तिहारको समयमा उच्च माग हुने सयपत्रीको माला धान्न ३ लाख वटा माला भारतबाट आयात हुने भएको छ। स्वदेशमै पर्याप्त मात्रामा सयपत्रीको उत्पादन हुन नसक्दा तिहारको फूल मालाका लागि मात्रै करिब ९० लाख रुपैयाँ विदेशिने गरेको छ।
नेपाल फ्लोरिकल्चर एसोसियसनले जनाए अनुसार तिहारको समयमा माग हुने करिब १४ लाख वटा सयपत्रीका माला मध्ये ३ लाख भारतबाट आयात गरिन लागिएको हो। एसोसियसनका उपाध्यक्ष रामजी तिमिल्सिनाका अनुसार तिहारको पाँच दिने अवधि त्यसमा पनि विशेषतः लक्ष्मीपुजा र भाइटिकाका दिनमा व्यवसायिक रुपमा १५ लाख वटा मालाको खपत हुने गरेको छ जसमा १४ लाख सयपत्री तथा एक लाख गोदावारी र गुलाफको माग हुने गरेको छ।
तिमिल्सिनाले अन्य समयमा माग नहुने तर तिहारमा उच्च माग हुने भएकाले स्वदेशमै पर्याप्त उत्पादन गर्न पनि नसकिएको बताए। उनले भने, ‘तिहार बाहेक अन्य समयमा सयपत्रीको खासै माग हुँदैन। तिहारमा पनि लक्ष्मीपुजा र भाइटिका गरी दुई दिन मात्र सयपत्रीको माग हुन्छ। त्यसैले अन्य समयमा माग नै नहुने सयपत्रीको व्यवसायिक खेती कम हुने गरेको छ।’
उनले गोदावारी, गुलाफ लगायतका फूलहरुको वर्षैभरी माग हुने भएकाले अधिकांश किसान त्यसैतर्फ आकर्षित हुने गरेको बताए।
सयपत्रीको माला मूख्यतया भारतको कलकत्ता लगायत स्थानबाट आयात गरिने उनले जनाए।
यो सबै जोड्दा करिब साढे सात करोड मूल्यको फूल माला तिहारमा कारोबार हुने गरेको उनले जनाए। तर करिब १५ लाख माला एसोसियसन अन्र्तगतका व्यपारीहरुले गर्ने व्यवसायिक कारोबारको तथ्यांक मात्र भएकाले अनौपचारिक रुपमा सोही परिणाम बराबरको माला स्थानीय स्तरमै खपत हुने गरेको छ।
मखमलीमा भने आत्मनिर्भरभाइटिकाको दिन चेलीले माइतीलाई तथा माइतीले चेलीलाई लगाइदिने मखमलीको मालाको उत्पादनमा भने नेपाल आत्मनिर्भर भएको छ।
मखमलीको माला माग पनि सयपत्रीझैँ १५ लाख वटाकै हाराहारीमा माग हुने गरेकोमा पर्याप्त उत्पादन हुने भएकाले विशेषत अरबका देशहरुमा निर्यात समेत हुने गरेको छ।
एसोसियनका उपाध्यक्ष तिमल्सिनाले मखमली स्वदेशमै पर्याप्त उत्पादन हुने भएकाले आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।
उनले भने, ‘दुई चार वर्ष अघिसम्म मखमली माला पनि भारतबाट ल्याउनु पर्थ्यो तर पुष्प व्यवसायमा बढ्दो आकर्षण र पर्याप्त उत्पादन हुन थालेपछि आयात गर्नुपरेको छैन।’
उनले तिहारको समयमा विदेशमा रहेका नेपालीले यहीँबाट अर्डर गरेर लैजाने गरेको समेत बताए। ‘विदेशमा रहनुभएका नेपालीहरुले भाइटिका मनाउन यतैबाट आयात गर्ने गर्नुभएको छ। तर कति संख्या बराबरको मखमली माला औपचारिक रुपमा निर्यात हुन्छ भन्ने यकिन छैन’ उनले भने।
फस्टाउँदो पुष्प व्यवसायतिहार थेग्न भारतबाट सयपत्रीको माला आयात गर्नुपरे पनि समग्र स्वदेशी पुष्प व्यवसाय भने फस्टाउँदै गएको छ। वि.सं २०४० सम्म मुस्किलले करिब एक करोडको वार्षिक कारोबार हुने गरेको पुष्प व्यवसाय २५ वर्षको अवधिमा झण्डै २ अर्ब पुगेको छ।
तत्कालीन समयमा करिब १० जनाबाट सुरु भएको यो व्यवसायमा हाल भने ६८० भन्दा बढी व्यवसायीहरु संलग्न रहेको फ्लोरिकल्चर एसोसियसनले जनाएको छ। हाल वार्षिकरुपमा हुने करिब २ अर्बको कारोबारमा १० करोड मूल्य बराबरको ग्रिनप्लान्ट, फूल, हाइब्रिड बिउ, औजार लगायतका सामाग्रीको आयात हुने गरेको छ।
त्यस्तै वर्षिक रुपमा करिब ४ करोड रुपैयाँ पुष्प साम्रागी निर्यात पनि हुने गरेको छ। यसमा फूल, फूलका गाना, कट् फ्लावर लगायतका वस्तु नपालबाट निर्यात हुने गरेको छ। यी सामग्री मूख्यतया धेरै नेपालीहरु बसोबास गर्ने देशहरुमा निर्यात हुने गरेको छ।