अहिले घर तथा संरचना निर्माणको सिजन भए पनि निर्माण सामग्रीको व्यापार कम भएको छ। व्यवसायीहरूका अनुसार गत वर्षको तुलनामा आधाजस्तो व्यापार घटेको हो।
निर्माण सामग्रीको डिलर भिन्तुना हार्डवेयरका सञ्चालक रामलाल महर्जनका अनुसार हामीकहाँ हिँउदको समयमा धेरै घर बनाउने चलन छ। अहिले घरको जग राख्ने र ढलान गर्ने काम चलिरहेको हुन्छ। यो बेला सिमेन्ट, गिटी-बालुवा, इँटा, छड लगायत निर्माणमा आवश्यक सामग्रीको माग निकै बढ्नु पर्ने हो। तर यस्तो भएको छैन।
पोहोर कोरोना महामारीले निर्माण काममा अवरोध पुर्याएको थियो। यो वर्ष कोरोना मत्थर भए पनि व्यापार नभएको महर्जन बताउँछन्।
'पहिलेका वर्षहरूमा यो बेला व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो। यसपालि त पोहोरभन्दा पनि व्यापार कम छ,' उनले भने।
सामान्यतया बजारमा सामानको माग कम हुँदा भाउ कम हुनुपर्ने हो। व्यापार नभएपछि उद्योगी तथा व्यवसायीले मूल्य घटाएर भए पनि सामान बेच्छन्। तर निर्माणका सबै सामग्रीमा यो नियम लागू नभएको महर्जनले जानकारी दिए।
'व्यापार घट्दै गए पनि केही निर्माण सामग्रीको मूल्य कम हुनुको साटो बढिरहेको छ,' उनले भने।
उनका अनुसार सिमेन्टको भाउ अहिले केही घटेको छ भने गिटी-बालुवाको यथावत् छ। तर यही समयमा इँटा र छडको मूल्य भने बढेको छ।
निर्माण सामग्रीहरूको भाउ निर्धारणमा किन यस्तो बेमेल भइरहेको छ त?
सुरू गरौं फलामे डन्डीबाट।
व्यवसायी महर्जनका अनुसार डन्डीको मूल्य केही समययता हरेक साताजसो बढिरहेको छ। मंगलबारको तथ्यांक हेर्दा केही कम्पनीका डन्डीमा किलोको एकदेखि दुई रूपैयाँ बढेको छ।
मंगलबार बजारमा हिमाल स्टिल किलोको एक सय २२ रूपैयाँ, पञ्चकन्या एक सय १८, हामा एक सय १५, जगदम्बा एक सय १० र प्रिमियर, श्री, विजया र समृद्धि स्टिल एक सय १२ रूपैयाँमा कारोबार भइरहेको महर्जनले बताए।
उनी भन्छन्, 'माग कम हुँदा मूल्य घट्नु पर्ने हो। डन्डीको चाहिँ झन् बढिरहेको छ।'
साख स्टिलका निर्देशक किरण साख डन्डीको मूल्य अझै बढ्न सक्ने बताउँछन्। उनका अनुसार छड बनाउन आवश्यक कच्चा पदार्थ बिलेटको अन्तर्राष्ट्रिय मूल्यमा नेपाली डन्डीको मूल्य समायोजन भएको छैन। समायोजन गर्दा भाउ अझै बढ्ने उनको भनाइ छ।
'अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्यमा हुने घटबढलाई नै आधार बनाएर नेपाली मूल्य निर्धारण गर्ने हो,' उनले भने, 'विश्व बजारमा बिलेटको भाउ बढिरहेको छ। सोअनुसार समायोजन गर्दा ठूलो अन्तरले मूल्य बढ्छ। बजारमा समस्या नहोस् भनेर हामीले आवश्यक मात्रै बढाएका हौं।'
मूल्य बढे पनि बजार माग नघटेको दावी उनी गर्छन्। बरू केही समयमै माग बढ्ने अनुमान गरेर डिलरले स्टकमा सामान राखेको अनुमान उनले गरे।
'डिलरहरू बजारमा माग कम छ भन्छन् तर हामीले उत्पादन घटाउनु परेको छैन,' साखले भने, 'यसको अर्थ डिलरसँग पर्याप्त स्टक छ।'
डन्डीको मूल्य पछिल्लो समय चर्चाको विषय बनिरहेको छ। सरकारले चालू आर्थिक वर्षको संशोधित बजेटमा छडको कच्चा पदार्थ स्पन्ज आइरन आयातमा भन्सार शून्य बनाएको थियो। तर बिलेटमा भन्सार कर र अन्तशुल्क दुवै बढाएको थियो।
