चालु वर्षमा समग्र रूपमा अन्तर्राष्ट्रिय व्यापार बढेको छ।
२०८१ साउनदेखि चैतसम्म ९ महिनाको अवधिमा आयात १२ प्रतिशतले बढेको छ भने निर्यात ६५ प्रतिशतले बढेको छ।
कतिपय वस्तुको आयात र निर्यातमा निकै धेरै घटेको छ। कति वस्तुको उल्लेखनीय रूपमा बढेको छ।
विशेष गरी भारतले लिने भन्सार नीतिको प्रभाव यहाँ देखिने गर्छ।
अघिल्ला दुई वर्षमा भारतले तेस्रो मुलुकबाट आयात हुने कच्चा खाने तेलमा भन्सार घटाएको कारण नेपालबाट निर्यात घटेको थियो।
२०२४ सेप्टेम्बरबाट भन्सार बढाएसँगै नेपालबाट उल्लेखनीय निर्यात बढेको छ।
गत वर्ष उल्लेख्य मात्रामा घटेको भटमास र सूर्यमुखी तेलको आयात निर्यात यो वर्ष निकै बढेको छ।
गत वर्ष उल्लेख्य घटेको धान चामलको आयात यो वर्ष निकै बढेको छ।
यो वर्ष पुससम्म अत्यधिक बढेको लसुनको आयात भारतको असन्तुष्टिपछि कम हुन थालेको छ।
चालु वर्षको ६ महिनामा ६ अर्ब ६५ करोड रूपैयाँ बराबरको लसुन चीनबाट आयात भएको थियो।
यसको बिक्री भने भन्सार छलेर भारतीय बजारमा भएको भन्दै नेपाल भारत वाणिज्य सचिवस्तरीय बैठकमा भारतले असन्तुष्टि जनाएको थियो।
त्यसपछि नेपालले भन्सार कडाइ गर्दा माघ, फागुन र चैत महिनामा ४७ करोड रूपैयाँको मात्रै आयात भएको छ।
यो वर्ष पनि आयात निर्यातमा केही वस्तुको रोलरकोष्टर अर्थात् तीव्र रूपले बढ्ने र घट्ने भएका छन्।
सबैभन्दा धेरै आयात बढ्ने ५ वस्तुहरू
यो वर्ष सबैभन्दा धेरै आयात बढ्नेमा भटमासको कच्चा तेल रहेको छ। यो भारत निर्यातको प्रयोजनको लागि तेस्रो मुलुकबाट आयात हुने गरेको छ।
अघिल्लो वर्ष नौ महिनामा १० अर्ब ८२ करोड रूपैयाँको यस्तो तेल आयात भएकोमा अहिले ६६ अर्ब ५ करोड रूपैयाँ बराबरको पुगेको छ। अघिल्लो वर्षको तुलनामा करिब ६ गुणाले बढेको छ।
सूर्यमुखी कच्चा तेल पनि तेस्रो मुलुकबाट आयात गरेर भारत निर्यात गरिन्छ।
नौ महिनाको अवधिमा १२ अर्ब ६३ करोडको आयात भएको थियो। अहिले २२ अर्ब ६४ करोडको आयात भएको छ।
औद्योगिक कच्चा पदार्थ शुद्ध फलामको आयात पनि यो वर्ष उल्लेखनीय रूपमा बढेको छ।
गत वर्ष नौ महिनामा २८ अर्ब ९३ करोड रूपैयाँको शुद्ध फलाम आयात भएको थियो। अहिले ३१ प्रतिशतले बढेर ३७ अर्ब ८९ करोडको पुगेको छ।
शुद्ध फलामे आयात बढ्नुले औद्योगिक क्रियाकलापमा सुधार आएको संकेत दिने व्यवसायीले बताएका छन्।
पछिल्लो दुई वर्ष नै उत्पादनमा उल्लेखनीय सुधार आएर पनि यो वर्ष धान चामलको आयात पनि बढेको छ।
गत वर्ष नौ महिनामा १० अर्ब ३८ करोडको धान आयात भएकोमा अहिले १८ अर्ब १६ करोड बराबरको पुगेको छ।
गत वर्ष नौ महिनामा ७ अर्ब २४ करोडको चामल आयात भएकोमा अहिले १३ अर्ब ७९ करोड बढेको छ। धानको आयात १६९ र चामलको ८८ प्रतिशतले आयात बढेको छ।
उत्पादनमा सुधार बढेको वर्ष नै यसरी आयात पनि बढ्नुले कच्चा पदार्थ र खाद्यान्नको रूपमा यसको प्रयोग बढेको देखिन्छ।
सम्बन्धित उद्योगीहरूले भने नेपालको उत्पादन तथ्यांक विश्वसनीय नभएको दाबी गर्छन्।
'हाम्रोमा धानको उपभोग ४० लाख मेट्रिक टन बराबर हो। तर ५० लाख मेट्रिक टन उत्पादन हुँदा पनि पुग्दैन भन्नुको अर्थ तथ्यांक सही छैन,' नेपाल दाल चामल उत्पादन संघका अध्यक्ष कुमुद दुगडले भने।
यद्यपि यो वर्ष मदिराको उत्पादन बढेको कारण पनि चामल आयातमा प्रभाव देखिएको सरोकारवालाको भनाइ छ।
सबैभन्दा धेरै आयात घट्ने ५ वस्तु
