तीन महिनादेखि बेलायतको एक विश्वविद्यालयमा पढिरहँदा मलाई एकदमै महत्त्वपूर्ण लागेको पक्ष हो, यहाँको 'पर्सनल ट्युटरिङ' प्रणाली।
बेलायतका अधिकांश विश्वविद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सफलतामा सहयोग गर्न पर्सनल ट्युटरको व्यवस्था गरिने रहेछ।
नेपालमा पनि कतिपय शैक्षिक संस्थामा विद्यार्थीको विकासमा सहयोग गर्ने उद्देश्यले केही संरचना बनेको देखेको छु। कतिपय शैक्षिक संस्थामा विद्यार्थीलाई सहयोग गर्ने संरचना नभए पनि शिक्षकहरूले आफ्नै पहलमा सहयोग गरेको पनि देखेको छु।
तर बेलायतले संस्थागत गरेको विद्यार्थीलाई सहयोग गर्ने प्रणाली मलाई पृथक, बृहत् र प्रेरणादायी लागेको छ। यस्तो प्रणालीले विद्यार्थीहरूको पढाइ मात्र होइन आत्मबल, स्वास्थ्य, करिअर र समग्र सिकाइ यात्रामा महत्त्वपूर्ण भूमिका खेल्छ।
यस लेखमा पर्सनल ट्युटरिङ प्रणालीबारे केही अवलोकन प्रस्तुत गर्दैछु।
बेलायतका विश्वविद्यालयमा पर्सनल ट्युटरिङको प्रणाली एक अभिन्न र महत्त्वपूर्ण अंग हो। हरेक विद्यार्थीहरूको शैक्षिक यात्रालाई मार्गनिर्देश गर्न कुनै एक प्राध्यापकलाई पर्सनल ट्युटर तोकिन्छ।
यो भूमिका कुनै विषयको प्राध्यापक वा सुपरभाइजरको भन्दा फरक हुन्छ। विद्यार्थीहरूको सर्वांगीण विकासलाई बाधा गर्ने पक्षहरू पहिचान गरेर समाधान सहजीकरण गर्ने दायित्व पर्सनल ट्युटरको हो।
बाधा गर्ने पक्षहरू जुनसुकै हुन सक्छन्— शारीरिक र मानसिक स्वास्थ्य, आर्थिक दबाब र तनाव, विश्वविद्यालयमा घुलमिल हुन भइरहेको कठिनाइ, आदि।
उनीहरूले विद्यार्थीको स्वास्थ्य, शैक्षिक प्रगति र अनुभव नजिकबाट अवलोकन र निगरानी गर्छन्। विश्वविद्यालयका विभिन्न प्रक्रियामा विद्यार्थीलाई सल्लाह र सुझाव दिन्छन्। अनि, विद्यार्थीको हरेक सवाल र सरोकारका लागि सम्पर्क व्यक्ति हुन्छन्।
विश्वविद्यालय आइपुग्नु अगाडि नै मैले मेरो पर्सनल ट्युटरको इमेल पाएको थिएँ। विद्यार्थीहरूको रूचि, अनुभव र अध्ययन गर्न लागेको विषयको आधारमा पर्सनल ट्युटर तोकिन्छ। विश्वविद्यालयले मेरा लागि शैक्षिक नेतृत्व र शिक्षकको विकासमा अनुसन्धान र काम गरिरहेकी एक प्राध्यापक तोकेको थियो।
विश्वविद्यालय पुगेको पहिलो साता पर्सनल ट्युटरसँग भेट भयो। उनले गरेको सहजतापूर्ण व्यवहारबाट म आश्चर्यकित भएँ। विश्वविद्यालयमा भर्नाको लागि आवेदनको प्रक्रियामा मैले लेखेको निबन्ध, त्यहाँ प्रस्तुत गरेको अनुभव र मेरा रूचिहरू उनलाई सबै अवगत थियो। गुगलमा मेरो नाम खोज्दा भेटिने विवरणबारे उनी जानकार थिइन्।
विद्यार्थीलाई बुझ्नका लागि भेट्नु अगाडि नै उनले गरेको मेहनतबाट म चकित भएँ।
पहिलो भेटमा पर्सनल ट्युटरले आफ्नो पृष्ठभूमि बताइन् — उनको अध्ययन र अध्यापनको यात्राले कसरी आकार लिँदै आयो, उनको अध्ययन र अध्यापनका रूचि, पारिवारिक र पेसागत जिम्मेवारीको सम्बन्ध र आयामहरू, आदि।
उनले मलाई पनि केही प्रश्न सोधेर ध्यानपूर्वक सुनिन् — मेरो जीवनको लक्ष्य के हो? शैक्षिक कार्यक्रमबाट मैले के सिक्न खोजेको हो? बेलायत र विश्वविद्यालयबाट मेरो अपेक्षा के हो? अध्ययन बाहेक मलाई के गर्न मन छ? आफू खुसी हुन के गर्छु? यहाँ घुलमिल हुन केही समस्या भएको छ कि?
