काठमाडौँको नैकापमा बस्ने प्रमिलाले सुवेदीले लक्ष्मीपुजा गर्न भन्दै कुकुर तिहारको साँझ नै कलंकीबाट दुई वटा सयपत्री फूलका माला किनिन् प्रति माला ६० रुपैंयाँका दरले।
भाइटिकाको लागि फेरि उनले पुरानै पसलमा गएर ४ वटा माला मागिन। मालाको पैसा भन्दै उनले जब पाँच सयको नोट दिइन् । २ सय ६० रुपैंयाँ फिर्ता मागिन । पसलेले अपुग भएको भन्दै उनीसँग थप ९ सय ४० रुपैंया मागे।
तीन दिनको समयमै मालाको मूल्य पाँच गुणाले बढेको छ । उनले कुकुर पुजाका दिन प्रति माला ६० रुपैंयाँले किनेको भाउ भाइटिकाका दिन बढेर ३०० पुगिसकेको थियो।
तिहार सुरु भएपछि प्रत्येक दिन फुलको मालाको मूल्य यसैगरी अस्वभाविकरुपमा बढाउने गरिएको पाइएको छ। व्यवसायीहरुले प्रत्येक दिन एकै प्रकारको फूलको मालाको मूल्यमा दोब्बरले वृद्धि गर्ने गरेका हुन्।
एउटा फूलको मालाको मूल्य तीन दिनमा पाँच गुणासम्मले बढाइने गरिएको छ। एउटै फूलको मालाको मुल्य कुकुर पुजाका दिन ६० रुपैयाँ पर्ने र भाइटिकाको दिनमा भने सोहि मालाको ३ सय रुपैंयाँसम्ममा विक्री हुने गरेको जावालाखेलका फुल व्यवसायी इन्द्र कुमार श्रेष्ठको भनाइ छ।
श्रेष्ठ भन्छन ‘बजारको सामान्य नियम नै हो जब माग बढ्छ र त्यसै अनुरुपको आपूर्ति हुन्न तब मूल्य पनि बढछ। सोही कुरा मालाको हकमा पनि लागु भएको हो।’
तर उनले केहि व्यापारीले चाडबाडको अवसरमा अत्याधिक फाइदा खान खोजेर ३ सय रुपैंयाँसम्म बेचेको आफूले समेत देखेको भन्दै सो प्रवृति गलत भएको बताए।
उनले केही व्यवसायीले पाँच गुणासम्म भाउ बढाएर बेच्ने गरेको आफूले भेटेको बताए । उता झम्सिखेल र जावालाखेलमा पुष्प पसल सञ्चालन गर्दै आएकी पुजा पन्तल भाइटिकाको दिनको मालाको मूल्य अझ बढ्ने बताइन् ।
उनले आज विक्री नभएको माला भोलिबाट ओइल्याउने र त्यो कसैले नकिन्ने र खेर फ्याल्नुपर्ने भएकाले त्यसले व्यापारीलाई घाटा पुग्ने गरेको बताइन्।
त्यसैले पनि कम फूल विक्री भएका र धेरै औइलाएर जाने हुँदा सोहीको घाटा समायोजन गर्न पनि केहि व्यापारीले मालाको मूल्य बढाउने गरेको दाबी गरिन्।
तिहारको केहि दिन अघिसम्म पनि सयपत्री फूलको एउटा मालालाई बजारमा ४० देखि ६० रुपैंयासम्म पर्ने गथ्र्यो। जरी नहालेको मखमली फूलको माला भने ५० देखि ७० तथा जरी हालेको ७० देखि १०० रुपैंया सम्ममा विक्री भइरहेको थियो। तर तिहार सुरुभएदेखि नै प्रत्येक दिनमा यी मालाका मूल्य पनि बढाइने गरिएको हो।
नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाए अनुसार तिहारको समयमा व्यवसायिक रुपमा करिब १४ लाख वटा सयपत्रीका माला माग हुने गरेको छ। यस मध्ये ३ लाख भारतबाट आयात गरिएको छ।
एसोसियसनका उपाध्यक्ष रामजी तिमिल्सिनाका अनुसार तिहारको पाँच दिने अवधि त्यसमा पनि विशेषतः लक्ष्मीपुजा र भाइटिकाका दिनमा व्यवसायिक रुपमा १५ लाख वटा मालाको खपत हुने गरेको छ जसमा १४ लाख सयपत्री तथा एक लाख गोदावारी र गुलाफको माग हुने गरेको छ।
तिहारको समयमा मखमली, गोदावरी तथा प्रेम दिवसमा गुलाब जस्ता फुलहरुको अरु समय भन्दा अस्वभाविक रुपमा मुल्य बढनुलाई व्यवसायीहरुले दाबी गरेको माग तथा आपूर्तिको सिद्धान्तलाई पुष्टि गरेको छ।
३ लाख सयपत्रीको माला भारतबाट भन्सार तिरेर र ढुवानी खर्च समेत जोडेर आयात हुदाँ प्रति माला ५० रुपैंया पर्ने तर स्वदेशमै उत्पादन हुने ११ लाख मालाको मूल्य भने ८० रुपैयाँ हुनाले यो कुन सिद्धान्तमा टेकर मूल्य निर्धारण गरिएको हो? आम उपभोक्ताले प्रश्न गरेका छन्।