घर बनाउँदा प्रयोग गरिने सामग्रीले घरलाई सुन्दर र सुरक्षित बनाउन सहयोग गर्छ। यस्तै सामग्रीमध्ये पर्छन् टायल र मार्बल।
भान्सा, बरन्डा, भर्याङ, बाथरूम आकर्षक, सफा र सुरक्षित बनाउन टायल र मार्बलले विशेष भूमिका खेल्छन्।
टायल र मार्बलका आ–आफ्नै विशेषता छन्। तर धेरैलाई यो सामग्री कसरी बन्छ, घरको कुन स्थानमा टायल लगाउने, कुन स्थानमा मार्बल लगाउने जस्ता दुबिधा हुन्छ।
धेरै जसोले ठेकदारको भर पर्नुपर्छ भने केही उपभोक्ताले बिक्रेता वा छिमेकीको सल्लाहमा टायल/मार्बल प्रयोग गर्छन्।
हामी आज टायल र मार्बलको बनोट र प्रयोग गरिने स्थानका बारेमा चर्चा गर्दैछौं। यसबारे हामीलाई घर मर्मत कम्पनी स्किल सेवाका इञ्जिनियर रमेश तिमल्सिनाले जानकारी दिएका छन्।
तिमल्सिनाका अनुसार मुख्यगरी सेरामिक माटोलाई निश्चित तापक्रममा पकाएर टायल बनाइन्छ। काठमाडौं लगायत नेपालका विभिन्न भागमा सेरामिक पाइन्छ। यसबाहेक सिमेन्टबाट पनि टायल बन्छ। तर सजावटका लागि माटोको टायल नै बढी प्रयोग गरिन्छ।
माटोको गुणस्तरअनुसार टायलको मूल्य निर्धारण हुन्छ। लगाउने क्रममा केही टायल फुट्न सक्छन्। वा घर मर्मत गर्दा फुटाउनु पर्ने हुन्छ। त्यसैले घर बनाउँदा प्रयोग गरेका टायल केही मात्रामा जगेडा राख्नु पर्छ।
कारखानामा विभिन्न रङ र डिजाइन प्रयोग गरी टायल बनाइन्छ। कम्पनीले छोटो समयमा टायलको डिजाइन फेरबदल गरिरहन्छन्।
'टायल उद्योगमा बन्ने हो। माटोबाट बनेकाले कोरिने वा फुट्ने जोखिम धेरै हुन्छ,' तिमिल्सिनाले भने, 'घर बनाउने क्रममा पाँच प्रतिशत टायल स्टकमा राख्नुपर्छ। निर्माण क्रममा भत्काउनु परे फेर्न सजिलो हुन्छ।'
यसरी अलिकति बढी मात्रामा टायल नराखे अरू नै डिजाइनको लगाउनु पर्ने हुन्छ। यसले गर्दा टायल लगाएको क्षेत्र नसुहाउँदो र टालेजस्तो देखिन्छ।
पानी वा तरल पदार्थको दाग नबस्ने हुँदा टायल सफा गर्न सजिलो हुन्छ। मार्बलको तुलनामा टायल लगाउन र मर्मत गर्न खर्च कम लाग्छ। एक पटक टायल राखेपछि १०/१५ वर्ष ढुक्क हुन सकिने इञ्जिनियर तिमिल्सिना बताउँछन्।
टायल घर/कार्यालयको भान्सा, बाथरूम, छत, बरन्डामा टायल प्रयोग गरिन्छ।
त्यसो त भर्याङ, प्यासेजमा पनि टायल लगाउन सकिन्छ। तर फर्निचर र अन्य सामान ओसारपसार गर्दा फुट्ने जोखिम धेरै हुन्छ। त्यसैले यस्ता ठाउँमा मार्बल लगाउन उचित हुने तिमिल्सिनाको सुझाव छ।
'आवश्यकता अनुसार सबै स्थानमा टायल लगाउन सकिन्छ। तर सुरक्षाको जिम्मा आफैं लिनुपर्छ,' उनले भने।
घर सजावटका लागि भने मार्बलको प्रयोग हुन्छ। तिमिल्सिनाका अनुसार मार्बल एक किसिमको ढुंगा हो। चुन ढुंगाखानीबाट कच्चा पदार्थ ल्याएर कारखानामा विभिन्न रङका मार्बल बनाइन्छ।
