शुक्रबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा डिजिटल बैंक स्थापना गरिने बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘सूचना प्रविधि पूर्वाधार विस्तार गरेर डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ। नीतिगत तथा कानुनी व्यवस्था गरि डिजिटल बैंक स्थापना गरिनेछ।’
नीति तथा कार्यक्रममा परेको यो कार्यक्रम नयाँ भने होइन।
‘दुई वर्षदेखि यो विषय चर्चामा छ, यसअघिका मौद्रिक नीति र बजेटमा समेत यो कुरा उल्लेख छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले भने, ‘अहिले आवश्यक पूर्वाधार समेत छैन, त्यसैले यसको लागि धेरै काम गर्न बाँकी छ।’
आर्थिक वर्ष २०७९/८० को बजेटमै सरकारले पूर्ण डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको थियो। हाल संघीय संसदमा संशोधनको क्रममा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा समेत डिजिटल बैंकलाई मान्यता दिने गरी बैंकको परिभाषा संशोधन गरिँदैछ।
ऐनमा नै व्यवस्था भएपछि यस्ता बैंक स्थापनाको प्रक्रिया अघि बढ्ने देखिएको हो। राष्ट्र बैंकले यससम्बन्धि अवधारण पत्र नै तयार भइसकेको २०८०/८१ को मौद्रिक नीतिमा उल्लेख गरेपनि हालसम्म सार्वजनिक गरेको छैन।
राष्ट्र बैंककै भुक्तानी विभागमा रहेका कर्मचारीहरूले यसबारेमा जानकारी नभएको बताए।
‘म यो विभागमा आएको करिब एक वर्ष मात्रै भएको छ, यसबारेमा मैले जानकारी पाएको छैन,’ ती अधिकारीले भने।
कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले भने राष्ट्र बैंकले कल्पना गरेको पूर्ण डिजिटल बैंक अहिले अन्तर्राष्ट्रिय अभ्यासमा रहेका निओ बैंकहरू नै भएको बताए।
सर्वसाधारणले बैंकिङ सेवा लिन कामको लागि बैंकका कार्यालय, शाखा नै धाउन्न नपर्ने बैंकलाई नै पूर्ण डिजिटल बैंक वा निओ बैंक भनिने गरिएको छ।
अनलाइनबाटै मात्र बैंकिङ सेवा पाइने बैंकलाई निओ वा डिजिटल बैंक भनिन्छ। यस्ता बैंकले सेवा प्रदान गर्ने भौतिक कार्यालय वा शाखा पनि नहुन सक्छन्। प्रायः फिनटेक कम्पनीहरूसँगको सहकार्यमा यस्ता बैंकहरू स्थापना हुने गरेका छन्।
विश्वमा भने डिजिटल बैंक र निओ बैंकलाई समेत अलग-अलग रूपमा हेर्ने गरिएको छ। यी दुवै बैंक उस्तै उस्तै भएपनि केही फरकपन हुने अन्तराष्ट्रिय सञ्चारमाध्यम फोर्ब्सले उल्लेख गरेको छ।
डिजिटल बैंक भने बैंकहरूबाट निर्देशित हुनसक्ने र केही शाखा समेत हुन सक्ने मानिन्छ। तर, निओ बैंकहरू भने राष्ट्र बैंक जस्ता केन्द्रीय बैंकहरूबाट मात्रै निर्देशित हुन्छन्।
अहिले भारतमै १२ वटा निओ बैंकहरू स्थापना भइसकेका छन्। फ्रिओ, फी, जुपिटर, इन्स्ट्यान्ट-पे लगायतका निओ बैंकहरू सञ्चालनमा छन्।
यस्ता हुन्छन् निओ बैंकका विशेषताः
- सहजै बैंकिङ सेवा प्राप्त गर्न सकिने
- व्यक्ति केन्द्रित बैंकिङ सेवा प्राप्त गर्न सकिने
- २४ सै घण्टा यस्तो सेवा पाइने
- मोबाइल एपमा आधारित हुने र बुझ्न सकिने किसिमको हुने
- वित्तीय सेवामा सहज पहुँच
- जुन समयमा बैंकिङ सेवा प्रयोग गरिन्छ, त्यसको जानकारी त्यही समय (रियल टाइम) मै उपलब्ध हुने, पारदर्शी हुने
- मोबाइल एपमा आधारित हुने भएकोले सुरक्षामा विशेष जोड दिइएको हुने
- कम खर्चमा ग्राहकले बैंकिङ सेवा प्राप्त गर्न सक्ने