एक जोर जुत्ताको मूल्य कति पर्ला?
जुत्ता-चप्पल व्यवसायीहरूका अनुसार न्यूनतम पाँच/छ सय रूपैयाँदेखि अधिकमत १८/२० हजार रूपैयाँ पर्ने जुत्ता बजारमा बिक्री भइरहेका छन्।
'नेपाली जुत्ताको मूल्य तुलनात्मक रूपमा सस्तो छ। महँगो र ब्रान्डेड जुत्तामा हामी विदेशी बजारको भर परेका छौं,' नेपाल जुत्ता चप्पल उत्पादक संघका उपाध्यक्ष रूद्र न्यौपानले भने, 'छ/सात हजारभन्दा महँगो जुत्ता सबै आयातीत नै छ।'
तर भन्सार विभागको तथ्यांकले भने नेपाली जुत्ताको तुलनामा आयातीत जुत्ता निकै सस्तो देखाएको छ। गत वर्षको ६ महिनामा आयात भएको जुत्ताको संख्यामा केन्द्रित भएर गरिएको अध्ययनले यस्तो पुष्टि गरेको हाे।
न्यूनतम एक सय रूपैयाँभन्दा कम मूल्यमा समेत जुत्ता आयात भएको तथ्यांकले देखाएको छ। प्रतिजोर दुई सयदेखि पाँच सय रूपैयाँ पर्ने जुत्ताकाे हिस्सा ७६ प्रतिशत देखिएको छ।
अध्ययन समयसम्म आयात गरिएका एक करोड ११ लाख ९७ हजार जुत्तामध्ये २६ हजार जोर जुत्ता एक सयभन्दा कम मूल्यमा आयात भएको छ।
करिब ६७ हजार जोर जुत्ता प्रतिजोर एक सयदेखि दुई सय रूपैयाँ मूल्यको आयात भएको छ। अर्थात, ढुवानी र नाफाको रकम राखेर पनि यी जुत्ता अधिकतम साढे दुईसय रूपैयाँमा बिक्री हुनपर्ने हुन्छ।
तर आयात भएको एक करोड १२ लाख जुत्तामध्ये ८६ लाख ११ हजार जोर जुत्ताको भन्सार मूल्य दुई सयदेखि पाँच सय रूपैयाँ छ। पाँच रूपैयाँभन्दा माथिको जुत्ताको आयात जम्मा २२ प्रतिशत छ। अध्ययन अवधिमा यस्तो जुत्ता करिब २५ लाख जोर मात्रै आयात भएको छ।
७८ प्रतिशत जुत्ता पाँच सय रूपैयाँभन्दा कम मूल्यको आयात भएको भन्सार तथ्यांकमा देखिएको छ।
भन्सार विभागको आयात तथ्यांकमा घोषणा गरिएको आयात मूल्य र आयात गरिएको जुत्ताको वास्तविक बजार मूल्यबीचको अन्तर ठूलो रहेको अध्ययन प्रतिवेदनको निचोड छ।
'यसले अन्डर–बिलिङको दाबीलाई प्रमाणित गर्दछ। पर्याप्त बजार अवसरको अभाव, अस्वस्थकर प्रतिस्पर्धा, कम लागतको उत्पादनको बजारीकरणकाे अभाव तथा सीमित सरकारी सहयोग, कच्चा पदार्थको मूल्यमा वृद्धि र बढ्दो उत्पादन लागतले नेपाली उद्योगहरूलाई नराम्रो असर गरेको छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ।
नेपालको जुत्ता उद्योगमा कर छली र अवैध व्यापार अभ्यास बढेको दाबी प्रतिवेदनमा गरिएको छ।
'कर छल्न व्यापारीहरूले जानाजानी आयातीत वस्तुको मूल्य घटाएर राजस्व संकलनमा कमी ल्याउने गरेको पाइएको छ,' प्रतिवेदनमा भनिएको छ।
