हरेक वर्ष नेपाल र चीनबीच हुने अन्तर्राष्ट्रिय व्यापारमा कमी आउन थालेको छ। सरकारले व्यापारको विविधीकरण गर्ने रणनीति तयार गरे पनि छिमेकी देश भारतको हिस्सा लगातार बढ्दै र चीनको घट्दै गएको छ।
गत आर्थिक वर्षमा २०७९/८० मा नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारमा १३ प्रतिशतले कमी आएको छ।
आर्थिक वर्ष २०७८/७९ मा नेपाल र चीनबीच दुई खर्ब ६५ अर्बको अन्तर्राष्ट्रिय व्यापार भएकोमा २०७९/८० मा दुई खर्ब ३२ अर्ब रूपैयाँको मात्रै भएको छ।
यो पछिल्लो तीन वर्षयताकै न्यून हो। आर्थिक वर्ष २०७७/७८ मा तीन खर्ब ३३ अर्बको अन्तर्राष्ट्रिय व्यापार भएको थियो।
गत वर्ष भएको नेपालको कुल व्यापारमा चीनको हिस्सा ७.५२ प्रतिशत छ। गत वर्ष नेपालले १७ खर्ब ६८ अर्बको अन्तर्राष्ट्रिय व्यापार गरेको थियो। यसै समयमा भारतसँग भने ६४.१४ प्रतिशत हिस्सा थियो।
भारतीय नाकाबन्दी र भूकम्पपछिकाे वर्ष जम्मा व्यापारमा भारतको हिस्सा ६१ प्रतिशत थियो भने चीनको हिस्सा १३ प्रतिशत थियो। २०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि अन्य देशसँग व्यापार विविधीकरणको मुद्दा जोडतोडका साथ उठेको थियो।
तर अहिले पुन: भारतको हिस्सा बढ्दै गएको छ। चीनको हिस्सा घट्दै गएको छ। अन्य देशहरूसँग व्यापार हरेक वर्ष बढ्दै गएको भए पनि चीनसँग भने घट्दैछ।
व्यापार घटेर पनि भारतपछि सबैभन्दा बढी आयात चीनबाट नै भएको छ। तर, निर्यात भने नगन्य मात्रै छ। गत वर्ष एक खर्ब ५७ अर्बको निर्यातमा एक अर्ब ७६ अर्ब रूपैयाँको मात्रै चीनमा निर्यात भएको छ। निर्यातमा चीनको हिस्सा ०.७ प्रतिशत पुगेको छ।
पछिल्लो नौ वर्षमा नेपाल चीन व्यापार
नेपाल-चीन व्यापार |
वर्ष | आयात | निर्यात | व्यापारमा निर्यातको योगदान प्रतिशतमा |
२०७०/७१ | १ खर्ब १६ अर्ब ११ करोड | १ अर्ब ९६ करोड | २ |
२०७४/७५ | १ खर्ब ५९ अर्ब ९८ करोड | २ अर्ब ४७ करोड | १.५ |
२०७५/७६ | २ खर्ब ५ अर्ब ५१ करोड | २ अर्ब १० करोड | १.०१ |
२०७६/७७ | १ खर्ब ८१ करोड ९२ लाख | १ अर्ब १९ करोड | १.०३ |
२०७७/७८ | २ खर्ब ३३ अर्ब ९२ करोड | १ अर्ब १ करोड ६० लाख | ०.४ |
२०७८/७९ | २ खर्ब ६४ अर्ब ७८ करोड | ८० करोड ८७ लाख | ०.३ |
२०७९/८० | २ खर्ब २२ अर्ब ७१ करोड | १ अर्ब ७६ करोड ५७ लाख | ०.७ |
आर्थिक वर्ष २०७१/०७२ मा भएको वार्षिक व्यापार हेर्ने हो भने ४५ गुणा बढी असन्तुलन थियो। त्यस आर्थिक वर्षमा १ खर्ब १ अर्ब रुपैयाँको व्यापार भएकोमा २ अर्ब ६ करोड रूपैयाँको निर्यात भयो। ९९ अर्ब २८ करोड रुपैयाँको आयात भयो। यस हिसाबले निर्यात भएको वस्तुको रकमको तुलनामा आएको वस्तुको रकम ४५ गुणा बढी देखिन्छ।
समग्र व्यापारमा निर्यातको हिस्सा २ प्रतिशतसम्म पुगेको देखिन्छ। तर, आर्थिक वर्ष २०७२/०७३ पछि नेपालको चीनसँग व्यापार बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाउँछ। असन्तुलनको खाडल पनि बढ्दै गएको देखिएको छ।
गत आर्थिक वर्षसम्म समग्र व्यापारमा निर्यातको हिस्सा ०.७ प्रतिशतमा सीमित रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ।
किन घट्दो छ नेपाल र चीनको व्यापार?
व्यापार विज्ञ पुरूषाेत्तम ओझा नेपाल र चीनबीच व्यापार घट्दै जानुको मुख्य कारण भारतसँगको व्यापार सहजीकरण भएको बताउँछन्।
'कुनै एक देशसँग सहज व्यापार भयो भने अर्को देशसँग यसको प्रभाव हुने हो, भारतसँग खुला सिमाना छ, कनेक्टिभिटी राम्रो छ,' ओझाले भने, 'भारत-नेपाल व्यापार सन्धिको कारणले गर्दा पनि भारतसँग व्यापार बढ्दै छ चीनसँग कम भएको छ।'
चीनसँग घट्नुको कारण भने महँगो मुद्रा रहेको उनी बताउँछन्। पछिल्लो १० वर्षमा नेपाली मुद्राको तुलनामा चिनियाँ मुद्रा २९ प्रतिशतले बढेको छ। भारतीय मुद्रा भने तीन दशकदेखि १६० रूपैयाँमा नै काम भइरहेको छ।
त्यस्तै, चीनको यातायात सञ्चालनको कारण पनि नेपाल-चीन व्यापार कम भएको उनको तर्क छ। चीनसँग मुख्य रूपमा तातोपानी र रसुवा भन्सार नाकाबाट कारोबार हुने गरे पनि २०७२ पछि विभिन्न बाहानामा यी नाकामा अवरोध भइरहेको छ।
यसले नेपाल-चीन व्यापार निरन्तर घट्दै गएको छ भने भारत र नेपालकाे व्यापार बढ्दै गएको छ।