लगानी बोर्डको तथ्यांकअनुसार ललितपुर, धादिङ, मकवानपुर लगायत जिल्लामा लाइसेन्स प्राप्त मार्बलखानी छन्।
तर मार्बल खर्चिलो सजावट सामग्रीमध्ये एक हो। किन्न महँगो त भइहाल्यो, यसलाई मिलाएर भुइँमा राख्न पनि धेरै समय लाग्छ। त्यस्तै टायलको तुलनामा मार्बलमा सजिलै तरल पदार्थको दाग बस्छ। सफा गर्न पनि झन्झटिलो हुन्छ।
'कोतरिने, फुट्ने सम्भावना कम हुन्छ तर टुटफुट भएमा मर्मत खर्च पनि बढ्छ,' तिमल्सिना बताउँछन्, 'मार्बल महँगो हुन्छ। सानो टुक्रा मात्रै किन्न मिल्दैन। यसले गर्दा खरिद र मर्मत दुवै खर्च बढाउँछ।'
एक पटक मार्बल लगाइसकेपछि २५ वर्षसम्म ढुक्क हुने उनी बताउँछन्। घरको भर्याङ, प्यासेज, किचन स्ल्याब, बरन्डा आकर्षक देखाउन मार्बलको प्रयोग बढी हुन्छ। तर घरको कुनै निश्चित सतह बाह्रै महिना चिसो रहन्छ भने त्यस्तो स्थानमा मार्बल नलगाउन तिमल्सिना सुझाव दिन्छन्।
गर्मी हुने कोठामा वा बाहिरी भागमा मार्बल लगाउँदा कोठा चिसो राख्न मद्दत पुग्छ।
मार्बलको सतह टलकदार र चिल्लो हुन्छ। तर यसको चिल्लोपन दुर्घटनाको कारण पनि हुन सक्छ। यसमा भने सजग रहनु पर्ने उनले जानकारी दिए।
प्राकृतिक खानीबाटै उत्पादन हुने ग्रेनाइटलाई पनि घर सजाउन प्रयोग गरिन्छ।
'मार्बल र ग्रेनाइटलाई एकै प्रकृतिको सजावट सामग्री मानिन्छ। यो ढुंगाकै एक प्रकार हो,' तिमिल्सिना भन्छन्, 'यसको बनावट, रङ र मोटाइ भने फरक हुन्छ। मार्बलको तुलनामा ग्रेनाइट अझै बलियो र महँगो हुन्छ।'
बनावटकै कारण मार्बलभन्दा ग्रेनाइट महँगो पर्छ। बुझ्ने भाषामा भन्दा यी दुई निर्माण सामग्रीलाई एक नम्बर, दुई नम्बर इँटासँग तुलना गर्न सकिन्छ।
'मार्बल लगाएपछि घोटेर चिल्लो बनाउनु पर्छ। ग्रेनाइटलाई पर्दैन। रङको आधारमा ग्रेनाइट महँगो र सस्तो पर्ने हुन्छ,' तिमल्सिनाले यी दुईको फरक बताए।
टायल आवश्यकताअनुसार चार इन्च चौडाइ र छ इन्च लम्बाइदेखि बजारमा किन्न पाइन्छ। सामान्य डिजाइन गरिएका स्थानीय उत्पादनका टायल प्रति वर्गफुट ६० रूपैयाँदेखि सुरू हुन्छ। यसमा आफूले चाहेअनुसार आकार पनि बनाउन सकिन्छ।
त्यस्तै आकर्षक बुट्टा दिएर कारखानामा बनेका, आयातित टायल १२० रूपैयाँ प्रति वर्गफुटदेखि सुरू हुन्छ।
टायलको तुलनामा मार्बल महँगो हुन्छ। सानो आकारमा किन्न पाइँदैन। चार फुट चौडाइ र छ फुट लम्बाइदेखि यसको बिक्री सुरू हुन्छ। आवश्यक आकारमा काटेर लगाउन भने सकिन्छ।
मार्बलको बुट्टा एकनास हुने भएकाले भुइँमा टुक्रा जोडेजस्तो देखिँदैन। तर बुट्टादार टायलमा टुक्रिएको भाग अर्को टायलको बुट्टासँग नमिल्न पनि सक्छ।
सामान्यतया मार्बलको मूल्य प्रति वर्गफुट दुई सय बीस रूपैयाँबाट सुरू हुन्छ।