मेरा कुरा सुनेपछि उनले केही सुझाव दिइन्, 'हाम्रो पाठ्यवस्तुहरू विशेष गरी बेलायतको पृष्ठभूमिमा डिजाइन भएका छन्। हरेक कक्षामा व्यक्तिगत र आफ्नो देशको अनुभव ल्याउन नहिचकिचाऊ। बेलायतमा हुर्के, बढेका हामीसँग आफ्नै पूर्वाग्रह हुन सक्छन्। हाम्रो दृष्टिकोण फराकिलो नहुन सक्छ। त्यस्तो देख्यौ भने खुलेर हामीप्रति आलोचना गर, चुनौती देऊ। यो हामी सबैको सिकाइ यात्रा हो।'
पहिलो भेटको अन्तिममा उनले मलाई भनेको कुराले भावुक बनायो र प्रेरणादायी पनि लाग्यो।
उनले भनिन्, 'तिमीलाई केही कठिनाइ भयो भने लुकाएर नबस। हरेक कठिनाइ म एक्लैले झेल्नुपर्छ भनेर नसोच। हामीलाई भन। मिलेर समाधान खोजौंला। आफू एक्लै तड्पिएर नबस। जुनसुकै र जस्तो सुकै समस्या भए पनि सुनाउन नहिचकिचाऊ। दुःख बाँड। हाम्रो लागि तिम्रो स्वास्थ्य र खुसी महत्त्वपूर्ण हो। यसको लागि के गर्नुपर्छ, विश्वविद्यालय तयार छ।'
उनले थपिन्, 'यो सोध्नु हुन्छ कि हुँदैन भनेर अन्योलमा नबस। तिम्रो मनमा आउने हरेक कुरा कुनै पूर्वाग्रहबिना सुन्न हामी तयार छौं। हामीबारे केही कुरा चित्त बुझेन, अध्यापन चित्त बुझेन, सबै भन।'
विद्यार्थीहरूले आफू सक्रिय भएर कति ठाउँमा सहयोग माग्लान्, त्यो आफ्नो ठाउँमा छ। तर विश्वविद्यालयले तयार गरेको यस्तो वातावरण देखेर म दंग परेँ।
मैले सुनेको थिएँ — बेलायतको विकास र लोकतन्त्रको मेरूदण्ड यहाँका विश्वविद्यालय हुन्।
पर्सनल ट्युटरसँगको पहिलो भेटमा मैले त्यो महसुस गरिरहेको थिएँ, विश्वविद्यालय आफैले लोकतन्त्रको मूल्य र मान्यताको गज्जबसँग अभ्यास गर्ने रहेछन्।
पर्सनल ट्युटर र विद्यार्थीबीच केही अनिवार्य भेट हुन्छन् भने बाँकी विद्यार्थीको सक्रियतामा भरपर्छ। विद्यार्थीले आफूलाई आवश्यक परेका बेला सम्पर्क गरे उनीहरू सहजै उपलब्ध भइदिन्छन्।
केही अनिवार्य भेटपछि मैले पर्सनल ट्युटरलाई आफैले सम्पर्क गरेँ। मैले आफूलाई पाठ्यक्रम बाहिर गएर केही कुरा बुझ्न रहर लागेको बताएँ। उनले मलाई स्थानीय विद्यालय र सिटी काउन्सिलका प्रतिनिधिसँग जोडिदिइन्। एक जनालाई त विश्वविद्यालयमै बोलाएर मसँग अन्तरक्रिया गर्न लगाइन्।
आफ्नो र सहपाठीहरूको अनुभवबाट मैले देखेँ, विश्वविद्यालयले जे बाचा गर्छ, त्यो पूरा गर्ने रहेछ। नसकिने कुरा नबोल्ने रहेछ। आफूले बोल्ने र गर्ने कुराको जिम्मेवारीबोध गर्नु सायद लोकतन्त्र सुदृढ भएको प्रमाण हो।
