निर्माण क्षेत्रमा अत्यावश्यक इँटाको मूल्य बढेको छ।
नेपाल इँटा उत्पादक संघ बागमती प्रदेशका संयोजक तथा व्यवसायी रामकाजी अवालेका अनुसार इँटाको भाउ प्रतिगोटा डेढ रूपैयाँदेखि तीन रूपैयाँसम्म बढेको हो।
केही समयअघि काठमाडौंको स्थानीय इँटा गोटाको १५ रूपैयाँ पर्थ्यो। त्यस्तै मेसिनबाट बनाइएको तराई इँटा १८ रूपैयाँमा पाइन्थ्यो।
अहिले बजारमा स्थानीय इँटा प्रतिगोटा १६ रूपैयाँ ५० पैसा र तराईको २१ रूपैयाँ हाराहारी भएको उनले जानकारी दिए।
पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेपछि उद्योगीहरूले इँटाको मूल्य बढाएको उनले बताए।
'अहिले इँटा प्रतिट्रिप १६ हजारदेखि २१ हजार रूपैयाँमा निर्माणस्थलमा पुगिरहेको छ,' उनले भने, 'उपभोक्ताका लागि यो बढेको मूल्य हो। तर उद्योगीका होइन।'
उद्योगीको लागतअनुसार इँटाको भाउ समायोजन नभएको संयोजक अवाले बताउँछन्।
उनका अनुसार कोइला, मजदुर, सरकारी दस्तुरको दर, पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ। इँटाको भने केही प्रतिशत मात्र समायोजन भएकाले लागतअनुसार भाउ नपाएको उनले बताए।
इँटा बनाउन अत्यावश्यक कच्चा पदार्थ कोइलाको मूल्य गत वर्षभन्दा अहिले किलोमा दस रूपैयाँसम्म बढेको छ। अवाले भन्छन्, 'कोइला पोहोर ३०/३१ रूपैयाँ किलो थियो, अहिले ४० पुग्यो। यही क्रममा अरू चिजको मूल्य बढ्ने हो भने इँटा गोटाको २५/२६ रूपैयाँसम्म हुन्छ।'
चार कोठाको एक तले घरमा कति इँटा लाग्छ?
हामीले यहाँ कम इँटा प्रयोग गरी बनाउन सकिने चार कोठे घरबारे चर्चा गरेका छौं। यसबारे हामीलाई महाशक्ति इँटा उद्योग, जगातिका सञ्चालक कृष्णप्रसाद दुवालले जानकारी दिएका छन्।
दुवालका अनुसार इँटा कति लाग्छ भन्ने अनुमान गर्नुअघि सबभन्दा पहिले कस्तो घर बनाउने, कतिवटा झ्याल, ढोका राख्ने निधो गर्नुपर्छ। किनकी झ्याल, ढोका र घरको डिजाइनले इँटा संख्या फरक पर्छ।
छत ढलान गरी बनाइने घरमा इँटा बढी लाग्छ। यसमा आवश्यकता अनुसार तला थप्दै जान पनि सकिन्छ। त्यस्तै पर्खाल सिस्टमको ढलान नगरिने, जस्ता वा अन्य छाना राखिने घरमा कम इँटा प्रयोग गर्न सकिन्छ।
सहरमा ढलानबिनाको घर त्यति प्रयोगमा आउँदैन। घर बनाउँदा भविष्यमा तला थप्ने विचारले बनाउँदा सही हुने इँटा व्यवसायी दुवाल बताउँछन्।
'ढलान गर्ने घरमा जग बलियो पार्नुपर्छ। नौ इन्चको जग अनिवार्य हुन्छ। त्यसले धेरै इँटा डिपिसीमुनि खपत हुन्छ,' व्यवसायी दुवालले जानकारी दिए, 'पहिलो तला घरको आधार (मुख्य) पनि भएकाले नौ इन्चकै गारो लगाउन सुझाव दिन्छौं।'
नौ इन्चको गारो लगाउनुको अर्को फाइदा पनि छ- घरको भित्री भागलाई ओसबाट जोगाउनु।
त्यस्तै इँटाको लागत आकलन गर्ने अर्को पाटो झ्याल र ढोका हुन्।
कुनै कोठामा तीन वटासम्म झ्याल राख्न मिल्ने हुन्छ। यस्तो कोठामा इँटा कम लाग्छ। त्यस्तै कुनै कोठामा दुई वटा ढोका राख्न आवश्यक पर्ने हुँदा सोही अनुसार इँटाको लागत अनुमान गर्नुपर्ने दुवाल बताउँछन्।
'तर कम खर्चमा घर बनाउन इँटा मात्रै कम गर्न खोजेर हुँदैन। झ्याल-ढोका पनि आवश्यकता अनुसार मात्रै राखे राम्रो,' उनी भन्छन्, 'इँटाको लागत घटाउन खोज्दा झ्यालको लागत बढी हुन गयो भने योजना फेल हुन्छ।'
प्रत्येक कोठामा दुइटा झ्याल, एक वटा ढोका राखेर नौ इन्चको गारो लगाउँदा करिब २८ हजार इँटा माग गर्नुपर्ने दुवालको अनुभव छ।
'कोठाको आकारअनुसार थोरै घटबढ भए पनि सामान्यतया ढलान गरेको चार कोठे घर बनाउन २८ हजार इँटा भए पुग्छ,' दुवाल भन्छन्, 'कम्पाउन्ड र बाँकी कामका लागि चाहिँ अरू इँटा थप्नु पर्छ।'
यो त भयो ढलान गरी बनाइएको घरमा इँटाको लागत। पर्खाल मात्रै लगाएर ढलान नगरी घर बनाउने हो भने आठदेखि दस हजार इँटामै काम सकिने व्यवसायी दुवाल बताउँछन्।
उनका अनुसार पर्खाल मात्र लगाउनु पर्ने घरको जगमा धेरै इँटा लाग्दैन। भित्री पर्खालमा पनि सिमेन्टको जोडाइमा पाँच इन्च गारो लगाए हुन्छ। आधाभन्दा कम इँटा खपतमा घर बनाउन सकिन्छ। गाउँघरतिर बनाइने घरमा यो तरिका अपनाइएको हुन्छ।
अहिलेको समयमा काठमाडौं उपत्यकामा तराईको इँटा गोटाको बढीमा २१ रूपैयाँमा निर्माणस्थलमै पुग्छ।
माथिको अनुमानका आधारमा हिसाब गर्दा ढलान गरिने चार कोठे घर बनाउन बढीमा पाँच लाख नब्बे हजार रूपैयाँ बराबरको इँटा किन्नुपर्ने देखिन्छ।
त्यस्तै पर्खाल मात्रै लगाएर चार कोठे घर बनाउन इँटामा बढीमा दुई लाख दस हजार रूपैयाँ छुट्याउनु पर्छ। कहिलेकाहीँ इँटाको मूल्य फरक पर्दा अनुमानित रकम केही तलमाथि हुन सक्छ।
यो पनि पढ्नुहोस्ः टायल र मार्बलमा के फरक छ, घरको कुन ठाउँमा के प्रयोग गर्ने?