पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ।
आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको उल्लेख छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनःनिर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ।
'आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटल पूर्ण रुपमा बन्द छ, होटलले भनेको छ, 'हाल क्षतिको पूर्ण मूल्याङ्कनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं।'
स्तरउन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ।
होटलले आगामी दिनमा सरकारको राजश्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागशिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने प्रतिबद्धता समेत जनाएको छ।
'होटल पछिल्ला साढे दुई दशकमा नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ। यस अवधिमा हामीले चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामाना गर्दै वर्षौदेखि हजारौं व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउदैँ आएका छौं', होटलले भनेको छ।
यो होटल पर्यटनमार्फत् मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सरकारबाट पटक पटक सम्मानित भइसकेको छ। होटल हालसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सात पटक र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गर्ने होटलका रुपमा दुई पटक सम्मानित भइसकेको छ।