आर्थिक क्रियाकलापमा आएको सुस्तताको कारणले अर्थतन्त्रको आकार वृद्धिदरमा गत आर्थिक वर्षमा संकुचन आएको थियो। ८ प्रतिशतको वृद्धिदरको लक्ष्यमा जम्मा २ प्रतिशतको मात्रै प्राप्ति भयो। चालु आर्थिक वर्षमा अपेक्षित आर्थिक वृद्धिदरमा भने मौसम र पशु रोग बाधक बन्ने देखिएको छ।
चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ। अर्थतन्त्रमा आएको सुस्ततामा सुधार भई आर्थिक क्रियाकलाप बढे पनि चालु वर्ष मौसम र पशुपंक्षीमा लागेको रोग आर्थिक वृद्धिदरको बाधक बन्नसक्ने आँकलन छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २४.१ प्रतिशत रहेको छ। अर्थतन्त्र मापन गर्ने १८ वटा सूचकमध्ये एक चौथाइ योगदान गर्ने क्षेत्र कृषि क्षेत्रको योगदान घट्दा अन्य क्रियाकलाप सुधारको बाबजुद पनि अपेक्षित आर्थिक वृद्धि नहुने देखिएको हो।
यस वर्ष कृषिको उत्पादन घट्न सक्ने आँकलनका पछि दुई कारण छन्। पहिलो कारण समयमा मनसुन नहुनु र दोस्रो कारण धेरै पशुपंक्षीमा रोग देखिनु।
'अन्य आर्थिक क्रियाकलापमा सुधार देखिए पनि पशुमा बढेको लम्पी स्किन रोगको संक्रमण र समयमा मौसमको कारण समयमा रोपाइँ हुन सकेन यसको प्रभाव आर्थिक वृद्धिदरमा पर्ने देखिन्छ। अहिले नै के कति असर पुग्ला भन्ने अनुमान गर्न सकिएको छैन।' तथ्यांक कार्यालयका एक अधिकारीले भने।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यस वर्ष धान रोपाइँँ हुने क्षेत्रफल १६ हजार ९४० हेक्टरले घटेको छ। गत वर्ष १५ लाख ४ हजार ९ सय १० हेक्टर जमिनमा धान खेती भएको थियो। यस वर्ष १४ लाख ८८ हजार ४९ हेक्टरमा भएको छ।
'धानको उत्पादन बढ्ने नबढ्ने आधारका पछि धेरै कुरा जोडिएको हुन्छ जसमध्ये समयमा धान रोपाइँँ भयो वा भएन प्रमुख कारण हो,' महानिर्देशक केसीले भने 'अन्य परिस्थिति गत वर्षको जस्तै रहेमा भने यस वर्ष धानको उत्पादन र उत्पादकत्व घट्ने देखिन्छ।'
वर्षे धानको लागि सबैभन्दा उपयुक्त समय असार मानिन्छ। यस वर्ष असारमा जम्मा ४७ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँँ भएको थियो। जबकि गत वर्ष यो समयमा ६५ प्रतिशत क्षेत्रमा धान रोपाइँँ भएको थियो।
भदौ १५ गतेसम्म आइपुग्दा करिब गत वर्ष बराबरको धान रोपाइँ भए पनि पछि रोपाइँ भएको धानको उत्पादकत्व घट्ने कृषि विज्ञहरूको भनाइ छ। समग्र अर्थतन्त्रको आधारमा धानको मात्रै चार प्रतिशत योगदान भएको कारण यसको असर आर्थिक वृद्धिदरमा प्रमुख रूपमा देखिन्छ।
यस वर्ष पशुको उत्पादन पनि घट्न सक्ने आँकलन गरिएको छ। पशु सेवा विभागका अनुसार लम्पी स्किन रोगको कारण देशभर साढे ५२ हजार बढी पशु मरेका छन्। १६ लाख बढी पशु संक्रमित भएका छन्। यसको बहुआयामिक प्रभाव पर्ने भएको कारण उत्पादनमा ठूलो असर पर्ने सक्ने पशु विभागका निर्देशक डा. चन्द्रप्रसाद ढकाल बताउँछन्।
'यति असर देखिएला भनेर आँकलन गर्न सकिएन तर मरेको विवरण एउटा हो। संक्रमणको कारण पनि उत्पादनमा ठूलो असर पर्छ, यस विषयमा कृषि अनुसन्धान परिषद (नार्क)ले अध्ययन पनि गरिरहेको छ,' ढकालले भने।
लम्पी स्किनको कारण पशुले दूध कम दिने, प्रजनन क्षमता घट्ने तथा आयु घट्ने जस्ता समस्याहरू देखा पर्न सक्ने उनको भनाइ छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार समग्र अर्थतन्त्रमा पशुको योगदान मात्रै पाँच प्रतिशत र कृषि क्षेत्रमा पशुको योगदान २५ प्रतिशत रहेको छ। त्यस्तै बंगुरमा लागेको रोगको कारणले गर्दा पनि असर गर्ने देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक इश्वरी भण्डारीले भने कतिपय वर्षहरूमा वर्षे बालीमा कमी हुँदा हिउँदे बाली बढ्ने गरेको बताउँदै अहिले नै यस विषयमा धारणा दिन नसकिने बताउँछन्।
'वर्षे बाली कम भएको वर्षमा हिउँदै बढेको पनि पाइन्छ, विगतमा केही आर्थिक वर्षमा यस्तै पनि देखिएको छ,' भण्डारीले भने, 'तर यस वर्ष वर्षे बालीको उत्पादन भने घट्न सक्ने अनुमान छ।'