राजस्व अनुसन्धान कार्यालय, बुटवलले राजस्व चुहावट सम्बन्धी कसुरमा बुटवलको एक फर्म विरूद्ध तीन करोड रूपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धान कार्यालयले बुटवलको भान्जा स्टोर्स एन्ड हाउसका प्रोप्राइटर बरकत अलि मियाँ विरूद्ध तीन करोड ११ लाख ३२ हजार ५ सय ६२ रूपैयाँ असुल उपर गर्न तथा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ बमोजिम कैद सजायको मागदाबी सहित बिहीबार उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा मुद्दा दायर गरेको हो।
राजस्व अनुसन्धान विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा बुटवल उपमहानगरपालिका वडा नम्बर–७ राधाकृष्ण पथस्थित भान्जा स्टोर्स एन्ड हाउसले फर्मका नाममा मालवस्तु पैठारी तथा खरिद गर्ने तर अभिलेख नराखी बिक्री वितरण गरेको, राजस्व अनुसन्धान कार्यालयमा पेस गरेको मूल्य अभिवृद्धि कर विवरण भन्दा धेरै परिमाणमा पसल र गोदाममा सामान फेला परेको र अनुसन्धान क्रममा उक्त सामान चोरी पैठारी गरी ल्याएर बिक्री वितरणका लागि राखिएको पुष्टि भएकाले उक्त विगो मागदाबी गरिएको उल्लेख छ।
राजस्व कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार प्रतिवादी बरकत अलि मियाँको पसल र गोदाममा फेला परेका मालवस्तुको भन्सार चोरी पैठारीतर्फको ७५ लाख ९३ हजार ५५७ रूपैयाँ, मूल्य अभिवृद्धि करतर्फको २३ लाख २७ हजार ४५९ रूपैयाँ र आयकर तर्फको ५६ लाख ४५ हजार २६५ गरी १ करोड ५५ लाख ६६ हजार २८१ रूपैयाँ विगो कायम गरिएको थियो।
घिमिरेले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनको विगो जफत वा असुल गर्ने प्रावधान अनुसार विगोको शतप्रतिशत जरिवाना रकम थप गरेर ३ करोड ११ लाख ३२ हजार ५६२ रूपैयाँ असुल उपरको मागदाबी सहित उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा मुद्दा दायर गरिएको जानकारी दिए। भान्जा स्टोर्स एन्ड हाउसले शृंगार सामग्रीहरू थोकमा विक्री वितरण गर्दै आएको छ।
यस्तै राजस्व अनुसन्धान कार्यालयले विदेशी ३५ लाख रूपैयाँ विदेशी मुद्रा अपचलनको मुद्दा समेत दर्ता गरेको छ। राजस्व अनुसन्धान कार्यालयका प्रमुख घिमिरेले कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का राकेश कुमार बर्मा, राजेश कुमार बर्मा र जंग बहादुर बर्मा तथा कपिलवस्तुकै मायाँदेवी गाउँपालिका वडा नम्बर १ का हमीद मुसलमान विरूद्ध कपिलवस्तु जिल्ला अदालत, तौलिहवामा विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिएको जानकारी दिए।
घिमिरेका अनुसार २०७९ माघ १९ गते युपी ५५ ए एम ०४५९ नम्बरको भारतीय गाडीमा भैरहवाबाट तौलिहवातर्फ जाँदै गर्दा उनीहरूलाई २१ लाख ३८ हजार भारतीय रूपैयाँ सहित पक्राउ गरिएको थियो।
पक्राउ परेपछि उनीहरूले राजस्व अनुसन्धान कार्यालयमा ३४ लाख ८ हजार रूपैयाँ धरौटी राखेर रिहा भएका थिए। तर कार्यालयले गरेको अनुसन्धानमा उनीहरूले भारतीय मुद्रा अवैध रूपमा भारतबाट नेपालसम्म ओसारपसार गरेको र उक्त कार्य नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले निषेध गरेको कार्य भएकाले मुद्दा दायर गरिएको हो।
कार्यालय प्रमुख घिमिरेका अनुसार बरामद गरिएको पैसा नेपाली रूपैयाँमा हिसाब गर्दा हुने ३४ लाख २४ हजार ७ रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो। साथै बरामद रकम जफतका लागि समेत जिल्ला अदालत कपिलवस्तुमा मुद्दा दायर गरिएको घिमिरेले जानकारी दिए।