चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) मा नेपालको अन्तर्राष्ट्रिय व्यापार १६ खर्ब ९१ अर्ब रूपैयाँभन्दा बढी भएको छ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.२३ प्रतिशतले बढेको भन्सार विभागले जानकारी गराएको छ।
अघिल्लो वर्षको १० महिनामा १४ खर्ब २९ अर्बको व्यापार भएको थियो। वैशाख महिनामा मात्रै १ खर्ब ९५ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ।
यो वर्ष आयात १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब पुगेको छ। निर्यात ७२.७१ प्रतिशतले वृद्धि भई २ खर्ब १८ अर्ब पुगेको छ।
आयात निर्यात दुबैको व्यापारमा खाने तेलको हिस्सा सबैभन्दा महत्त्वपूर्ण देखिएको छ। यस्तो तेल तेस्रो मुलुकबाट आयात गरी नेपालमा प्रशोधन गरेर भारतमा निर्यात हुने गरेको छ।
आयाततर्फ भटमासको कच्चा तेलको आयात ६.१२ गुणाले बढेर ८१ अर्ब ८९ करोड बराबरको भएको छ। सबैभन्दा धेरै आयात हुने १० वस्तुहरूमध्ये डिजेलको आयात ११.४८ प्रतिशतले घटेर १ खर्ब २ अर्ब ३८ करोड बराबरको भएको छ।
पेट्रोलको आयात ६.५९ प्रतिशतले घटेर ५३ अर्ब ५ करोड बराबरको भएको छ। एलपी ग्यासको आयात १२.६३ प्रतिशतले बढेर ५१ अर्ब ८१ करोड बराबरको भएको छ।
शुद्ध फलामको आयात ३२.५३ प्रतिशतले बढेर ४१ अर्ब ४९ करोड बराबरको भएको छ।
एच.आर. सिटको आयात ८.९८ प्रतिशतले घटेर ३३ अर्ब ४८ करोड बराबरको भएको छ। यी वस्तुहरूको आयात वृद्धिले औद्योगिक कच्चा पदार्थको माग बढेको देखाएको छ।
धानको आयात ७१.६९ प्रतिशतले बढेर १९ अर्ब ७७ करोड पुगेको छ। धानसँगै यो वर्ष चामलको आयात पनि उल्लेख्य मात्रामा बढेको छ।
चामलको आयात ९४.६ प्रतिशतले बढेर १५ अर्ब ५३ करोड रूपैयाँको पुगेको छ।
सवारी साधनतर्फ विद्युतबाट सञ्चालित जिप, कार र भ्यानः आयात ७.२६ प्रतिशतले बढेर २३ अर्ब १३ करोड बराबरको भएको छ। अघिल्लो वर्ष यो २१ अर्ब ५७ करोड बराबरको थियो।
विद्युतीय जिप, कार र भ्यानको आयात ७ प्रतिशतले बढेको छ। १० महिनामा २३ अर्ब ५७ करोडको रूपैयाँको भएको छ। वैशाखमा मात्रै १९ सय यस्ता गाडी आयात भएका थिए।
पेट्रोलियमबाट चल्ने जिप, कार र भ्यानको आयात ११.६१ प्रतिशतले बढेर ५ अर्ब १८ करोड बराबरको भएको छ। अघिल्लो वर्ष यो ४ अर्ब ६४ करोड बराबरको थियो।
मोटरसाइकल (अनएसेम्बल्ड)को आयात ७४.६१ प्रतिशतले बढेर १४ अर्ब ३ करोड बराबरको भएको छ। अघिल्लो वर्ष यो ८ अर्ब ३ करोड बराबरको थियो।
मोटरसाइकल (एसेम्बल्ड) आयात १५.१८ प्रतिशतले बढेर ५ अर्ब ३२ करोड बराबरको भएको छ। अघिल्लो वर्ष यो ४ अर्ब ६१ करोड बराबरको थियो।
तयारी कपडाको आयात १८.४४ प्रतिशतले बढेर ३५ अर्ब २३ करोड बराबरको भएको छ। मोबाइल टेलिफोनको आयात २१.१४ प्रतिशतले बढेर ३० अर्ब ४७ करोड बराबरको भएको छ।
एलोपेथिक औषधिको आयात १२ प्रतिशतले बढेर २५ अर्ब ५० करोड बराबरको भएको छ।
सूर्यमुखीको कच्चा तेलको आयात ८०.७६ प्रतिशतले बढेर २४ अर्ब ६४ करोड बराबरको भएको छ।
ट्रक, मिनी ट्रकको मूल्य ४४.१८ प्रतिशतले घटेर १ अर्ब ६४ करोड पुगेको छ। सिङ्गल (क्याब पिकअप गाडी) को मूल्य ४९.२४ प्रतिशतले घटेर ५१ करोड ४० लाख पुगेको छ।
ग्यास लाइटरको मूल्य ६४.९९ प्रतिशतले घटेर १ अर्ब १९ करोड पुगेको छ। मार्बल स्ल्याबको मूल्य २७.११ प्रतिशतले घटेर १ अर्ब ८४ करोड पुगेको छ।
सबैभन्दा धेरै निर्यात हुने १० वस्तुहरूमध्ये भटमासको प्रशोधित तेलको निर्यात ९०.४७ गुणाले बढेर ७८ अर्ब ७५ करोड बराबरको भएको छ।
सेन्थेटिक यार्नको निर्यात २२.८ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड बराबरको भएको छ।
सूर्यमुखीको प्रशोधित तेलको निर्यात ६२.१३ गुणाले बढेर १० अर्ब ९ करोड बराबरको भएको छ। निर्यात वृद्धिको प्रमुख कारण नै तेल देखिएको छ।
ऊनी गलैंचा कार्पेटको निर्यात ०.५४ प्रतिशतले बढेर ८ अर्ब ८४ करोड बराबरको भएको छ।
गत वर्ष सबैभन्दा बढी निर्यात भएको फलामे पाताको निर्यात १४.७२ प्रतिशतले घटेर ८ अर्ब बराबरको मात्रै भएको छ।
अलैंचीको निर्यात ३.५५ प्रतिशतले घटेर ६ अर्ब ६७ करोड बराबरको भएको छ।
फलफूलको जुसको निर्यात ७.८ प्रतिशतले घटेर ६ अर्ब ६२ करोड बराबरको भएको छ। तयारी कपडाको निर्यात ७.०२ प्रतिशतले घटेर ६ अर्ब ५४ करोड बराबरको भएको छ।
प्लाइउडको निर्यात ३.२३ प्रतिशतले बढेर ६ अर्ब १९ करोड बराबरको भएको छ। जुटका बुनिएका कपडाको निर्यात ३२.२९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड बराबरको भएको छ।
कतिपय वस्तुको व्यापारमा आएको वृद्धि र कमीले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्छ।
भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यातमा भएको उल्लेखनीय वृद्धिमा भारतको नीतिको प्रभाव देखिएको हो। यो पटक भारतले खानेतेलको भन्सार बढाएको छ।
नेपालबाट भने भन्सारसहित प्रवेश पाउने भएको कारण सुधार भएको देखिएको छ।
खाने तेलको निर्यात वृद्धिले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान पुर्याएको छ।
डिजेल र पेट्रोलको आयातमा आएको कमीले विश्व बजारमा इन्धनको मूल्य घटेको वा मागमा कमी आएको संकेत गर्छ, परिणात्मक रूपमा गत वर्षको भन्दा उल्लेखनीय खपत बढे पनि मूल्य घट्दा आयात मूल्यमा फरक परेको छ।