राजनीतिक दलहरूसँगको विवाद बढिरहेको झापाको मेचीनगरले सोमबार २ अर्ब ५ करोड २९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
सोमबार आयोजित नगर सभाको उद्घाटन कार्यक्रममा नगरका राजनीतिक दलका प्रतिनिधि, संघीय सांसद तथा प्रदेश सांसदहरूलाई खबर नगरिएको भन्दै नगरमा विवाद भएको थियो। नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले नगर सभाको उद्घाटन कार्यक्रममा राजनीतिक दल र सांसदहरूलाई खबर गर्नुपर्ने अडान राखेका थिए।
तर, लामो समयदेखि कांग्रेस सहितका अन्य पाँच दलको विरोध खेप्दै आएको मेचीनगरको नेतृत्वले ती कसैलाई पनि सभामा निमन्त्रणा गरेको थिएन।
‘राजनीतिक दलहरूले आलोचना गर्ने डरले नगर नेतृत्वले दलहरूलाई बायस्ड गर्यो’, मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङले भने, ‘त्यसैले हामी कांग्रेसका प्रतिनिधिहरूले नगरसभा नै बहिष्कार गर्यौं।’
मेयर गोपाल बुढाथोकी र उपमेयर मिना उप्रेतीले भने सभामा दलहरूलाई बोलाउने चलन नभएको भन्दै बोलाउन अस्वीकार गरेका थिए। कांग्रेस सहितका ५ वटा दलहरूले आइतबार मात्रै संयुक्त विज्ञप्ति जारी गर्दै नगर नेतृत्वले दम्भ प्रदर्शन गरेको, अनुगमनदेखि विकास आयोजना सम्मैका काममा बेवास्ता गरेको आरोप लगाएका थिए।
यसरी पाँच राजनीतिक दलको विरोध र कांग्रेसका जनप्रतिनिधिहरूको बहिष्कारका बीच मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको हो।
झापा १ मा पर्ने यो निर्वाचन क्षेत्रका दुई जना प्रदेश सांसदहरू कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङ र राप्रपा कोशीकी प्रमुख सचेतक सविना बजगाईं दुवै सांसद अनुपस्थित रहे। नगरपालिकाले दलहरूलाई बेवास्ता गरेको, बहुमतको दम्भ देखाएको भन्दै उनीहरू सभामा नगएको कांग्रेसले जनाएको छ।
नगरमा चालू खर्चतर्फ ७३ करोड ९६ लाख ९४ हजार रुपैयाँ, पुँजीगत खर्चतर्फ एक अर्ब ३१ करोड ७ लाख ८ हजार रुपैयाँ र वित्तीय भएको छ ।
आयतर्फ आन्तरिक आम्दानी १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरणतर्फ २४ करोड ९५ हजार रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ४७ करोड २८ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ ७५ करोड ५६ लाख रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ५० लाख रुपैयाँ र राजस्व बाँडफाँटतर्फ १७ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको बजेटमा उल्लेख छ।
यसैगरी, आयतर्फको कोशी प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ १ करोड ६३ लाख रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ८१ लाख ४४ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ र राजस्व बाँडफाँटतर्फ १ करोड ७० लाख रुपैयाँ, समपूरक अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ, मालपोत घर रजिस्ट्रेसनबाट ११ करोड रुपैयाँ र दहत्तरबहत्तरबाट ३ करोड प्राप्त हुने बजेटमा उल्लेख छ।