यो वर्ष नेपालको निर्यातमा उछाल आएको छ। चालु आर्थिक वर्षको १० महिनामा दुई खर्ब १७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
विगतमा कुनै पनि आर्थिक वर्षमा नदेखिएको निर्यात वृद्धिदर अहिले देखिएको छ। उपलब्ध भन्सार तथ्यांकअनुसार आर्थिक वर्ष २०३१/०३२ यता आर्थिक वर्ष २०४०/४१ मा ५० प्रतिशत र त्यसपछिको आर्थिक वर्षमा ६० प्रतिशतको निर्यात वृद्धिदर पुगेको थियो।
तर, अहिले १० महिना (२०८१ साउनदेखि २०८२ वैशाखसम्म) मा ७२ प्रतिशतको निर्यात वृद्धिदर पुगेको छ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब एक खर्ब रुपैयाँले वस्तु निर्यात बढेको छ। २०८० साउनदेखि २०८१ वैशाखसम्म एक खर्ब २६ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो।
रकमका आधारमा यसअघि आर्थिक वर्ष २०७८/७९ मा दुई खर्ब रुपैयाँ पुगेको थियो। त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः २१ र ३ प्रतिशतले निर्यात बढेको थियो।
महिनागत रूपमा पनि अहिलेसम्मकै उच्च निर्यात भएको छ। पछिल्ला तीन महिना लगातार ३० अर्ब हाराहारीको मासिक निर्यात पुगेको छ।
महिनागत निर्यातको तथ्यांक
यसरी अत्यधिक निर्यात बढ्नुमा भटमासको तेलको हिस्सा धेरै छ।
वैशाख महिनामा मात्र १६ अर्ब रुपैयाँको भटमासको तेल निर्यात भएको छ। जबकि गत आर्थिक वर्षमा मासिक औसत साढे ११ अर्बको निर्यात थियो।
१० महिनाको अवधिमा भएको दुई खर्ब १७ अर्ब रुपैयाँको निर्यातमा ३७ प्रतिशत हिस्सा भटमासको तेलको छ। यो अवधिमा करिब ७८ अर्ब ७६ करोडको प्रशोधित भटमासको तेलको निर्यात भएको छ।
जबकि अघिल्लो वर्ष यो अवधिमा ८२ करोड रुपैयाँ बराबरको मात्र प्रशोधित भटमासको तेल निर्यात भएको थियो।
भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेनलगायतका देशबाट किनिएको छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिएको छ।
गत भदौमा भारतले खाने तेलको आयातमा लाग्ने भन्सार महसुल २० प्रतिशत विन्दुले बढाएको थियो। यसले अन्य राष्ट्रबाट भारतमा जाने तेल महँगो भएको थियो। तर, नेपाल-भारतको वाणिज्य सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने यस्तो तेललाई भन्साररहित सुविधा छ। आयात गरिएको कच्चा पदार्थको हकमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्छ।
भटमाससँगै सूर्यमुखी तेलको निर्यात पनि उल्लेख्य बढेको छ। चालु वर्षको १० महिनामा प्रशोधित सूर्यमुखी तेलको निर्यात १० अर्ब ९ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष यो अवधिमा १५ करोडको मात्र थियो।
सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेनलगायतका देशबाट किनिन्छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिन्छ।

भटमास र सूर्यमुखीको निर्यात उल्लेख्य बढ्दा विगतका वर्षमा सबैभन्दा बढी निर्यात हुने पाम तेलको निर्यात यो वर्ष घटेको छ। व्यवसायीहरूका अनुसार भन्सार दरबन्दीको परिभाषामा देखिएको विवादका कारण पाम तेलको निर्यात कम भएको हो। अहिले मौजुद रहेको पाम तेलको पनि निर्यात हुन नसकेको उनीहरूको गुनासो छ। यो वर्ष एक अर्ब ९३ करोडको मात्र पाम तेल निर्यात भएको छ।
यो वर्ष धागो निर्यात पनि बढेको छ। १० महिनाको अवधिमा ११ अर्ब ६२ करोडको धागो निर्यात भएको छ।
नेपाली कच्चा पदार्थमा आधारित प्लाइउड, भेनियर सिट, कोरुगेटेड सिटजस्ता वस्तुको निर्यात बढेको छ।
अघिल्लो आर्थिक वर्षमा नेपालबाट निर्माणजन्य सामग्रीको निर्यात अत्यधिक भएकोमा यो वर्ष भने यस्ता सामानको निर्यात निकै घटेको छ।