कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा पेस गर्दैछ।
सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।
सरकारले कृषि तथा पर्यटन क्षेत्रलाई विशेष महत्व दिएर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। यसपटक कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाइरहेको छ।
त्यसैगरी यसपटक लगानी सम्मेलन पनि गरेको सरकारले प्रदेशमा लगानीकर्ता आकर्षित गर्ने कार्यक्रम ल्याउने तयारी गरेको मन्त्री भण्डारीको भनाइ छ।
सरकारले नीति तथा कार्यक्रममा आधारित रहेर बजेट तयारी गर्ने भएकाले सरकारका प्राथमिकताहरू नीति तथा कार्यक्रमले नै तय गर्दछ।