आजको समयलाई ध्यानमा राखेर बनाइएको घर केही वर्षपछि नमिल्दो लाग्न सक्छ। बढ्दो आवश्यकता र बदलिँदो जीवनशैलीले ठिकठाक अवस्थामा भएको घर कति बेला साँघुरो र असहज भइदिन्छ, हामीलाई थाहै हुँदैन।
जस्तै ढलान गरी बनाइएको घरमा गर्मी महिनामा तातो भएर छतमा ट्रस राख्नुपर्ने हुन सक्छ। फेरि ट्रस राख्दा लुगा सुकाउने र जाडोमा घाम ताप्ने ठाउँ नहुन सक्छ।
वा, कोठा साना र साँघुरा भएर फोड्नु पर्ने हुन सक्छ। दुई कोठा एकै बनाउनु पर्ला।
त्यस्तै बाथरूम र शौचालय पनि पुरानो शैलीको भए नयाँ बनाउन मन लाग्ला।
यस्तो अवस्थामा के गर्ने?
यस्ता अन्यौलमा इञ्जिनियरसँग परामर्श गर्नु उचित हुन्छ। घर मर्मत गरेर नयाँ र सहज बनाउने सोचमा भएकाले इञ्जिनियरको सुझाव लिन झन्झट मान्नु हुँदैन। आफैं मिस्त्री बोलाएर सोचेअनुसार बनाउँछु भन्न हुँदैन।
निर्माणको भाषामा पुरानो घरलाई नयाँ रूप दिनुलाई 'रिमोडलिङ' भनिन्छ। यो काम घर निर्माण र मर्मतमा जानकार भएका इञ्जिनियरको सल्लाहमै गरिनु पर्छ।
रिमोडलिङ सम्बन्धी जानकारी आज हामीलाई यही क्षेत्रमा काम गर्ने कम्पनी 'घर-दरबार' की इञ्जिनियर सताक्षी मिश्रले दिएकी छन्।
मिश्रका अनुसार बनिसकेको पुरानो संरचना वा स्वरूपलाई मिलाएर वा फेरि बनाएर नयाँ रूप दिनभन्दा सिधै नयाँ बनाउन सजिलो हुन्छ। घर पनि त्यसैमा पर्छ। नयाँ घर बनाउन इञ्जिनियरिङ अनुसार सरासर काम गर्न सकिन्छ। तर पुरानो घरलाई नयाँ डिजाइन दिन यो सम्बन्धी ज्ञान भएकै मान्छे चाहिन्छ।
जानकारी नभएको मान्छेले काम सुरू गर्दा घरमा भएका सामानको संरक्षण नहुन सक्छ। त्यस्तै घरलाई अर्को स्वरुपमा लैजाँदा बिग्रिन सक्छ। अनि अनावश्यक रूपमा संरचना भत्किन सक्छ।
‘घर रिमोडलिङ गर्नुअगाडि घरको कमजोरी वा समस्या पत्ता लगाउनु पर्छ। साथै के परिवर्तन गर्ने हो प्रस्ट हुनुपर्छ,’ मिश्र भन्छिन्।
यसका लागि सबभन्दा पहिले घरलाई नयाँ रूप दिन आवश्यक सबै विवरण जम्मा पार्नुपर्छ। काम गर्दै जाँदा बीचमा फेरि सोच परिवर्तन नहुने हिसाबले काम गर्नु पर्छ। मेहनत गरी बनाएको घर जथाभावी रिमोडलिङ गर्दा झन् नराम्रो हुन सक्छ। अनि घर सुहाउँदो निर्माण सामग्री प्रयोग गर्न वा पहिचान गर्न इञ्जिनियरको सुझाव लिनुपर्ने उनी बताउँछिन्।
उनका अनुसार घर मर्मत सुरू गर्नुअगाडि केही प्राविधिक पक्षमा ध्यान दिनु पर्छ।
भार बहन क्षमताः
आफ्नो घरलाई रिमोडलिङ गर्नुअगाडि घरको स्थिति के छ, भार बहन क्षमता कति छ, थप भार धान्न सक्छ कि सक्दैन जस्ता कुरा निश्चित गर्नु पर्छ।
किनेर बसेको घरको सबै जानकारी घरधनीलाई नहुन सक्छ। त्यसैले यस्तोमा रिमोडलिङ गर्दा घरको स्थिति जाँच गराएर यी सबै कुरा पत्ता लाउनु अनिवार्य हुन्छ।
‘हाउजिङको घरमा बसेको हो र घरको बनोट परिवर्तन गर्नुपर्यो भने हाउजिङ कम्पनीकै नियमअनुसार चल्नु पर्ने हुन्छ,’ उनले जानकारी दिइन्, 'त्यसमा आफूखुसी फेरफार गर्न नमिल्ने हुन सक्छ।'
घरमा कोठा थप्न वा केही भाग हटाउन मिल्छ कि मिल्दैन, वा रङ परिवर्तन गर्न मिल्छ कि मिल्दैन, घरको भित्री मोडल परिवर्तन गर्न मिल्छ कि मिल्दैन जस्ता कुरा बुझेर मात्र काम अघि बढाउनु पर्छ।