कतिपय व्यापारीहरूले भन्सार प्रशासनले कारोबार मूल्यलाई आधार नमानेर सन्दर्भ मूल्यलाई आधार मान्दा समस्या भएको बताउँछन्। धेरै मूल्य घटाएर मूल्य घोषणा गर्न सक्ने आधारमा भन्सार विभागमा हरेक वस्तुको सन्दर्भ मूल्य तोकिएको हुन्छ। तर मूल्य अधिक न्यून हुने कारणले त्यही मूल्यलाई आधार बनाएर सामान ल्याउने नेपाल जुत्ता उत्पादक संघका पूर्व अध्यक्ष होमनाथ उपाध्यय बताउँछन्।
अध्ययन प्रतिवेदनले प्रतिपत्रमा उल्लेख गरिएको मूल्यको आधारमा पनि जुत्ता चप्पलको आधार मूल्य न्यून रहेको देखिएको छ।
'एलसी र टिटीमार्फत जारी भएको मूल्यमा एक जोर जुत्ताको स्वदेशी मूल्य एक हजार रहेको चार सयभन्दा कम मूल्यांकन भएको छ,' उनले भने।
अध्ययनमा संलग्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव श्रीधर गौतमले भन्सार मूल्य, त्यस्तो वस्तुको विदेशी बजारको मूल्य र नेपाली बजारको मूल्य सबैमा अस्वाभाविक अन्तर देखिएको कारणले पनि यस विषयमा अध्ययन गर्न आवश्यक रहेको बताए।
'चोरी तथा तस्करीको लागि केन्द्रविन्दु भयो नेपाल!'
जुत्ता-चप्पल उत्पादकहरूले न्यून मूल्य तोकेर आयात मात्रै नभइ धेरै जुत्ता चप्पलको भन्सार छलेर (चोरी तस्कारी भएको) आयात भएको भन्दै नियन्त्रण गर्न आग्रह गरेका थिए।
सरकारको तर्फबाट गरिएको अध्ययनले पनि यहि निचोड निकालेको छ।
'नेपाल र भारतबीचको खुला सिमाना संगठित तस्करीका गतिविधिहरू विशेषगरी जुत्ता तथा चप्पल चोरी तथा तस्करीका लागि केन्द्रविन्दु बनेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूले निम्न वर्गका स्थानीयहरूलाई आफ्नो अवैध कार्य सञ्चालन गर्न प्रेरित गर्छन्। जसका कारण जिल्लामा चोरीका घटना बढ्दै गएको छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ।
वार्षिक अनुमानित दुई करोड जोर जुत्ता र चप्पलहरू चोरी भएको अनुमान प्रतिवेदनमा गरिएको छ। यस अधारमा सरकारले उठाउन सक्ने करिब ६ अर्ब रूपैयाँ राजस्व गुमेको छ।
चोरीका जुत्ताका सवाल अध्ययन प्रतिवेदनको यस्तो छ निचोड
यस व्यापक तस्करीको असर लगभग हरेक जुत्ता पसलहरूमा देख्न सकिन्छ जहाँ भारतीय जुत्ताहरू सजिलै उपलब्ध छन्।
जुत्ता र चप्पलसँग सम्बन्धित गैरकानुनी गतिविधिमा व्यक्ति मात्र नभई नेपाल र भारतका व्यापारीहरू पनि यस चोरीमा संलग्न छन्। यी व्यवसायीहरूले सरकारी निगरानीको छल गरी यी चोरीका सामानहरू उधारोमा सीमा नजिक रहेका नेपाली बजारमा पुर्याउँछन्।
सरकारी संयन्त्रसँग मिलेर तिनीहरूले उधारोमा वा भुक्तानी संकलन गरी आफ्नो नाफा सुरक्षित गर्छन्।
चोरीका सामानहरू आकर्षक मूल्यमा उपलब्ध हुँदा स्थानीय जुत्ता बिक्रेताहरू पनि चोरीमा सामान लिन लालायित हुन्छन्।
यो पनि पढ्नुस्:
उकालो-ओरालो गर्दै ४० वर्षमा कहाँ पुग्यो नेपाली जुत्ता?