पहिलो असाइन्मेन्टमा हामीले प्राध्यापकहरूबाट पृष्ठपोषण पायौं। पृष्ठपोषण करिब ८ सय शब्दको थियो।
त्यो पृष्ठपोषणबारे कुरा गर्न पर्सनल ट्युटरले फेरि बोलाइन्। विस्तृतमा कुरा गरिन्। पृष्ठपोषणबारे बुझाइन्।
आफ्नो लेखनमा त्यसरी पृष्ठपोषण कहिल्यै पाएको थिइनँ। मैले प्राज्ञिक लेखनमा आफूलाई लागेको चुनौतीहरू बताएँ। उनले मलाई विस्तृतमा सल्लाह र सुझाव दिइन्।
हरेक पटक भेट्दा उनी सोधिरहन्छिन्, 'नेपालमा तिम्रो परिवारलाई ठीकै छ नि? कुरा गरिरहेको छौ नि?'
दुई महिना अगाडि मेरो अनुहार मलिन देखेर उनले मलाई सोधिन्, 'तिमीलाई ठीक छ?'
दसैंमा देश बाहिर भएको यो नै पहिलो पटक थियो। आफ्नो परिवारको सम्झनाले सताइरहेको थियो।
मैले यो कुरा बताएँ।
उनले सोधिन्, 'तिमीलाई घर मिस हुन नदिन वा त्यो उत्सव मनाउन हामी यहाँ केही गर्न सक्छौं?'
हुन त, मैले केही पनि पर्दैन भनेँ तर त्यो व्यवहारले मेरो मन छोएको थियो। हरेक विद्यार्थीहरूको आवश्यकता विश्वविद्यालयले कसरी सम्मान गर्ने रहेछ भन्ने लागिरहेको थियो।
पर्सनल ट्युटरसँग आफ्नो र सहपाठीहरूको अनुभव बुझ्दै गर्दा लागिरहेको छ — पर्सनल ट्युटरको भूमिका प्रशासनिक मात्र होइन रहेछ। विश्वविद्यालयको प्रणालीमा विद्यार्थीहरू कतै नहराऊन् र सहज महसुस गरून् भन्ने उद्देश्यले परिकल्पना गरिएको रहेछ।
यो प्रणालीले उच्च शिक्षामा बेलायतको विद्यार्थी केन्द्रित दर्शन प्रतिबिम्बन गरेको छ। यो प्रणालीले शैक्षिक उपलब्धि शारीरिक र मानसिक स्वास्थ्य, अपेक्षाको स्पष्टता र भावनात्मक सहयोगबाट फरक हुन सक्दैन भन्ने कुरा स्वीकार गर्छ।
पर्सनल ट्युटरहरूले नियमित रूपमा सम्पर्क राख्ने मात्र होइन, शैक्षिक वा व्यक्तिगत तनावका प्रारम्भिक संकेतहरू पहिचान गर्न तालिमसमेत प्राप्त गरेका हुन्छन्।
नेपालको उच्च शिक्षासँग तुलना गर्दा
हुन त नेपालको उच्च शिक्षाको परिदृश्य विविध छ तर शैक्षिक संस्थाहरूले विद्यार्थीलाई व्यक्तिगत रूपमा गर्ने सहयोग सीमित छ। शैक्षिक संस्थाले गर्ने सहयोग मूलतः पाठ्यवस्तु बुझ्नमा केन्द्रीत देखिन्छ।
विद्यार्थीलाई गरिने मार्गदर्शन पनि अनौपचारिक छ— यो मूलतः शिक्षक र विद्यार्थी बीचको सम्बन्धमा निर्भर गर्छ। धेरै विद्यार्थीले कक्षाकोठा बाहिर आफ्ना प्राध्यापकसँग संवाद नै नगरी डिग्री सकेको देखिन्छ। प्राध्यापकसँग खुला रूपमा शैक्षिक र व्यक्तिगत चुनौती छलफल गर्ने चलन देखिँदैन।
