ठूला करदाताको आयमा सुधारको संकेत देखिएको छ।
वार्षिक एक अर्ब रूपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताको कर प्रशासन गर्ने कार्यालय ठूला करदाता कार्यालयबाट संकलन हुने राजस्वमा देखिएको बढोत्तरीले यो संकेत देखाएको हो।
चैत महिनामा मात्रै यो कार्यालयले ३३ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको चैत महिनाको तुलनामा अहिले २२ प्रतिशतले राजस्व बढेको कार्यालयले जनाएको छ।
आयकर संकलनको लागि पुस, चैत र असार महिना महत्त्वपूर्ण मानिन्छ। आयकर ऐनको व्यवस्था अनुसार करदाताले पुस एक महिनामा सम्बन्धित आर्थिक वर्षमा हुनसक्ने आयको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत बुझाउनु पर्ने हुन्छ। त्यस्तै चैत र असारमा थप ३०/३० प्रतिशत कर बुझाउनु पर्ने हुन्छ।
पुसमा कम वा बढी आय हुने सक्ने अनुमान गरेर विवरण तथा कर बुझाएको अवस्थामा चैत वा असारमा यसलाई संशोधन गर्न सक्ने सुविधा पनि हुन्छ।
यस आधारमा पुसमा बुझाएको कर विवरणको तुलनामा केही कम्पनीहरूले बढी आय हुन सक्ने आधार देखाएर चैतमा कर बढाएका छन्। अहिले आयकरमा नै आएको सुधारको कारण महिनागत रूपमा २२ प्रतिशतको सुधार देखिएको ठूला करदाता कार्यालयमा प्रमुख कर प्रशासक रमेश अर्यालले बताए।
'राजस्व संकलनमा सुधार भएको छ। राजस्व बढ्नुले करदाताको आयमा सुधार आएको संकेत गरेको छ। यसले आर्थिक क्रियाकलाप बढेको तथा अर्थतन्त्र चलायमान हुँदै गएको प्रतिविम्बत गर्छ,' अर्यालले भने, 'अर्थतन्त्रमा सुधार हुँदैछ र देशमा उद्योग व्यवसाय फस्टाउने वातावरण बन्दै गएको छ भन्ने सन्देश अहिले उठेको करले पनि दिएको छ।'
अहिले ठूला करदाता कार्यालयले प्रशासन गर्ने करदाताहरू ५८५ रहेका छन्। यसमध्ये विशेषगरी दूरसञ्चार र विद्युत क्षेत्रबाट उठ्ने राजस्वमा कमी आए पनि अन्य क्षेत्रबाट पनि बढेको बताइएको छ।
चैतमा बैंकिङ क्षेत्रमा सुधार देखिएको छ। यद्यपि बैंकको ब्याजकर भने गत वर्षकोभन्दा निकै न्यून छ। ब्याजकर र विद्युत तथा दूरसञ्चार क्षेत्रको गत वर्ष बराबरको राजस्व उठेको भए चैतमा मात्रै ३६ अर्ब माथि कर उठ्ने ठूला करदाता कार्यालयका कर अधिकृतहरू बताउँछन्।
चैत महिनामा ठूला करदाताबाट उठ्ने राजस्वमा उल्लेखनीय सुधार देखिए पनि समग्र कर महिनागत रूपमा १ प्रतिशतले मात्रै बढेको छ। गत वर्ष चैत महिनामा समग्र राजस्व एक खर्ब नौ अर्ब रूपैयाँ संकलन भएको थियो। चालु वर्षमा एक खर्ब ११ अर्ब रूपैयाँ मात्रै भएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा भने ठूला करदाताहरू मार्फत एक खर्ब ७४ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ।
ठूला करदाता कार्यालयबाट गत वर्ष चैत महिनासम्म १ खर्ब ५७ अर्ब रूपैया राजस्व संकलन भएको थियो। यस हिसाबले भने गत वर्षको भन्दा ११ प्रतिशतको वृद्धिदर रहेको छ। तर, गत वर्ष बैंकको एफपिओ र बार्गेन पर्चेज आयको स्किमका कारण १३ अर्ब रूपैयाँ थप राजस्व संकलन भएको थियो।
यसले पनि यी ठूला करदाताको समग्र कारोबार र आयमा सुधारको संकेत देखाएको छ।
समग्र कर पनि करिब ९.१७ प्रतिशतले मात्रै बढेको छ। अर्थमन्त्रालयको तथ्यांक अनुसार साउनदेखि चैत महिनाको अवधिमा ८ खर्ब ४० अर्ब ९१ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ।
नौ महिनाको अवधिमा ब्याजकर बाहेकका सबै शीर्षकमा संकलन हुने कर अघिल्लो वर्षको तुलनामा बढेको छ।
ब्याजकर भने १६ प्रतिशतले कम छ। बैंकको ब्याजदर कम भएको कारण यसको प्रभाव देखिएको हो। ब्याजका कारण भएको आम्दानीमा ६.५ प्रतिशत कर लाग्ने गरेको छ।
गत वर्ष चैत मसान्तसम्म २८ अर्ब रूपैयाँ ब्याजकर संकलन भएकोमा अहिले २३ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ।
यो वर्ष अन्तशुल्क संकलनमा १८ प्रतिशतको वृद्धिदर र मूल्य अभिवृद्धि कर (भ्याट) १० प्रतिशतले बढेको छ।
यी कर सामान्यत: कारोबार र उत्पादनसँग प्रत्यक्ष जोडिएका हुन्छ। अघिल्ला महिनाहरूमा यस्तो कर उल्लेख्य बढे पनि चैत महिनामा भने कम देखिएको छ।
नौ महिनाको अवधिमा भन्सार महसुल १३.६१ प्रतिशतले बढेर एक खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यसले आयात सुधारको संकेत गर्छ। त्यस्तै निर्यात महसुल पनि १५४ प्रतिशतले बढेको छ।
मूल्य अभिवृद्धि कर दुई खर्ब ३९ अर्ब रूपैयाँ संकलन भएको छ। यसमा पनि आन्तरिक वस्तु बिक्रीमा लाग्ने भ्याट धेरै बढेको छ।
अन्तशुल्क एक खर्ब २३ अर्ब रूपैयाँ बढेको छ। आयातमा लाग्ने अन्तशुल्कको वृद्धि २० प्रतिशत माथिको छ।
आयकर जम्मा ५.६ प्रतिशतले बढेर दुई खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ। अन्तशुल्क, भ्याट तथा भन्सार महसुल बढ्ने र आयकर सोही गतिमा बढ्न नसक्नुले आर्थिक कारोबार बढेर पनि त्यसको प्रभाव आयमा नदेखिएको अर्थ लाग्छ।
यद्यपि ठूला करदाताले बुझाउने आयकर भने क्रमश: बढ्दै गएको छ।
समग्रमा चालु वर्षमा भन्सार विभाग मातहत संकलन हुने राजस्व गत वर्षको तुलनामा करिब ११ प्रतिशतले बढेर तीन खर्ब ३४ अर्ब रूपैयाँ पुगेको छ।
आन्तरिक राजस्व विभाग मातहत संकलन हुने राजस्व १०.७८ प्रतिशतले बढेर ४ खर्ब ८ अर्ब रूपैयाँ पुगेको छ। गैरकर राजस्व १३.४ प्रतिशतले बढेर ८७ अर्ब रूपैयाँ पुगेको छ।