो। यो उपलब्धिलाई प्रधानमन्त्रीले प्रचार गर्नु स्वाभाविक पनि मानिन्छ। अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनले हरेक महिनाजसो यस्ता ग्राफिक्स बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका थिए।
यो पटक भने उनले यसरी प्रचार खासै गरेका थिएनन्। बरू, तीन महिनाअघि मात्रै प्रधानमन्त्री ओलीले यस्तै खालको निर्यात तथ्यांकलाई ‘नक्कली’ भन्दै आलोचना गरेका थिए। निर्यात तथ्यांक देखाएर रमाउने अवस्था नरहेको बताएका थिए।
गत फागुन ९ गते नेपाल चेम्बर एक्स्पोको उद्घाटन समारोहमा उनले निर्यातको तथ्यांकमाथि प्रश्न उठाएका थिए।
‘हाम्रो निर्यातको जुन आँकडा देखिएको छ, त्यो पनि सत्य होइन, नक्कली आँकडा हो,’ चेम्बरले आयोजना गरेको अन्तर्राष्ट्रिय एक्स्पोमा ओलीले भनेका थिए।
उनले नेपालले अन्तर्राष्ट्रिय व्यापार नै गर्न नसकेको व्याख्या पनि गरेका थिए। देशका लागि निर्यात मात्रै व्यापार हुने उनको जिकिर थियो।
‘व्यापारीका लागि आयात पनि व्यापार हुन सक्ला, राष्ट्रका लागि भने आयात व्यापार होइन, उपभोग गर्न किनेको वस्तुलाई व्यापार भनिँदैन। व्यापारका लागि त सामान बेच्नैपर्छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए।
प्रधानमन्त्रीले भने जस्तै आयातको तुलनामा नेपालको निर्यात निकै कम मात्रामा छ।
प्रधानमन्त्री ओलीले नेपालमा उत्पादन नै नहुने तथा कम उत्पादन हुने वस्तुको पनि अधिक मात्रामा निर्यात भएको तथ्यांकलाई केलाएर नक्कली आँकडाको संज्ञा दिएका थिए।
हो, नेपालको निर्यात व्यापार भारतको नीतिमा केन्द्रित हुँदै आएको छ। यो पटक भारतले तेलको आयातमा जुन प्रकारको भन्सार नीति अवलम्बन गर्यो, त्यही कारणले निर्यात बढेको हो।
गत भदौमा भारतले तेलको आयातमा लाग्ने भन्सार २० प्रतिशत विन्दुले बढाएको थियो। त्यसपछि नेपालबाट तेलको निर्यात बढेको हो।
नेपालबाट जाने खाने तेलमा भारतमा भन्साररहित प्रवेश छ। भन्सार बढाएसँगै अन्य देशबाट हुने व्यापारको लागत बढ्ने भयो। त्यसैले नेपालको बाटोबाट भारत गएको हो।
पछिल्लो दुई वर्ष लगातार घटिरहेको नेपालको निर्यात गत भदौसम्म पनि अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले घटेको थियो।
भारतले भन्सार बढाएपछि गत फागुनसम्म जम्मा ३७ अर्ब रुपैयाँको भटमासको तेल निर्यात भएको थियो। अहिले करिब ८९ अर्ब रुपैयाँको भटमासको तेल निर्यात भएको छ।
नेपालले तेस्रो मुलुकबाट जस्तो सामान ल्याउँछ, त्यस्तै सामान निर्यात गर्न भने पाउने होइन। कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नैपर्ने हुन्छ। यही गतिमा निर्यात बढेमा चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा दोब्बरले निर्यात बढ्नेछ। त्यतिबेला ओली पहिलो पटक निर्यात दोब्बर बनाउने समयक्रमका प्रधानमन्त्री हुनेछन्।
यद्यपि, विज्ञहरूले अहिले भएको निर्यात टिकाउ हुनेमा शंका गरेका छन्। विगतमा पनि निर्यातमा ठूलो उतारचढाव हुने गरेको छ।
‘निर्यात बढ्नु समग्रमा राम्रो विषय नै भयो। तर, यस्तो निर्यात कति टिकाउ हुन्छ भन्ने प्रश्न उठ्छ,’ व्यापार विज्ञ पुरूषोत्तम ओझाले भने, ‘धेरै मूल्य अभिवृद्धि हुने र धेरै रोजगारी दिने वस्तुको निर्यात बढे राम्रो।’
सम्बन्धित समाचार:
प्रधानमन्त्रीले समेत नस्वीकारेको निर्यात तथ्यांक!
भटमासको तेलका कारण निर्यातमा ऐतिहासिक वृद्धि
तेलको कारोबार उछालले कार्टन, टिन र प्लाष्टिक पाउच उत्पादकहरू उत्साहित