आवश्यकताः
के–के आवश्यकताले घरको स्वरूप परिवर्तन गर्न लागिएको हो भन्ने पक्का हुनुपर्छ। आफ्नो आवश्यकता र चाहनाबीच फरक छुट्याउनु पर्छ। कतिपय चाहनाले दैनिक जीवनलाई सहज बनाउनुभन्दा झन् असहज बनाइदिएको हुन्छ।
जस्तै, धेरैले घरको भान्सा सबभन्दा माथिल्लो तलामा बनाउने सोचेका हुन्छन्। तर घरमा शारीरिक अशक्तता भएको व्यक्ति हुनुहुन्छ, तलमाथि गर्न गाह्रो हुने अवस्था छ भने भान्सा माथिल्लो तलामा बनाउनु बुद्धिमानी हुँदैन।
आवश्यक सामग्रीः
रिमोडलिङ गर्दा बनाउन लागिएको नयाँ संरचनाका लागि आवश्यक सामग्रीको सूची पहिल्यै तय हुनुपर्छ। बजारमा निर्माण सम्बन्धी थुप्रै सामानहरू छन्। हरेकले आफूलाई उत्कृष्ट भनेका हुन्छन्।
उनीहरूको कुरा सुनेर भन्दा पनि समयअनुसार परिवर्तित निर्माण सामग्री आफ्नो घरमा फिट हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ। त्यसमा लाग्ने खर्च विवरण पनि तयार पार्नुपर्छ ताकि आफ्नो बजेटले भ्यावोस्।
सुहाउँदो बनोटः
घरमा थप्न लागिएको भाग घरमा सुहाउँदो देखिनु पर्छ। मिलेन भने टाले वा जोडेजस्तो देखिन्छ। काम सकिएपछि आफैंलाई असुहाउँदो लाग्नुभन्दा पहिले नै पूर्ण डिजाइन गरी काम सुरू गर्नु पर्छ। प्रयोग हुने सामग्री र रङ विचार गरेर छनोट गर्नु पर्छ।
बजेटः
बजेट महत्वपूर्ण पाटो हो। काम गर्दै जाँदा बजेट अभाव भएको अलपत्र पर्नुभन्दा पहिले नै आवश्यक कामका लागि पर्याप्त बजेट छ किन छैन भनेर निधो गर्नुपर्छ। अथवा कति बजेट खर्च गर्ने हो, सोहीअनुसार निर्माण सामग्री जोहो गर्नुपर्छ।
तर बजेट छ भन्दैमा जथाभावी खर्च गरेर मनलाग्दी निर्माण गर्नु पनि बुद्धिमानी होइन।
इञ्जिनियर मिश्रका अनुसार कामका आधारमा रिमोडलिङ पूरा हुन हप्ता दिनदेखि ६ महिनासम्म लाग्न सक्छ। काम सुरू गर्दैगर्दा पारिवारिक भेटघाट, चाडपर्व वा कुनै समारोह तालिका नबनाउँदा बेस हुन्छ।
‘घरको भद्रगोल स्थितिमा पाहुना आउने समय पर्यो भने झन् भद्रगोल हुन्छ। यो सामान्य तर महत्वपूर्ण विषय हो,’ उनले भनिन्।
त्यस्तै ठेकदारको कुरा सुनेर भन्दा आफैंले विभिन्न स्थानमा बुझेर काम सुरू गर्दा राम्रो हुने उनी बताउँछिन्।
काम गर्दै जाँदा निस्किने फोहोर व्यवस्थापन तपाईंको हो वा ठेकदारको हो, त्यो पनि पूर्व निर्धारित हुनुपर्छ। आफैंले व्यवस्थापन गर्ने हो भने कहाँ र कसरी व्यवस्थापन गर्ने भनेर पहिल्यै तयारी गर्न जरूरी हुन्छ।
दक्ष कामदार प्रयोग नहुँदा समय, पैसा र मेहनत खेर जान्छ। सामग्रीको सदुपयोग नहुन पनि सक्छ। त्यसैले गुणस्तरीय सामानसँगै कामदार पनि अनुभवी लगाउनु पर्छ।
कामदारको सुरक्षाको जिम्मेवारी पनि तपाईं वा ठेकदार कसको जिम्मामा हुने भन्ने कुरा छलफल गरी तय गर्नुपर्छ।
'तपाईंको घरमा कुनै दुर्घटना नभएको राम्रो। त्यसैले कामदारको स्वास्थ्य र सुरक्षाबारे आफूले पनि विचार गर्नुपर्छ,' मिश्रले भनिन्।
यो पनि पढ्नुहोस्ः घर बनाउने ठेकदार कसरी छान्ने?