पोहोरको तुलनामा यो वर्ष काठमाडौंमा घरजग्गा कारोबार घटेको छ।
गत आर्थिक वर्ष २०७८/०७९ असोज महिनामा भएको कारोबार संख्याको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को यही महिनामा घरजग्गा कारोबार ६८ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।
गत वर्ष असोजमा काठमाडौंमा पाँच हजार २५ संख्यामा घरजग्गा कारोबार भएको थियो। यो वर्षको असोजमा भएको घरजग्गा कारोबार संख्या एक हजार पाँच सय मात्र छ। यो संख्या अघिल्लो महिना भदौको तुलनामा पनि कम हो। २०७९ भदौमा दुई हजार ५ सय ११ संख्यामा कारोबार भएको थियो।
विभागको तथ्यांकअनुसार २०७९ असोजमा कित्ताकाट पनि घटेको छ। गत वर्ष असोजमा एक हजार ७९ कित्ता जग्गालाई टुक्र्याएर दुई हजार नौ सय ९७ टुक्रा पुर्याइएको थियो। यो वर्षको असोजमा जम्मा ४ सय ८२ कित्ता जग्गालाई टुक्र्याएर १५ सय ६५ कित्ता पुर्याइएको छ।
केही समयदेखि घरजग्गा कारोबारमा मन्दी आइरहेका कारण कारोबार घटेको विभागका प्रवक्ता विष्णु कुमार महत बताउँछन्।
उनका अनुसार कारोबार घट्ने मुख्य दुई कारण छन्।
पहिलो, अहिले स्थानीय तहबाट जग्गा वर्गीकरणको काम भइरहेकाले कारोबार भएको छैन।
अर्को, बैंकको ब्याजदरमा भएको वृद्धि, कर्जा लगानीमा भएको सुस्तताले यसमा प्रभाव पारेको छ।
'२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ। स्थानीय भू–उपयोग परिषदबाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा कमी आएको छ,' उनले भने।
अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।
हालसम्म केही स्थानीय तहले मात्र जग्गा वर्गीकरणको काम सकेका प्रवक्ता महतले बताए। सरकारले मंसिर भित्रमा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको छ।
जानकारहरूका अनुसार बैंकमा आएको तरलताको असर घरजग्गा कारोबारमा देखिएको छ। बैंकहरूमा निक्षेप स्रोत अभाव भएसँगै निक्षेपको ब्याजदर बढाएका छन्। यसले कर्जाको ब्याजदरमा पनि वृद्धि भइरहेको छ।
राष्ट्र बैंकको प्रकाशित तथ्यांक अनुसार २०७८ भदौमा घरजग्गा कर्जाको ब्याजदर ९.१२ प्रतिशत थियो। २०७९ साउनमा १२.४१ प्रतिशत पुगेको छ। बैंकहरूले यो कात्तिकमा ब्याजदर अझै बढाएर अधिकतम १८ प्रतिशतसम्म पुर्याएका छन्।
अहिले चाडवाडको समय छ। मानिसहरू यसैमा व्यस्त हुन्छन् र चाडवाडकै लागि अधिक खर्च चाहिन्छ। यही खर्चको जोहोमा लाग्ने भएकाले पनि घरजग्गा किनबेच जस्ता गतिविधि सुस्तिने जानकारहरू बताउँछन्।
घरजग्गा कारोबार कहिले बढ्ला त?
नेपाल रियलस्टेट अर्गनाइजेसनका महासचिव विनोद सुवेदी कारोबार बढ्न अझै एक वर्ष लाग्न सक्ने बताउँछन्।
'एक त मानिसहरूसँग पैसा छैन। भएको पैसा पनि चाडपर्व, चुनावमा खर्च गर्न हुने देखिन्छ,' सुवेदीले भने।
चुनाव पछि बैंकमा निक्षेप बढ्न पनि सक्नेछ। अहिले तुलनात्मक रूपमा रेमिटेन्सको वृद्धिदर घटेकाले पनि कारोबार बढ्न नसकेको हो। कोरोनापछि विश्वकै अर्थतन्त्र मन्दीमा छ। यो नसुध्रेसम्म हामीकहाँ हुने घरजग्गा कारोबार बढ्न नसक्ने उनले बताए।
'अहिले विश्वमै आर्थिक मन्दी छाएको छ। यसले रेमिटेन्स बढ्न सक्दैन,' उनले भने, 'यसको प्रभाव यहाँ घरजग्गा कारोबारमा पर्छ।'
सुवेदीका अनुसार रूस–युक्रेनको द्वन्द्वले पनि रियल-स्टेट क्षेत्रमा प्रभाव पारेको छ। अमेरिका लगायत ठूला युरोपियन देशले युक्रेनलाई सहयोग गरिरहेका छन्। रूस-युक्रेनको द्वन्द्व नचलेको भए ठूला देशले गर्ने आर्थिक सहयोग लगानीमा परिणत हुन्थ्यो र रोजगारी सिर्जनामा सहयोग पुग्थ्यो।
अहिले काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट भएको छ।
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्; कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु। यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
कलंकी कार्यालयबाट असोजमा ६ सय २० संख्यामा घरजग्गा कारोबार भएको छ। यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरि, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ। यो कार्यालयबाट असोजमा चार सय एक संख्यामा घरजग्गा किनबेच भएको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
त्यस्तै, मनमैजु कार्यालयबाट असोजमा घरजग्गा कारोबारै भएको छैन। यही सालको भदौमा भने यस कार्यालयबाट दुई सय ५४ संख्यामा कारोबार भएको थियो। यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट असोजमा एक सय ३७ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
त्यस्तै, चाबहिल कार्यालयबाट असोजमा तीन सय ४६ संख्यामा घरजग्गा किनबेच भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
टोखा कार्यालयबाट असोजमा ९२ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारेकश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।
२०७९ असोजमा देशभर २५ हजार सात सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ। यो गत वर्षको असोजको तुलनामा ५६ प्रतिशतले कम हो। गत असोजमा देशभर ५९ हजार दुई सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो।