विकास निर्माणका काम सुस्त भएपछि निर्माण सामग्रीको माग कम भएको छ। माग कम हुँदा मूल्य पनि सस्तिएको छ। तर फलामे डन्डीको भाउ केही महिनायता लगातार बढिरहेको छ।
यो क्रम अझै केही समय लम्बिने उद्योगी-व्यवसायीहरू बताउँछन्।
कार्यविनायक सप्लायर्सका सञ्चालक हरि भण्डारीका अनुसार पछिल्ला पन्ध्र दिनमा छडको मूल्य किलोको २० रूपैयाँसम्म बढेको छ। गत वर्ष यही समयमा ७५ देखि ८५ रूपैयाँसम्म थियो। अहिले एक सय १२ देखि एक सय २५ रूपैयाँ किलोसम्म पर्छ।
यो मूल्य पोहोरको तुलनामा ३० देखि ४० प्रतिशत बढी हो।
'कम्पनीहरूले भाउ अझै बढ्ने संकेत गरिरहेका छन्। यति नै पुग्ला भनेर अनुमान गर्न सकिँदैन,' भण्डारीले भने।
व्यवसायीहरूका अनुसार अहिले हरेक साताजसो डन्डीको भाउ एकदेखि तीन रूपैयाँ बढेको छ।
स्टार हार्डवेयर, सातदोबाटोका सञ्चालक प्रेम महर्जन हरेक लटमा सामान झार्दा छडको मूल्य बढेर आएको बताउँछन्। पञ्चकन्या स्टिलका अधिकारिक बिक्रेता महर्जनले गत सोमबार प्रतिकिलो दुई रूपैयाँ ९१ पैसा बढाएर कारोबार गरेको जानकारी दिए।
मूल्य बढेपछि पञ्चकन्याका विभिन्न आकारका छड एक सय २० देखि एक सय २४ रूपैयाँसम्म कारोबार भइरहेको छ।
'अघिल्लो साता मात्रै दुई रूपैयाँ बढेको पञ्चकन्या स्टिलमा यो साता झन्डै तीन रूपैयाँ बढ्यो,' महर्जनले भने, 'अझै बढ्ने जानकारी कम्पनीले दिइसकेको छ।'
अन्य छड उत्पादकले पनि छडको आकारअनुसार किलोमा एकदेखि तीन रूपैयाँ बढाएका छन्। अघिल्लो साता विभिन्न ब्रान्डका छड एक सय १० देखि एक सय २२ रूपैयाँमा कारोबार भइरहेकामा अहिले एक सय १२ देखि एक सय २५ रूपैयाँसम्म पर्छ।
साख स्टिलका निर्देशक किरण साख डन्डीको मूल्य अझै बढ्न सक्ने बताउँछन्। उनका अनुसार छड बनाउन आवश्यक कच्चा पदार्थ बिलेटको अन्तर्राष्ट्रिय मूल्यमा नेपाली डन्डीको मूल्य समायोजन भएको छैन।
'अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्यमा हुने घटबढलाई नै आधार बनाएर नेपाली मूल्य निर्धारण गर्ने हो,' उनले भने, 'विश्व बजारमा बिलेटको भाउ बढिरहेको छ। सोअनुसार समायोजन गर्दा ठूलो अन्तरले मूल्य बढ्छ। बजारमा समस्या नहोस् भनेर हामीले आवश्यक मात्रै बढाएका हौं।'
अहिले झन् रूस र युक्रेनबीचको युद्धले विश्व बजारबाट आयात हुने विभिन्न औद्योगिक कच्चा पदार्थको मूल्यवृद्धि भइरहेको छ। रूस–युक्रेन युद्धको असर छडको कच्चा पदार्थ आयातमा पनि परिरहेको साखले बताए।
'दुई ठूला र शक्ति देशमा तनाव बढ्दै गएपछि नेपालजस्तो सानो देश स्वतः समस्यामा पर्छ,' उनले भने, 'बिलेट र स्पन्ज आइरन अन्तर्राष्ट्रिय बजारबाट ल्याउनु पर्ने भएकाले अहिले मूल्य बढ्नु अचम्म होइन। डलरको भाउ आकासिएकाले हामीले पहिलेभन्दा धेरै मूल्य तिर्नुपर्छ।'
यो साता विश्व बजारमा बिलेट प्रतिमेट्रिक टन ७ सय २० देखि ७ सय २५ डलरमा कारोबार भइरहेको छ।
डन्डीको मूल्य पछिल्लो समय चर्चाको विषय बनेको छ। सरकारले चालु आर्थिक वर्षको संशोधित बजेटमा छडको कच्चा पदार्थ स्पन्ज आइरन आयातमा भन्सार शून्य बनाएको थियो। बिलेटमा भने भन्सार कर र अन्तशुल्क दुवै बढाएको थियो।
सरकारको यो नीतिसँगै छड उद्योगी विभाजित भएका थिए। बिलेट आयात गरी छड बनाउने उद्योगीले सीमित उद्योगी पोस्न सरकारले यस्तो नीति ल्याएको भन्दै विरोध गरे। कर बढेपछि बिलेट आयात गर्नै नसक्ने अवस्था रहेको उनीहरूको भनाइ थियो। अर्कातिर स्पन्ज आइरन आयात गर्नेहरूले सरकारको नीतिले नेपाली उद्योग फस्टाउने बताएका थिए।
सरकारको नीतिसँगै विभाजित डन्डी उद्योगीले आफू अनुकूल भाउ तोक्न थालेका थिए। त्यो बेला उद्योगी- व्यवसायीलाई गुटबन्दी गरी मूल्य बढाएको आरोपसमेत लागेको थियो। उद्योगी-व्यवसायी भने बिलेटको भाउ बढेकै कारण छडको मूल्य बढाउन बाध्य भएको बताउँदै आएका छन्।
अब अहिलेको भाउमा एक तले घर बनाउनुपर्यो भने छडमा कति पैसा छुट्याउनुपर्ला?
हामीले यहाँ निर्माण तथा परामर्श कम्पनी बिल्ड इनोभेसनका निर्देशक तथा इञ्जिनियर सुवास अधिकारीको सहयोगमा एक हजार वर्गफिटमा बन्ने चार कोठे घरमा चाहिने डन्डीको विवरण निकालेका छौं।
अधिकारीका अनुसार कुनै पनि संरचना बनाउँदा त्यसमा राखिने पिलर, भित्रको पर्खाल आदिले छडको लागत निर्धारण हुन्छ।
'जग राख्दा कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ। जगबाट पिलर उठाउँदा प्रति पिलर एक सय २५ किलोभन्दा बढी डन्डी लाग्छ,' उनले भने, '१२ वटा पिलरमा एक हजार पाँच सय किलोभन्दा बढी डन्डी अनुमान गर्नुपर्छ।'
जगसँगै राखिने बिममा १२ मिमीको डन्डी र ८ मिमीको रिङ प्रयोग गर्नुपर्ने हुन्छ। अधिकारीका अनुसार यहाँ जम्मा छ सय २० किलोभन्दा बढी डन्डी प्रयोग हुन्छ।
हामीले यहाँ एकतले घरका लागि १२ वटा पिलर राखेर डन्डी मापन गरेका छौं। डिपिसी बिमका लागि पनि छ सय २० केजीभन्दा बढी डन्डी प्रयोग हुन्छ।
यसपछि झ्यालमा तल र माथि गरी १० मिमीको डन्डी र हुक तीन सय केजीभन्दा बढी लाग्छ। यहाँ चार कोठे घरमा प्रति कोठा दुइटा झ्यालको हिसाब गरिएको छ।
भर्याङमा १२ मिमीको डन्डी प्रयोग हुन्छ। एक तला मात्रै घर बनाइने भएकाले लगभग ९० किलो लाग्छ।
पहिलो तलाको बिममा छत अडिएको हुन्छ। छ सय २० केजीभन्दा बढी डन्डी यहाँ प्रयोग हुन्छ। समग्रमा पहिलो तलामा तीन वटा बिम हुन्छ जहाँ बराबर डन्डी आवश्यक पर्छ।
छतमा सबभन्दा धेरै डन्डी प्रयोग गर्नुपर्छ। यहाँ १० र ८ मिमीका प्रयोग गरिन्छ। जम्मा छतका लागि करिब दुई हजार दुई सय किलो डन्डी अनुमान गर्नुपर्ने हुन्छ। यति भएपछि पहिलो तलाका लागि डन्डीको मात्रा पूरा हुने अधिकारीले बताए।
माथिको लागत अनुमानअनुसार जगदेखि एकतले घरका लागि पाँच हजारदेखि छ हजार किलो डन्डी अनुमान गर्नुपर्छ। पहिलो तलामा जगको काम पनि गर्नुपर्ने भएकाले लागत बढी हुन्छ।
मुख्य डन्डीबाहेक करिब एक सय पचास किलो 'बाइन्डिङ वायर' प्रयोग हुने अधिकारी बताउँछन्।
डन्डीको मूल्य आकार अनुसार फरक पर्छ।
'८ मिमी र योभन्दा कम आकारको डन्डी सामान्यतया किलोमा पाँच रूपैयाँसम्म महँगो हुन्छ। २५ मिमीभन्दा मोटो डन्डीको मूल्य पनि बढी हुन्छ,' अधिकारीले भने, '१० मिमीदेखि २५ मिमीसम्मको डन्डी बजारमा सामान्य मूल्यमा पाइन्छ।'
हाल विभिन्न कम्पनीअनुसार छड उपभोक्ता मूल्य एक सय १२ रूपैयाँदेखि एक सय २५ रूपैयाँसम्म छ।
पाँचदेखि छ हजार किलो डन्डीलाई यही मूल्यसँग तुलना गर्दा एक हजार वर्गफिटभन्दा कम क्षेत्रफलमा बन्ने एक तले घरका लागि छ लाख ७५ हजारदेखि सात लाख ५० हजार रूपैयाँसम्म छडमा खर्च हुन्छ।
बजार मूल्य परिवर्तन हुँदा लागत स्वतः घटबढ भइहाल्छ।