सरकारको यो नीतिसँगै छड उद्योगीहरू विभाजित भएका थिए। बिलेट आयात गरी छड बनाउने उद्योगीहरूले सीमित उद्योगी पोस्न सरकारले यस्तो नीति ल्याएको भन्दै विरोध गरे, आन्दोलनमा उत्रे। कर बढेपछि आफूहरूले बिलेट आयात गर्नै नसक्ने अवस्था रहेको उनीहरूले भन्दै आएका छन्। अर्कातिर स्पन्ज आइरन आयात गर्नेहरू सरकारको नीतिले अब नेपाली उद्योग फस्टाउने बताउँछन्।
सरकारको नीतिसँगै विभाजित डन्डी उद्योगीहरूले आफू अनुकूल भाउ तोक्न थालेका छन्।
अब कुरा गरौं इँटाको।
निर्माण सामग्री व्यवसायी महर्जनका अनुसार अहिले इँटाको भाउ बढेको छ। सामान्यतया काठमाडौं उपत्यकामा यहीँ बनेको स्थानीय र तराईको इँटा चल्छ। दुवै इँटामा एक/एक रूपैयाँ बढेको छ।
'निर्माण कम भए पनि इँटाको मूल्य बढेको छ। अहिले काठमाडौंको इँटा प्रतिगोटा १६ रूपैयाँ र तराईको इँटा प्रतिगोटा २१ रूपैयाँ पर्छ,' उनले भने, 'काम सुरू गरेपछि भाउ बढ्यो भनेर बीचमा रोक्न मिल्दैन। जति महँगिए पनि निर्माण सक्नै पर्छ। यस्तोमा उद्योगले पनि मौकाको फाइदा उठाउँछन्।'
गिटी-बालुवाको मूल्यमा भने विगत नौ महिनादेखि कुनै हेरफेर भएको छैन। महर्जनका अनुसार ठूलो टिपरको गिटी र बालुवा प्रतिटिपर २५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। केही वितरकले सिजनअनुसार मूल्यमा केही हेरफेर गरे पनि आफूले यथावत राखेको उनको भनाइ छ।
'कालो गिटी र प्लास्टर बालुवाको मूल्य बराबर नै छ। तोकेको दुरीभन्दा पर लैजान परे थप ढुवानी खर्च जोडिन्छ,' महर्जनले भने।
तुलनात्मक रूपमा कालो गिटीभन्दा सेतो गिटी चार–पाँच हजार रूपैयाँ सस्तोमा पाइन्छ। काठमाडौंको कुरा गर्दा यहाँ धादिङको माधवबेसी, बैरेनी, गजुरी, काभ्रेको मेलम्ची, भकुण्डेबेसीतिरबाट गिटी–बालुवा आयात हुन्छ।
निर्माण सामग्रीमध्ये सिमेन्टको मूल्य भने पछिल्लो समय निरन्तर घटिरहेको छ।
सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भए पनि घाटामा व्यापार गर्नुपरेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन्।
गत सोमबार संघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै थापाले पछिल्लो समय सिमेन्टको मूल्य लगातार घटिरहेको र गत वर्षको तुलनामा माग पनि आधा भएको बताए। कसमस सिमेन्टका सञ्चालकसमेत रहेका थापाले नेपालका कुनै पनि सिमेन्ट उद्योग पूर्ण क्षमतामा चल्न नपाएको गुनासो गरे।
'सिमेन्ट बोरामा ४० देखि ५० रूपैयाँसम्म घटिरहेको छ। उद्योगले घाटा खाएरै उत्पादन गरिरहेका छन्,' थापाले भने, 'सिमेन्ट प्रयोग हुने वैकल्पिक बाटो खोजिएन भने हाम्रा उद्योग धरापमा बस्नुपर्छ।'
नेपालमा ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्। ब्रान्डअनुसार अहिले ओपिसी ६ सय ८० देखि ७ सय ८० रूपैयाँसम्म पर्छ। उदयपुर सिमेन्ट भने ९ सय रूपैयाँ र हेटौंडा सिमेन्ट ८ सय ९५ रूपैयाँ पर्छ। यी दुई ब्रान्डका सिमेन्टको मूल्य अरूको तुलनामा केही बढी भएको व्यवसायी महर्जनले बताए।
त्यस्तै पिपिसी पनि बोरामा १५ देखि २० रूपैयाँ घटेको छ। हुवासिन, शिवम्, राजधानी लगायत सिमेन्ट प्रतिबोरा ६ सय बीसदेखि ६ सय तीस रूपैयाँसम्ममा कारोबार भइरहेको छ।