कतिपय शिक्षकले विद्यार्थीको ख्याल गरे पनि शैक्षिक प्रक्रियामा उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यलाई खासै महत्त्व दिइँदैन। तनाव, समय व्यवस्थापन, शैक्षिक दुविधा वा मानसिक स्वास्थ्य सम्बन्धी सरोकारहरू औपचारिक प्रक्रियाबाट कमै सम्बोधन हुन्छन्। विद्यार्थीहरूले आफ्नो समस्याको समाधान आफै मात्र खोज्नुपर्ने अपेक्षा राखिन्छ।
कतिपय प्रारम्भिक चरणमै पहिचान भएर सम्बोधन हुन सक्ने सामान्य समस्याहरू समाधान नहुँदा जटिल बनेका देखिन्छन्। अनि, सम्बोधन नहुँदा तिनै साना साना समस्या विद्यार्थीको सिकाइ र प्रगतिमा बाधा बन्छन्।
नेपालको उच्च शिक्षाका आफ्नै संरचनागत चुनौती छन्। अपवाद छाडेर सार्वजनिक शैक्षिक संस्थाहरू सामान्य गुणस्तरमा पनि संघर्ष गरिरहेका देखिन्छन्।
उनीहरू स्रोत र साधनको सीमिततासँग जुधिरहेका छन्। अपवाद छाडेर निजी संस्थाहरू पनि नाफा बढाउने दौडमा छन्। आफ्नो शैक्षिक संस्थामा शिक्षक, शिक्षण प्रणाली र गुणस्तर प्रवर्द्धन गर्दै जानेभन्दा पनि आफ्नो व्यवसाय विस्तार गर्दै लैजाने ध्याउन्नमा छन्। धेरै शैक्षिक संस्थामा पर्याप्त पूर्णकालीन प्राध्यापक छैनन्।
यो यथार्थ हो, हामीकहाँ कतिपय नीतिगत तहबाट हुनुपर्ने सुधारहरू छन्। तर यहीबीच पनि शैक्षिक संस्थाहरूले विद्यार्थीको समग्र विकासमा सहयोग गर्ने संरचना बनाउन सकिन्छ कि?
शैक्षिक संस्थालाई 'सेवा' माने पनि वा 'व्यवसाय' माने पनि, विद्यार्थी उपभोक्ता हुन्, लाभान्वित हुने समूह हुन्। विद्यार्थीको उपलब्धि र सफलता नै शैक्षिक संस्थाको गुणस्तरको मानक हो।
विद्यार्थीको उपलब्धि शैक्षिक संस्थामा उनीहरूको अनुभवले निर्धारण गर्छ। उनीहरू शैक्षिक संस्थामा अनेक अनुभव र कथा बोकेर आउँछन्। विभिन्न चुनौती, तनाव र दबाबसँगै आउँछन्। जीवनका जटिलतासँग लडिरहेका हुन्छन्। अध्ययन जीवनको एउटा पाटो हो, जीवनका अन्य भूमिकाहरूमा उनीहरूले संघर्ष गरिरहेका हुन सक्छन्।
यस्तो अवस्थामा शैक्षिक संस्थाले विद्यार्थीलाई मार्गनिर्देश वा सहजीकरण गरिदिन सक्छन् कि? उनीहरूले भोगिरहेको समस्या समाधान गर्नु पनि सिकाइको एउटा पक्ष हो भन्ने स्वीकार गरेर त्यस्तो समस्या सम्बोधन गर्न सिकाइदिन सक्छन् कि?