यो वर्ष आयात मूल्यको आधारमा डिजेल, गहुँ, कच्चा पामको तेल, फलामे पत्रु, हवाई जहाज तथा हेलिकप्टरको आयात घटेको देखिन्छ।
गत वर्ष नौ महिनामा एक खर्ब तीन अर्ब रूपैयाँ बराबरको डिजेल आयात भएको थियो। अहिले ९१ अर्ब रूपैयाँ बराबरको आयात भएको छ।
भन्सार तथ्यांक र नेपाल आयल निगमका अधिकारीहरूका अनुसार यो आयात घटेको नभई मूल्य घटेको हो।
परिमाणात्मक रूपमा यो वर्ष डिजेलको आयात ८ प्रतिशतले बढेको छ। तर गत वर्षको भन्दा मूल्य घटेपछि यसको प्रभाव आयात मूल्यमा देखिएको हो।
यता यो वर्ष धान चामलको आयात बढ्दा गहुँको आयात भने घटेको छ।
गत वर्ष नौ महिनामा ७ अर्ब ८० करोड रूपैयाँको गहुँ आयात भएको थियो। अहिले २६ करोड रूपैयाँ बराबरको मात्रै आयात भएको छ।
सूर्यमुखी र भटमास जस्तै पामको तेल पनि तेस्रो मुलुकबाट आयात गरेर भारत निर्यात गरिने गरेको छ। तर, भटमास र सूर्यमुखी तेलबाट व्यवसायीले उठाएको लाभ यो पटक पामबाट उठाउन सकेका छैन।
यस वर्ष पामको तेलको आयात घटेको छ। गत वर्ष नौ महिनामा नौ अर्ब ७५ करोड रूपैयाँ बराबरको आयात भएको थियो।
अहिले चार अर्ब १२ करोड रूपैयाँ बराबरको मात्रै आयात भएको छ। व्यवसायीहरूका अनुसार भन्सार दरबन्दीको विवादको कारण पामको आयात निर्यात घटेको छ।
शुद्ध फलामको आयात बढ्दा फलामे पत्रुको भने घटेको छ। फलामे सामान (रड, डन्डी) बनाउनु क्रममा पत्रु पनि मिसाउनु पर्ने हुन्छ।
तर, शुद्ध बढ्नु र पत्रु घटुको अर्थ नेपालमा रहेको यस्तो पत्रुको प्रयोग बढ्ने बताउँछन् सम्बन्धित व्यवसायीहरू।
गत वर्ष नौ महिनामा ७ अर्ब २३ करोड बराबरको फलामे पत्रुको आयात भएको थियो। अहिले एक अर्ब ८४ करोडको मात्रै आयात भएको छ।
यो वर्ष धेरै आयात घट्नेमा हवाइजहाज तथा हेलिकप्टर पनि रहेका छन्।
गत वर्ष नौ महिनामा ७ अर्ब ९३ करोड बराबरका १३ वटा यस्ता हेलिकप्टर तथा जहाज आयात भएको थियो। यो वर्ष जम्मा ५ वटा छ। जसको आयात मूल्य २ अर्ब ६५ करोड छ।
निर्यात उतारचढाव
गत वर्ष सबैभन्दा धेरै निर्यात बढ्नेमा फलामे पाता थियो। यो वर्ष सबैभन्दा बढी घट्ने मध्येको छ।
गत वर्ष सबैभन्दा धेरै निर्यात घट्नेमा भटमास तथा सूर्यमुखी तेल थियो। अहिले सबैभन्दा बढी बढ्नेमा छ।
चालु वर्षको नौ महिनाको अवधिमा भटमासको तेलको निर्यात ७५ गुणाले बढेको छ। यो अवधिमा ६२ अर्ब ६८ करोड रूपैयाँ बराबरको प्रशोधित भटमासको तेलको निर्यात भएको छ।
सूर्यमुखी तेलको निर्यात ५९ गुणाले बढेर नौ अर्ब २३ करोड पुगेको छ।
धागो निर्यात पनि २० प्रतिशतले बढेको छ। नौ महिनाको अवधिमा १० अर्ब ४४ करोड रूपैयाँ बराबरको धागो निर्यात भएको छ।
जुटबाट बुनिएका कपडाको निर्यात ३१ प्रतिशतले बढेर चार अर्ब २९ करोड रूपैयाँ बराबरको भएको छ।
त्यस्तै, चियाको निर्यात ४० प्रतिशतले बढेर तीन अर्ब ५७ करोड पुगेको छ।
यो वर्ष सबैभन्दा धेरै निर्यात घट्नेमा प्रशोधित पाम तेल, फलामे पाता, सिमेन्ट क्लिङकर, फलफूलको जुस र अदुवा सुठो रहेका छन्।
पाम तेल ६७ प्रतिशतले घटेर १ अर्ब ८३ करोड बराबरको निर्यात भएको छ।
फलामे पाता २१ प्रतिशतले घटेर ६ अर्ब ८१ करोड बराबरको मात्रै निर्यात भएको छ।
सिमेन्ट क्लिंकर ५६ प्रतिशतले घटेर ६४ करोड रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ।
फलफूलको जुस निर्यात ९ प्रतिशतले घटेर ५ अर्ब ७८ करोडको मात्रै निर्यात भएको छ।
त्यस्तै अदुवा तथा सुठो ५१ प्रतिशतले घटेर ५१ करोड बराबरको मात्रै निर्यात भएको छ।