लामो अन्तरालपछि गत साउनमा सरकारले संकलन गर्ने राजस्व र उपभोगमा केही सुधार देखिएको थियो।
त्यसपछिका महिनाहरू फेरि अस्वभाविक कमी देखिएपछि सरकारी निकाय छलफलमा जुटेको छ।
मंगलबार भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी, आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेबीच यस विषयमा छलफल भएको हो।
विगतमा पनि अस्वभाविक ढंगले आयात घट्दा वा अपेक्षित राजस्व संकलन नभएको अवस्थामा चुहावट तथा चोरी पैठारी भएको आशंकामा तीन निकायका संयन्त्रहरूबीच आपसी सहकार्य गर्न यसरी बैठक गर्ने गरिएको थियो।
भन्सार विभागका निर्देशक मुक्ती श्रेष्ठले चुहावट नियन्त्रणका साथै तीन निकायबीच कसरी समन्वय गर्ने भन्ने सवालमा छलफल भएको बताए।
एक आपसमा सूचना आदान-प्रदान गर्नुका साथै आवश्यक सहजीकरण गर्ने विषयमा छलफल भएको उनले बताए।
चालु वर्षको पहिलो महिना २० प्रतिशतले बढेको राजस्व, भदौसम्म १६ प्रतिशतमा झरेको थियो।
असोजसम्म भने गत वर्षको भन्दा १३ प्रतिशत मात्रै बढी उठेको छ। यस्तै गरी अन्तर्राष्ट्रिय व्यापारमा पनि कमी आएको देखिएको छ। यसले उपभोग घटेको वा अनौपचारिक कारोबार बढेको संकेत गर्छ।
लगातार दुई आर्थिक वर्ष घटेको आयात व्यापार चालु वर्षको पहिलो महिना गत वर्षको साउनमा भए बराबर भएको थियो।
भदौमा एक प्रतिशतले बढेको थियो। तर, चाडपर्वको कारण असोजमा आयात बढ्ने अपेक्षा विपरीत चार प्रतिशतले घटेको छ।