बेलायतको जस्तो नेपालका शैक्षिक संस्थाले प्रत्येक विद्यार्थीका लागि व्यक्तिगत ट्युटर उपलब्ध गराउन नसक्लान्, तर समूहमा आधारित मेन्टरिङ प्रणाली लागू गर्न सकिन्छ।
उदाहरणका लागि, एक शिक्षकले प्रतिवर्ष १५–२५ विद्यार्थीलाई मेन्टरिङ गर्न सक्छन्।
यसबाट शैक्षिक संस्थाले विद्यार्थीलाई शैक्षिक दबाब वा व्यक्तिगत चुनौतीबारे कुरा गर्न सुरक्षित वातावरण सिर्जना गर्न सक्छन्। सहयोग माग्नुलाई कमजोरी मानिने हाम्रो समाजमा परेका बेला सहयोग माग्नुपर्छ भन्ने भावना प्रवर्द्धन गर्न सक्छन्।
विद्यार्थीहरूबारे भएका विभिन्न अनुसन्धानले देखाएका छन् — विद्यार्थीहरू क्षमता नभएर होइन, सही मार्गदर्शन नपाएर असफल हुन्छन्।
म आफ्ना ती साथीहरूलाई सम्झिरहेको छु, जसले पढाइका दबाब झेल्न सकेनन् र पढाइ छाडे। सहयोग नपाएर पढाइ छाडे। नयाँ सहर र नयाँ परिवेशमा चुनौतीसँग सामना गर्न नसकेर ड्रप–आउट भए।
शिक्षकको अलिकति मार्गदर्शनले उनीहरूको कथा नै परिवर्तन गर्न सक्थ्यो।
शिक्षकको सानो भरोसा र सहयोगले विद्यार्थीको जीवन नै रूपान्तरण भएको हामीले देखेका छौं।
मैले दुई विद्यार्थीको कथा लेखेको थिएँ—
यस्तो शिक्षकको पहलमा भएको अभ्यासलाई शैक्षिक संस्थामा संरचना बनाएर गर्न सकिन्छ।
बेलायतको विश्वविद्यालयहरूले देखाएका छन् — उच्च शिक्षा भनेको केवल अध्ययन, पुस्तक, अनुसन्धान, परीक्षा, विद्यार्थीको जिज्ञासा र उनीहरूले सिक्ने सीप मात्र होइन।
यहाँ मैले देखेँ — सम्बन्ध, हेरचाह र मार्गदर्शन पनि उत्तिकै महत्त्वपूर्ण छन्। विद्यार्थी सिकारू मात्र होइनन्, जटिल शैक्षिक र व्यक्तिगत वातावरणमा यात्रा गरिरहेका मानिस पनि हुन्।
हाम्रो शैक्षिक सुदृढीकरणको बहस र पहलमा पनि विद्यार्थीहरूको अनुभवलाई केन्द्रमा राखिनैपर्छ।
किनभने, हाम्रा शैक्षिक संस्थाका भवन, प्रविधि वा भौतिक सुविधाभन्दा बढी हामीले राम्रो शिक्षा दिन्छौं भनेर बाचा गरेर ल्याएका विद्यार्थीको अनुभव र सफलता महत्त्वपूर्ण हुन्छ।
***
एक्स (ट्विटर)- @mani_bijaya
(लेखक विजयमणि पौडेल चेभनिङ छात्रवृत्ति अन्तर्गत हाल बेलायतको युनिभर्सटी अफ एक्सेटरमा 'शैक्षिक नेतृत्व र व्यवस्थापन' अध्ययन गर्दैछन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)